• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

गाडीको भारले कलभर्ट भाँसियो

कैलाली । कैलालीको टीकापुर नगरपालिका-१ को कार्यालयअगाडि रहेको ज्ञानी कुलामा निर्माण गरिएको कलभर्ट मालवाहक गाडीको भारले भाँसिएको छ । निर्माण सामग्री गिट्टी बोकेको ट्रक कलभर्ट भएर जाने क्रममा भार थेग्न नसकेर भासिएको हो । 

 

कलभर्ट भासिएसँगै मालवाहक ट्रकसमेत कुलामा फस्यो । कल्भर्ट निर्माण गर्दा कमसल खालका निर्माण सामग्री प्रयोग भएको पाइएको छ । कलभर्टमा सरियाको प्रयोग कम भएको देखिएको छ । सिमेन्ट र बालुवाको भरमा निर्माण गरिएको उक्त कलभर्ट अन्य साना सवारी साधनको आवत–जावत हुँदा पनि हल्लिने गरेको थियो । 

 

यसै सन्दर्भमा नगरप्रमुख तपेन्द्रबहादुर रावलले कलभर्ट पुरानो र कमसल खालको निर्माण सामग्री प्रयोगका कारण भत्किएको भन्दै तत्कालीन अवस्थामा कलभर्ट निर्माण गर्न नसकिने समेत बताए । रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सिडी ताराप्रसाद भट्टले पनि तत्कालीन अवस्थामै पानी बन्द गरेर कलभर्ट निर्माण गर्ने अवस्था नरहेको जानकारी दिए ।

 

उनले ज्ञानी कुला आयोजनाअन्तर्गत पर्ने भए तापनि कलभर्ट भासिएको क्षेत्रको सडक कालोपत्र भइरहेका कारण त्यसको जिम्मेवारी सम्बन्धित निर्माण पक्षले नै लिँदा राम्रो हुने बताए । उपभोक्ता समितिमार्फत रु १२ लाखको बजेटमा कालोपत्र भइरहेको उक्त सडक उपभोक्ता समितिले भण्डारी ब्रदर्स कन्सट्रक्शन प्रालिले काम गरिरहेको छ । 

 

कन्सट्रक्शनका सञ्चालक रामबहादुर भण्डारीले आफूले निर्माण गरिरहेको सडकमा कल्भर्टको इस्टिमेट नरहेकाले कमसल सामग्रीकै प्रयोगले कलभर्ट भासिएको बताए । उनले आफूले सडक कालोपत्रको जिम्मा पाएको र सडक कालोपत्र गर्ने तर कल्भर्टको काम सम्बन्धित निकायले नै गर्नुपर्ने भन्दै हालकै बजेटमा कलभर्ट निर्माण गर्न नसकिने बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार