• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

बिद्रोही 'योगमाया'

सुकृत नेपाल, काठमाडौं । योगमायाको जन्म भोजपुरको दिङ्लामा वि.सं. १९१७ सालमा भएको थियो । नाबालक उमेरमै विधवा बनेकी उनले समाजिक सुधारका लागि समाज र तत्कालीन राणा शासकसँग विद्रोह गरिन् । उनको माग तत्कालीन शासकले पूरा नगरेपछि उनले राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा आफ्ना कैयौँ समर्थक सहित अरुण नदीमा जलसमाधि लिएकी थिइन ।

 

यही कुरालाई लेखक निलम कार्की निहारिकाले योगमायाको जीवनमा आधारित उपन्यास ‘योगमाया’ लेखिन् । उनको यो पुस्तकले २०७४ सालको मदन पुरस्कार पनि पायो । उनको यही उपन्यासमाथि आधारित भएर यतिबेला राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा ‘योगमाया’ मञ्चन भइरहेको छ ।

 

गोपीकृष्ण जो कमिनीसँग अन्तरजातीय विवाह त गर्छ तर उसको विवाहलाई गाउँले स्वीकारेका हुँदैनन् । गोपीकृष्णको बारेमा न्याय गर्नका लागी भेला भएका गाउँलेको दृश्यबाट सुरु हुन्छ नाटक ‘योगमाया’ । गाउँको पूरोहितले गोपीकृष्णलाई ‘तँ कमिनी रोज्छस् कि समाज ?’ भनेर सोध्दा उसले ‘म प्रेम चाहन्छु’ मात्र के भन्छ उसलार्ई कालोमोसो र जुत्ताको माला लगाएर जनै चुडाइदिन्छन् ।

 

 

गाउँ भेलाबाट सुरु भएको नाटकको हरेक दृश्यमा केही न केही सम्बन्ध भएको भान हुन्छ र दर्शकलाई अब के हुने हो भन्ने कौतहलता पनि जागी रहन्छ । कँुवामा पानी लिन जाँदा महिलाहरूले कुरा काट्ने प्रवृत्तिलाई पनि नाटकमा देखाइएको छ । तत्कालीन समाजमा राणा सरकारको जगजगी रहँदा त्यही हैकम शैलीमा स्थानीय ब्राम्हण पुरोहितको व्यवहार गर्छन भन्ने कुरा नाटकले प्रस्तुत गरेको छ । 

 

नाटकमा धेरैको चाहना भने कलाकार मिथिला शर्माको अभिनयलाई हेर्ने हो तर उनको अभिनय हेर्नका लागी नाटकमा केही समय कुर्नु नै पर्ने हुन्छ । जब उनी सेतो पहिरन र सेतो टिकासँगै हातमा वादन बोकेर कवितात्मक शैलीमा आफ्ना संवाद बोल्छिन् तब दर्शकलाई बल्ल नाटक सुरु भएको हो कि जस्तो लाग्छ । आफ्नी छोरी विवाह गरेर गएको केही सातामै ज्वाईंको निधन भएको खबर सुन्दा पनि योगमाया खासै दुखी देखिनन् । उल्टै बुहारीलाई आफै सँगै आएर बस्ने सल्लाह दिन्छिन् ।  

 

जुद्ध शमशेरको शासनकालको पृष्ठभूमिमा तयार भएको नाटकमा तत्कालीन राजाले जनतालाई ढाँटेको विषयलाई देखाइएको छ । तत्कालीन शासकको दरबारसम्म जनता लिएर गएकी योगमायाले धर्मराज्यसँगै धर्मभिक्षा मागे पनि राजाले धर्मराज्यबाहेक धर्मभिक्षा त दिन्छन् तर यो कुरा योगमायालाई चित्त बुझ्दैन र उनी आफना जनता लिएर पुनः गाउँ फर्किन्छिन् । आफ्ना समर्थकसँगै आफू पनि अग्नीकुण्डमा होमिन तयार भइरहँदा राजाले त्यो कार्यलाई रोक्दै उनीहरूलाई जेल पठाउँछन । जेलबाट निस्किएपछि योगमाया र उनका अनुयायीहरूले विद्रोहको नयाँ रूपलाई अंगाल्दै जलसमाधीमा देहत्याग गर्छन् । यही नै हो नाटक ‘योगमाया’ । योगमाया अहिलेको होइन, त्यसबेलाको विद्रोहीको आवाज हो । जुनबेला महिलामाथि गरिएको चरम हिंसाका रुपमा सतीप्रथा थियो ।

 

 

सांग्रिला फाउन्डेसन र स्कुल थिएटर नेपालको प्रस्तुतिमा मञ्चन भइरहेको नाटकमा मिथिला शर्मा, प्रकेश सिन्धुलीय, प्रल्हाद खरेल, प्रभाकर न्यौपाने, श्याम खड्का, राधा श्रेष्ठ, राजथ न्यौपाने, दीपिका ढकाल, आकांक्षा जिसी, सुमन कुइँकेल, सरस्वती अधिकारी, पुष्पराज अवस्थी, सुवास तिमल्सिना, सगुन पोखरेल, सुमित तामाङ, दीपमाला परियार, सुरेन्द्र क्षेत्री, सुरज तमु, विशाल देवकोटा, कृष्णगोपाल कक्षपति, उन्नतजंग उप्रेती, प्रसन्न हुमागाईं, संयोग दाहाल, काव्य बराल, आकार थापा, क्विनचम जोशी, शुभेच्छा तिमल्सिना र सम्पन्न दाहालको अभिनय छ । 

 

नाट्यकर्मी टंक चौलागाईंको नाट्य परिमार्जन तथा निर्देशन रहेको नाटकलाई प्रकेश सिन्धुलीयले सहनिर्देशन गरेका छन् भने  सुरज तमुले नाटकको कोरियोग्राफी गरेका छन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार