• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द

पर्वत । पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गए राति आगालागी भएको छ । राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ ।

 

आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने सात कम्प्युटर, दुई मिक्सचर, हाइब्रिड, टेलिभिजन लगायतका सामग्री पूर्णरूपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शङ्कर शर्माले जानकारी दिए ।

 

आगलागी भएसँगै बिहानदेखि रेडियोको प्रसारणसमेत बन्द भएको छ । कुनै पनि सामान काम नलाग्ने भएकाले बन्द गर्नुको  विकल्प नभएको शर्माले बताए । उनका अनुसार आगलागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राति २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

 

विद्युत् जडान गरिएको स्वीचमा समस्या आएका कारण पूर्णरूपमा क्षति पुगेको हो । आगलागीबाट रेडियो सञ्चालित घरका तीन कोठामा समेत क्षति पुगेको छ । झण्डै रु ३० लाखभन्दा बढीको क्षति भए पनि यकिन विवरण भने आइनसकेको शर्माले जानकारी दिए ।

 

तत्काल थाहा पाएका कारण कुनै मानवीय क्षति हुन भने नपाएको स्थानीय प्रहरीले जानकारी दिएको छ । विसं २०६४ देखि ग्रामीण क्षेत्र फलेवासबाट प्रसारण हुँदै आएको यो यस क्षेत्रको पहिलो सामुदायिक रेडियो हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार