• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

कर्णाली नदीमा जीप खस्दा वेपत्ता हुने १० जनाको पहिचान खुल्यो

हुम्ला । काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका-५ बेणुबिसौना- कैलेबालु सडक खण्डबाट लु १ ज ७१६६ नम्बरको महेन्द्र जिप कर्णाली नदीमा खसेर बेपत्ता हुनेको संख्या १० पुगेको छ । बेपत्ता हुनेमा १० जना पुगेको घटनास्थल रहेका खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिए । 

 

दुर्घटनामा परी बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेको प्रमाणित भएको छ । 

 

त्यसैगरी खार्पुनाथ गाउँपालिका-१ काकौर कामी र उनको दुई वर्षको छोरासमेत वेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्रीसमेत परेका जनाइएको छ । तर, उनको नाम खुलेको छैन ।

 

गाडी दुर्घटना क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खोजीमा परिचालन गरिएको सहायक प्रजिअ महेशकुमार  पोखरेलले जानकारी दिए । गाडी कर्णाली नदीले पूरै छोपेकाले कुन ठाउँमा गाडी छ भन्ने थाहा नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

 

कर्णालीमा खसेको गाडीको खोजी भए तापनि नदीको भेल बढी भएका कारण पत्ता लगाउन समस्या देखिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार