• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

'सरकार जाति–जातिका बीचमा द्वन्द्व गराउन चाहन्छ'

काठमाडौं । प्रकाश सपुतले गाएको गीत ‘गलबन्दी च्यातियो’ को विवाद संसदमा पुगेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले गायक सपुत र शान्तिश्री परियारको बचाऊ गरे । उनले फरक राजनीतिक आस्था र दलित भएकै कारण विवाद खडा गरेको आरोप समेत लगाए ।

 

उनले भने, “सरकार नै सामाजिक सद्भाव र जाति–जातिका बीचमा र नागरिक–नागरिक बीचमा नै द्वन्द्व गराउन चाहन्छ । उदाहरणका लागि रेशम चौधरीको कुरा पनि लिन सकिन्छ ।

 

यस्ता घटनामा संलग्न थुप्रै माननीयज्यूहरु संसदमा हुनुहुन्छ । तर आज म भन्न बाध्य छु– चौधरी समुदायका भएका कारणले, थारु भएकै कारणले अस्पतालमा पनि नेल लगाइएको छ ।  यही कुरा प्रकाश सपूत र शान्ति सिंह परियारमा पनि जोडिएको कुरा अवगत गराउन चाहन्छु । सरकारको गम्भीर ध्यानाकर्षण होस् ।”

 

सम्माननीय सभामुख महोदय,
विगत केही दिनदेखि के बालक, के तरुण, के यवा, के वृद्धा सबैको मुखमा हरपल गुनगुनाइरहने धुन बनेको छ– गलबन्दी च्यातियो तिमीले तानेर। भाका, नेपाली सांगीतिक इतिहासमा यति छोटो समयमा करिब ३० दिनमा डेढ करोड दर्शक बनाउन चानचुने कुरा होइन ।

 

संसारभरि नेपाली मनले मात्रै होइन विदेशी मनले पनि यही धुन गुनगुनाइरहेको छन् आजभोलि । यसमा नेपालको मौलिक संस्कृतिलाई समृद्ध बनाउने कलाकार प्रकाश सपुत र शान्तिश्री परियारलाई हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दछु । सरकारको सम्बन्धित निकायले उनीहरूलाई उच्च सम्मान गर्नुपर्नेमा सत्तारुढ दलकै भ्रातृ(संस्थामा आवद्ध कलाकार शम्भु राईले मेरो लय नक्कल गरेको भनी मुद्दा हालेछन् ।

 

हामीले ख्याल गर्नुपर्ने कुरा के भने लोकभाका भनेकै पूर्वजहरूले गाउँदै उनीहरूका अनुयायीले त्यसलाई पछ्याउँदै पुस्तौंपुस्तासम्म जीवित राख्नु हो । एक दिन, एकपटक, एक कलाकारले कुनै एक समयमा गाएको, गाउने वा रेकर्ड गरिएको गीत लोकभाका हुन सक्दैन । गाउँघर, रोदीघर, रत्यौलीमा मेलापात, गोठालोमा जाँदा स्वतःस्फूर्त रुपमा गाउने भाका नै लोकभाका हो । यो भाका न नक्कल हुन्छ, न चोरी गरिन्छ ।

 

यद्यपि प्रकाश सपुतले गाएको गीत र उक्त भाका कसैसँग मेल खाँदैन । शम्भु राईसँग मेल खाने त कुरै भएन । तर, विडम्बना एक सामान्य कलाकारले अति मन छुने स्वर, शैली र छायांकनसमेत गरी प्रस्तुत गरेको गीतमा एक फरक भूगोल, फरक परिवेश, फरक शब्द, फरक शैली र फरक कालखण्डमा उस्तैउस्तै गीत मैले पनि गाएको थिएँ । नक्कल भयो भनी मुद्दा हाल्न पुग्नु एक प्रतिष्ठित कलाकारका लागि लज्जाको विषय बन्नुपर्ने हो ।

 

तर, उल्टै शम्भु राई र उनका मतियारहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावका दृष्टिले अति नीच गालीगलौज गर्ने र उनलाई हतोत्साही बनाउन निरन्तर लागि परेको देखिन्छ ।

 

त्यतिमात्रै होइन, संविधान, कानुन र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहरूमाथि नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानुनअन्तर्गत, जातीय छुवाछूत तथा कसुर सजाय ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत उनीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दछु । अन्यथा सिंगो दलित समुदाय आन्दोलनमा उत्रन बाध्य हुने कुरा सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार