• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण  लिने बताएका छन् ।  बीबीसी वर्ल्डलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको स्पष्ट पारे। ‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ। 

 

हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ। हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौँ । हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ र यसको हिसाबकिताब पनि गरेका छौँ’, नेपाल ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा सहभागी भएको बारेको प्रश्नमा ओलीले भने। विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयको प्रश्नमा प्रउनले वातावरण सन्तुलनका लागि नेपालले निकै ठूलो योगदान दिएको भन्दै यो वर्ष एक करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने जानकारी दिए।

 

‘हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौँ। हामी नदीका लागि पनि काम गरिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग ४५ प्रतिशत भूभागमा वन छ।  नेपालको १७ प्रतिशत भूमि हिउँले ढाकेको छ, १३ प्रतिशत भूमि सबै मौसममा हिउँले ढाकेको हुन्छ। यसले पानी पुनः भण्डार र सञ्चयमा सहयोग गरिरहेको छ।’ नेपालको वनले निकै विश्वको वातावरणमा निकै योगदान दिइरहेको उनको भनाइ छ।

 

विकासको कुरा गर्दा वातावरण क्षय र लापरवाहीको प्रश्न सधैँ देखिए पनि नेपाल यसप्रति सचेत भएको प्रधानमन्त्री ओलीले बताए।  अन्तरवार्ताको शुरुमा नवीनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्थाको प्रस्तुति थियो। योवर्ष ११ आरोहीको मृत्यु भएको समाचारमा देखाइएको थियो।  प्रस्तुतिमा एक आरोही अलन आर्नेटले  सगरमाथामा यस वर्षको घातक अवस्थाका तीन कारण– सीमित उपयुक्त मौसम दिन, बढी अनुमति तथा बजार प्रतिस्पर्धाका कारण कम्पनीले प्रस्ताव गरेको न्यून मूल्य रहेको बताएका थिए।

 

प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलेको बताउँदै त्यत्ति धेरै अनुमति नदिइएको दाबी गरे। ‘आरोहीले राम्रो मौसमका लागि कुरे। कहिलेकाहीँ उनीहरुले धेरै दिन कुर्नुपर्छ। यसमा पुनःविचार गर्नु आवश्यक छ। हल्ला गरिएझैँ जटिल अवस्था होइन,’ ओलीले भने । आगामी दिनमा आरोहीलाई अनुमति दिँदा र सम्बन्धित अधिकृतका विषयमा पनि ध्यान दिने उनको भनाई थियो। ओलीले बाटो अवरुद्ध भएकैले आरोहीको मृत्यु भएको कुरा साँचो नभएको बताए।

 

‘हामीले केही नियममा संशोधन गरेका छौँ। पथप्रदर्शकको सङ्ख्या, अक्सिजन सिलिण्डरको सङ्ख्या, तयारी आवश्यकता, आरोहणको उचित सङ्ख्या आदिका विषयमा हामीले संशोधन गरेका छौँ’, प्रधानमन्त्री ओलीले भने।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार