• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

टहरामा बाल मन्दिर

काठमाडौं । दिनभर घामको रापले गुमुक्क परेको कोठा । म्याट्रेस ओछ्याएको चिसो भुइँ । त्यही कोठामा शिशु उमेरका नानीहरू रापताप सहँदै हुर्कन्छन् । सहारा गुमेका बालबालिकालाई संरक्षण दिँदै आएको नक्सालस्थित बाल मन्दिरको यो कोठामा नवजातदेखि १८ महिनासम्मका बच्चा छन् ।

 

आफैं बेसहारा भएको अवस्था र बाहिर गरिखान मुस्किल भएपछि उनले छोरीको भलो चिताएर बाल मन्दिरमा बुझाउन चाहेकी थिइन् । ‘जस्तापाताको छानो र चिसो भुइँ भएको उक्त कोठामा हुर्कंदै गरेकी ती ६ महिने नानीलाई जेठ अन्तिममा निमोनियाँको लक्षण देखियो, अस्पताल लगेर राख्नासाथै उनको निधन भयो,’ बाल मन्दिरकै एक चिनारुले सुनाइन् ।

 

नेपाल बाल संगठनका निर्देशक बालकृष्ण डंगोलका अनुसार भूकम्पले बाल मन्दिरको मुख्य भवन भत्काएपछि परिसरको साँघुरो खाली जग्गामा प्रि–फ्याबबाट निर्मित अस्थायी टहरामा बालगृह सरेको धेरै भइसकेको छ । मुख्य भवन ‘रेट्रोफिटिङ’ गर्ने भनिएको हो, तर पुनर्निर्माण प्राधिकरणले चासो नदिएका कारण बालबच्चा टिनको टहरोमुनि बसिरहेका छन् ।

 

जन्मेदेखि १८ वर्षसम्मका बालबालिका बालगृहमा राखिन्छन् । त्यसपछि आयआर्जनका सीपमूलक तालिम दिएर आफन्तकहाँ पठाइन्छन् । अपांगता भएकालाई आजीवन लालनपालन गर्ने व्यवस्था छ । बाल संगठनको वार्षिक बजेट झन्डै ७ करोड रुपैयाँको छ । सरकारी अनुदान ४० लाख, जग्गा लिजमा दिएबापत आम्दानी वार्षिक एक करोड २५ लाख र विभिन्न व्यक्ति–संघसंस्थाबाट चन्दादान उपलब्ध हुन्छ ।

 

बालबालिकाको स्थायी बसोबास र व्यवस्थापनमा बाल मन्दिरले ध्यान दिएको पाइँदैन । निर्देशक डंगोल भने मुख्य भवन भत्किनु प्रमुख समस्या भएको तर्क गर्छन् । ‘हामीले बेवास्ता गरेका छैनौं, स्रोतले भ्याएअनुसार गुणस्तरीय सेवामा ध्यान दिएका छौं,’ उनले भने, ‘आमाले पेटमा हुँदैदेखि नइच्छाएका बच्चाहरू उसै पनि कमजोर हुन्छन् । यहाँ आवश्यकताअनुसार परामर्श दिने, उपचार गराउने, स्याहार, हेरविचार गर्दै आएका छौं ।’

 

जीर्ण भवन ‘रेट्रोफिटिङ’का लागि पहल भइरहे पनि टुंगो लागेको छैन । ‘तत्काल विकल्प नभएकै कारण समस्या हुँदाहुँदै पनि टहरामै बालबालिकालाई राख्नुपर्ने बाध्यता छ,’ उनले भने ।कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार