• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

संगीतले जुराएको जोडी

काठमाडौं । गीत  रेर्कडिङ कै क्रममा यो जोडीको भेट भएको  होे । केही यस्ता जोडीहरु छन जो धेरैका लागि आदर्श जोडिका रुपमा रहेका छन् । यिनै जोडी मध्ये एक भाग्यमानी जोडी हुन्, पोखरेली गायक तथा संगीतकार रामभक्त जोजिजु र गायिका इतु जोजिजुको जोडी । यो जोडी बीच यति धेरै प्रेम र समझदारी छ कि, यो सम्बन्धले १५ औँ वसन्त पार गरिसकेको छ । तर पनि अझै लाग्छ दुवैजना भर्खर प्रेममा परेका हुन् । यो जोडीलाई सबैले प्रेम विवाह गरेको भन्छन्  तर यो साँचो होइन । यो जोडीले मागी विवाह गरेको थियो ।

 

इतुको नजरमा रामभक्त

 

पहिलो भेट  

१५ वर्ष अगाडि एउटा गीतको रेकर्डिङ्गको शिलशिलामा भेट भएको थियो ईतु र रामभक्तको । लगन फिल्मको गीतको लागि लेडिज आवाज आवश्यक परेको रहेछ । त्यो गीत गाउन म सेलेक्सनमा परेँ अनि गीतको रेकर्डिङ्ग गर्न जाँदा भेट भएको हो । त्यो गीतमा उहाँले नै संगीत भर्नुभएको हो ।

 

प्रेम

हाम्रो मागी विवाह हो । प्रेम गर्ने, डेटिङ जाने भन्ने चाँहि भएन । हाम्रो प्रायः भेट भई नै रहन्थ्यो र भेट हुने क्रममा उहाँले मन पराउन थाल्नुभएको रहेछ । पछि उहाँको परिवार र मेरो परिवार भेट भयो । विवाहको कुरा भयो । भेट भएको एक वर्षपछि मागी विवाह भयो ।

 

रामभक्तको बानी

उहाँको प्रायः हाँसीमजाक गर्ने बानी छ । आफ्नो नजिकका मिल्ने व्यक्तिसँग हाँसीमजाक गर्ने गर्नुहुन्छ । पहिले सानोसानो कुरामा पनि रिसाउनु हुन्थ्यो । मैले उहाँको बानी बुझेपछि त्यही अनुसारको व्यवहार गर्न थालेँ । जे होस् हामी दुवैमा समझदारी छ । उहाँ सपोर्टिभ   हुनुहुन्छ । उहाँ राम्रो गायक हुनुहुन्छ । संगीतको लागि मरिमेट्नु हुन्छ ।

 

रुची

मुख्य रुची भनेको नै संगीत हो । संगीतको लागि मरिमेट्ने । संगीत बाहेक पहिले पेन्टिङ्ग पनि गर्नुहुन्थ्यो । मलाई भेट्नु अघि बाँसुरी पनि बजाउनु हुन्थ्यो रे । उहाँ जे–जस्तो काम गर्दा पनि संगीतलाई नै सम्झिरहनु हुन्छ ।

 

अविस्मरणीय क्षण

खासै छैन । तर एकचोटि फष्ट रिसेप्सन अवार्डमा बेष्ट भोकल अवार्ड पाउँदा दुवै जना ज्यादै खुसी भएका थियौँ । सायद त्यही नै हो अविस्मरणीय क्षण ।

 

एक–अर्कामा सपोर्ट

सपोर्ट एकदमै गर्नुहुन्छ । त्यही सर्पोट र समझदारीले नै गर्दा अहिलेसम्म हामी संगीतको क्षेत्रमा काम गरिहेका छौँ । म अझै पनि मेलोडी क्याफे एण्ड लाउञ्ज बारमा गाउँछु । उहाँले मेरो पेशाप्रति केही भन्नुहुन्न बरु अझ सपोर्ट गर्नुहुन्छ ।

 

एक–अर्काका मिल्ने कुरा

मिल्ने कुरामा संगीत नै हो । हामी दुवै जना संगीतमा लागेको व्यक्ति हो भन्नु पर्छ । हाम्रो सोंच पनि मिल्छ । अर्को हामी दुवै जनाको मनमा कुरा लुकाएर राख्ने बानी छैन । जे छ हामी अगाडी भन्छौं ।

 

दुःखद क्षण

दुःखको क्षणको कुरा उहाँ एकचोटि नराम्रोसँग बिरामी पर्नुभएको थियो । हामी काठमाण्डौँ बस्दा उहाँको स्वास्थ्यमा समस्या भयो । यो नै हो हाम्रो दुःखद क्षण, त्यसपछि हामी  काठमाडौँ छोडेर पोखरा सिफ्ट भयौँ ।

 

हिजोआज सम्बन्ध नटिक्नुको कारण

एक–अर्कामा समझदारी नभएर हो । अहिले हामी हाम्रो काममा यति बिजी हुन्छौँ कि, परिवारलाई समय दिन सकिरहेका छैनौँ । परिवारले के चाहन्छ, त्यो थाहा नै हुँदैन । कतिपय चाहेको कुरा भएन भने नराम्रो लाग्ने गर्छ । सायद यही कारणले हिजोआज सम्बन्ध टिक्न सक्दैन ।

 

रामभक्तको नजरमा इतु

 

कसरी भयो भेट

इतुले भनेको जस्तै गीत रेकर्डिङ्गको सिलसिलामा भएको हो । ५६ सालतिरको कुरा हो, लगन फिल्मको गीतको लागि लेडिज सिङ्गगर आवश्यक परेको थियो । उनले गाउने कनफम भएपछि पोखराको बार स्टुडियोमा गीत रेकर्डिङ्ग गराउने समयमा भएको थियो ।

 

प्रेम

हो, पहिले मैले नै मन पराएको हो । फूलबारी रिसोर्टमा गीत गाउन जाँदा बसमा मैले विवाहको प्रस्ताव गरेको । बिहेको लागि थुप्रै केटी हेरियो । नारायणघाट हुँदै चितवन पनि पुगियो केटी हेर्न । कोही पनि मन परेन । हामी दुवै एउटै क्षेत्रको । प्रायः हामी दुवैजना बिहानदेखि बेलुकीसम्म सँगै हुन्थ्यौँ । दिनमा पोखरा एफ.एम. मा सँगै कार्यक्रम चलाउँथ्याँै । कार्यक्रम वर पिपल, तपाईको रोजाईलगायत ४÷५ वटा कार्यक्रम चलाइन्थ्यो । बेलुकी गजल गाउँथ्यौँ । हाम्रो विवाह २०५९ साल मंसिर २७ गते  भएको हो ।

 

रुची

रुची गायन र संगीत नै हो ।

 

अविस्मरणीय क्षण

विवाह हुनुभन्दा अगाडी मगनी भैसकेपछि मेरो घरमा भाडामा बस्ने एक जना बत्ती बालेर सुतेको थियो । बत्ती खसेर सल्केको आगोले कोठा पूरै जल्यो, त्यो मान्छेको पनि जलेर मृत्यु भयो । विवाहपछि हामी ३ महिनामात्र घरमा बस्यौँ । ‘जाउँ है पोखरा’ कार्यक्रम लिएर दुई जना सँगै विभिन्न ठाउँमा टुर गइयो । १ वर्ष सिंगापुर जाने अवसर पनि मिल्यो । सिंगापुरबाट नेपाल फर्कियौँ । काठमाण्डौको दरबारमार्गमा गजल गाउने काम गथ्यौँ । त्यसपछि म बिरामी भएर पोखरा आउनुपर्‍यो । यो बीचमा मैले के सिक्ने अवसर पाएँ भने शुन्य परेको साल कहीँ जान पनि नहुने रहेछ र आउन पनि नहुने रैछ । कही जानु छ या आउनु छ भने साइत हेराएर समय साल हेर्नुपर्ने रैछ भन्ने चाँहि लाग्यो, मेरो अनुभव यस्तो भयो सायद सबैलाई नहुन पनि सक्छ ।

 

श्रीमतीको बारेमा 

उनी राम्री गायिका हुन, बानी व्यवहार पनि राम्रो छ । सुन्दर अनि सर्वगुण भएकी महिला, उनको सबै कुरा राम्रो छ ।

 

एक–अर्काको सपोर्ट 

सर्पोट नभएको भए त, हामी अगाडि बढ्नै सक्दैन थियौँ नि ! त्यही सर्पोट र समझदारीले गर्दा आज पनि हामी संगीतको क्षेत्रमा निरन्तर अगाडि बढिरहेका छौँ ।

 

एक–अर्कामा मिल्ने कुरा

हाम्रो विचार मिल्छ । हामी दुवै जना संगीतमा लागेका व्यक्ति हौँ । सधैँ संगीतमै अगाडि बढ्ने सोच छ । संगीतकै लागि केही न केही गर्ने सोंच छ ।

 

रामभक्तका मनपर्ने कुराहरु 

रङ : सेतो 

 

फिल्म : यही भन्ने छैन, कमेडी खालको,  द्वन्द्व मिसिएको र कहानी भएको  


कलाकार : नारायण गोपाल, गोपाल योञ्जन, शान्ति छटाल, अरुणा लामा, अरुण थापा र फत्तेमान 

 

श्रीमतीले चित्त दुखाएको क्षण

समझदारी नहुँदा ।

 

हिजोआज सम्बन्ध नटिक्नुको कारण  

हिजो आज सम्बन्ध नटिक्नुका धेरै कारण छन् । शंकाले लङ्का जलाउँछ । दुवैमा मन मिलेन, करा मिलेन, सहयोग नभएमा, एउटा पछाडि पर्ने, अर्को अगाडि बढेको नरुचाउने, सपोर्ट नहुँदा, ब्याक सपोर्ट छैन भने सम्बन्ध बिग्रने गर्दछ । अहिले मैले देखेको सूचना प्रविधिको बढ्दो प्रयोग पनि हो । फेसबुकको धेरै प्रयोगले सम्बन्धमा टकराव ल्याइदिएको जस्तो लाग्छ । अनि फेसबुकमा लामो समय च्याट गरेर बस्दा शंका पैदा हुन्छ । एक–अर्कामा विश्वास नहुँदा सम्बन्ध बिच्छेद हुन्छ । अहिले डिभोर्स गर्नु, डिभोर्स गरेर अर्काे विवाह गर्नु सिम्पल भैसक्यो । म त यसलाई पश्चिमा संस्कृतिको प्रभाव भन्छु । 

 

प्रस्तुति : उमा आलेमगर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार