• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

बीपीको मेलमिलाप नीति मार्गदर्शक सिद्धान्त : कमल थापा 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक शुक्रबारदेखि राजधानीमा सुरु भएको छ । आजबाट सुुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा देश डरलाग्दो संकटको चक्रव्युहमा परेको विश्लेषण गरेका छन् ।

 

प्रजातन्त्रको लागि संघर्ष गरेका, जेलनेल भोगेका तथा जनअधिकार रक्षा गर्ने प्रतिबद्धता बोकेर सरकारमा गएका तथा प्रतिपक्षमा रहेका दलहरुको अकर्मण्यता, गलत नीति, भ्रष्ट प्रवृत्ति र अन्तरविरोधको कारणबाट लोकतन्त्रको भविष्यमाथि कालो बादल मडारिन थालेको छ’ थापाले भनेका छन् ।

 

उनको कार्यपत्रमा धर्म परिवर्तनमा वर्तमान केपी ओली नेतृत्वको सरकारको उदासीनता रहस्यमयी भनेर टिप्पणी गरिएको छ । यस्तै बितेको दशकमा १० लाख बढी नेपालीलाई धर्मान्तरण गराईएको उल्लेख छ । कार्यपत्रमा भनिएको छ, 'त्यसको निशानामा हिन्दु, बौद्ध, किरात समुदाय बढी परेका छन् ।' बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ संगठनका अध्यक्ष सहित ७७ जिल्लाका अध्यक्ष सहभागी छन् ।

 

१३ करोड सरकारी खर्चमा प्रधानमन्त्री ओलीको तामझामपूर्ण सहभागिता रहेको ‘होलीवाइन’ प्रकरणलाई कार्यपत्रमा उदाहरणका रुपमा प्रस्तुत गरिएको छ । यस्तै क्रिश्चियन धर्म प्रचारमा संलग्न विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि स्वीकार गर्ने तथा गुठी विधेयकजस्ता प्रकरणले धर्म परिवर्तन गराउनेलाई उत्साहित बनाएको भन्दै राप्रपाले आलोचना गरेको छ ।

 

आमसञ्चार माध्यमलाई कसिलो बनाउने, मानवअधिकार आयोगलाई पंगु बनाउनेदेखि प्रधानसेनापतिलाई बाइपास गरेर सेना परिचालन गर्ने अधिकार लिन खोज्नुजस्ता कार्यले सर्वसत्तावादको प्रारम्भिक संकेत देखिन लागेको राप्रपाको ठम्याइ छ ।

 

राप्रपाले नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको मेलमिलाप नीतिलाई मार्गदर्शक सिद्धान्तका रुपमा स्वीकार गरेको छ । ‘राप्रपाले राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको दिव्य उपदेश, श्री ५ महेन्द्रको राष्ट्रवाद र बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तको रुपमा अघि बढाउने छ,’ कार्यपत्रमा भनिएको छ ।

 

यद्यपि सीके राउतसँगको सम्झौता सकारात्मक भए पनि राष्ट्र विखण्डनको मनोविज्ञान चिर्न अझै समय लाग्ने  राप्रपाको बुझाइ छ । प्रत्येक ३ महिना बस्ने बैठक शनिबारसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार