• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

पोखरा थिएटरमा मञ्चन हुँदै  ‘प्राइभेट इज पोलिटिकल’  

काठमाडौं । कथा घेराको प्रस्तुती रहेको नाटक ‘प्राइभेट इज पोलिटिकल’ अब पोखरामा मञ्चनको तयारीमा छ । नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा असार १३ गतेबाट १५ गतेसम्म तीन दिन मञ्चन हुने भएको छ । नाटक दिउँसो १ र साँझ ५ बजे गरी हरेक दिन दुई शो मञ्चन हुने जनाइएको छ । 

 

नाटकमा बाल्यकालदेखि घर, स्कुल, कलेज, विश्वविद्यालय, कार्यस्थल लगायत समाजका हरेक स्थानमा हुने यौन दुव्र्यवहारलाई थुप्रै पात्र मार्फत प्रस्तुत गरिएको छ । शक्तिको दुरुपयोग, अलग-अलग समुदायका महिलाको भोगाइ पनि नाटकमा देख्न सकिन्छ । पुरुष पात्रको संवादमार्फत उनीहरूले नारीलाई हेर्ने दृष्टिकोण नाटकले देखाउँछ ।

 

छ जना रंगकर्मी महिलाले 'योनिका कथा' को रिहर्सल गरेको दृश्यबाट सुरु हुन्छ नाटक ।  उनीहरूले महिलाको व्यथालाई मनोवादको शैलीमा देखाउने तयारी गर्छन् । नाटकभित्र नाटकको रिहर्सलसँगै आफूमाथि भएका र भोगेका अशोभनीय यथार्थ दर्शकलाई देखाइन्छ।

 

उनीहरु कहिले निर्मला पन्त बनेर कथा भन्छन् त कहिले बालिका युद्धबन्दीले सहनु परेको शारीरिक र मानसिक पीडा देखाउँछन् ।  नाटकमा आफ्नै दाजुबाट बलात्कृत हुँदाको घटना पनि  देख्न सकिन्छ । रिहर्सल गरिरहँदा कलाकार आफैं पनि मैना सुनार, नमिता-सुनीता लगायत बलात्कारपछि ज्यान गुमाएकोमा दुःखी बन्छन् । आर्थिक अभावले रंगमञ्चमा काम गर्दा हुने दुव्र्यवहार र त्यसमाथी गर्न नसकेको प्रतिकार  कथा तिनैलाई भिन्न ढंगले नाटकमा देखाइएको छ । 

 

लूनिभा तुलाधर, सुदाम सिके, केनिपा सिंह, अनुजा अधिकारी, बिनिता गुरुङ, रोशनी स्याङ्बो, अर्चना पन्थी, सचिन मल्ल, आयुश्मान प्याकुरेलको नाटकमा अभिनय रहेको छ भने नाटकको अवधारणा, परिकल्पना र निर्देशन आकांक्षा कार्कीको हो। नाटकको आलेख सौरभ कार्कीले तयार पारेका हुन भने सुरज सुबेदी, सुदाम सिकेले सौरभलाई यसमा सहयोग गरेका छन्।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार