• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

पाकिस्तान विरुद्ध भारतको शानदार जित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ ।आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई डीएल मेथडबाट ८२ रनले पराजित गरेको हो ।

 

विश्वकपको सबभन्दा रोमाञ्‍चक मानिएको खेलमा भारतले दिएको ३३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले वर्षाका कारण निर्धारित ४० ओभर र ३०२ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै मात्र २१२ रन बनायो । त्यसअघि वर्षाले खेल रोकिनुअघि पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो । 

 

पाकिस्तानका लागि फकर जमानले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बाबर आजमले ४८ तथा इमाद वासिमले अविजित ४६ रन बनाए । शादब खान २० रनमा अविजित रहे । बलिङतर्फ भारतका लागि जस्रप्रित भुम्रा, हार्दिक पान्ड्या र कुलदिप यादवले समान दुई–दुई विकेट लिए । 

 

यसअघि ओल्डट्राफोर्ड मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पाँच विकेट गुमाउँदै ३३६ रन बनायो । भारतका लागि रोहित शर्माले शतकीय पारी खेले । ओपनरमा आएका ११३ बल खेल्दै १४ चौका र ३ छक्काको सहयोगमा १४० रन पूरा गरे । 

 

त्यस्तै कप्तान विराट कोहली र केएल राहुलले अर्धशतकीय पारी खेले । ६५ बल खेलेका कोहलीले ७ चौकाको सहयोगमा  ७७ रन बनाए । त्यस्तै ७८ बल खेलेका केएलले ३ चौका र २ छक्काको सहयोगमा ५७ रनको योगदान गर्दै आउट भए । 

 

पाकिस्तानका मोहमद आमिरले ३ विकेट हात पारे । १० ओभर बलिङ गरेका उनले १ मेडन सहित ३ विकेट लिन ४७ रन खर्चिए । यस्तै हसन अलि र वहाव रियाजले समान १.१ विकेट हात पारे ।

 

यो जितसँगै भारत ४ खेलमा ३ मा जितका साथ ७ अंक जोड्न सफल भएको छ । भारतले आफ्नो पाँचौ खेल  शनिवार अफगानिस्तानसँग खेल्नेछ । विश्वकप क्रिकेटमा पाकिस्तान भारतसँग लगातार सातौंपटक पराजित भएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार