• बुधबार ५-४-२०७६/Wednesday 08-21-2019
विचार

गैर कम्युनिष्टको नजरमा अध्यक्ष माओ

चीनको प्रशंसक हुनाको कारण छोटो अवधिमा चीनले गरेको आर्थिक उन्नती हो । कुनै समय चीनियाँ र कुकुरको प्रवेश निषेध भएको बोर्ड ढोकामा टास्ने अमेरिकी रेस्टुंराहरूको आचरण सुन्दा वाक्क व्याक्क भएको थिए । राष्ट्रपति आइजिन हावरको परराष्ट्रमन्त्री फोस्टर डालस (जेनेभा १९५६) ले चीनियाँ प्रधानमन्त्री चाउँ एनलाईसँग हात मिलाउन इन्कार गरेर चाउँको बेइजत गरेको दुईदशक नपुग्दै अमरिकि राष्ट्रपति निक्सनको चीन भ्रमणले भने निकै प्रभाव पारेको थियो । 

 

चीनको कम्युनिष्ट पार्टीले गरेको शासन प्रणाली भन्दा उनीहरूले चीनको एकिकरणमा पुर्‍याएको योगदान तथा चीनले हाम्रो बिकासमा गरेको सहयोगबाट उक्त राष्ट्रसंग अनुगृहित पनि भएकै हो । बजारमा उपलब्ध हुने चिनियाँ सामानहरु सस्तो, हेर्दै लोभलाग्दा तथा उच्च गुणका हुने गर्दै थिए चाहे त्यो फलामे कलम (भारतमा निर्मित) लाई बिस्तापित गर्ने चिनियाँ कलम होस् अथवा गोल तथा दतुन (पाएसम्म निम अन्यथा केनिका फुलको हांगो)  त्याग्न सक्ने अवस्था चिनियाँ टुथब्रस तथा पेस्टले गरेको थियो । त्यसो त कमिज सुरुवाललाई चिनियाँ स्लीपिंग सूट तथा खाली खुट्टालाई चिनियाँ चप्पलले बिस्तापित गराउँदै हुर्केको हो । तर भोटाहिटीको वा हेटौडाको पत्रपत्रिका बिक्रि गर्ने पसलहरूमा पचास पैसामा पाइने सचित्र चीन, तथा माओ को बिचारधाराको रातो पुस्तक तथा अन्य साम्यवादी किताबहरूले मलाई आकर्षित तुल्याएन न त माओको टाउको भएको बिल्लाले नै । बरु भारतीय सहयोगमा निर्मित पाहडको फेदी देखी टुप्पा पुग्ने घुमाउरो त्रिभुवन राजपथको दाजोमा कोदारी राजमार्गको निर्माण प्रबिधि तथा गुणस्थरले प्रभाव भने निक्कै परेको थियो ।

 

पोखरा जाने अभिलाषा पनि चीनको सहयोगमा खोलाको किनाराबाट दौडिने पृथ्वी राजमार्गले नै पूरा गरिदिएको हो । राजमार्ग निर्माणमा संलग्न कामदारहरु मुक्त कण्ठले चीनियाँ सहकर्मी तथा हाकिमहरूको प्रशंसा गर्दै थिए । चीनियाँ प्राविधियोग्यहरु नेपाली मजदुरहरूसंग सहकार्य गर्दछन भनेको सुन्दा पत्यार लाग्दैन थियो । भारत चीन सीमा युद्धमा चीनले भारतीय सेनालाई ‘बहादुरी के साथ पिछे हट गए’ भन्न मजबुर तुल्याए भन्ने समाचार सुन्दा चीनियाँहरूले आवश्यक परेको अवस्थामा हाम्रो पक्षमा लड्छन् भन्ने लाग्थ्यो । उत्तरी छिमेकी राष्ट्रले आणविक बिस्फोट गर्दा अब उ शक्ति राष्ट्र भएर उदाउने भयो भनेर खुशी भएको पनि हो ।   

 

अर्थशास्त्र बिषयमा अध्ययन गर्न थालेपछि भने क्यापटलिष्ट, कमान्ड तथा मिक्सड इकोनोमिका बिषयमा ज्ञान बटुलन थालियो । रूस तथा चीनको अर्थतन्त्रका उपलब्धीहरूको प्रशंसा गरिएको लेखहरु पढ्दा त्यहाँ मानवको मुल्य मशिन सरह हुन्छ भन्ने चेतना बढ़न थाल्यो । अर्थशास्त्र बिषयमा नोबल पुरस्कार बिजयी सुइडीस अर्थशास्त्री गुनार मेडल लिखित ‘यदी भारतले मिस्त्रीत अर्थतन्त्र अपनाउनुको साटो गान्धीको सिद्धान्तलाई नै अनुकरण गरेको भए भारतले चीन भन्दा बढी उन्नति गर्ने थियो’ भन्ने आशयको लेख पढ़ेपछि मानव स्वतन्त्रता बिना हुने भौतिक बिकास निर्थक हुँदोरहेछ भन्ने बोध भयो । 

 

समकालिन चीनको वर्णन गरिँदा माओत्सेतुंगको नाम आईहाल्छ । चीनलाई शक्ति राष्ट्र तुल्याउने श्रय भने माओको कप भोजनमा तिन पटक परेका तर तिनैपटक माओले नै पुर्नः स्थापना गरेका दुई नेताहरू देंग स्याउँ पिंग तथा तिनका कामरेड हु गोब्यांगमा जान्छ । यो जोडीको आर्थिक क्षेत्रको सुधार कार्यहरूले गर्दा नै चीनियाँ अर्थतन्त्रले दूर्तगती लिन थालेको हो । 

 

कृषि आयोजना सेवा केन्द्रमा कार्यरत छदाँ  १९८६ मा चीनको विकास प्रक्रियाको अध्ययन भ्रमण गर्ने अवसर मिलेको थियो । कृषि आयोजना सेवा केन्द्को उक्त भ्रमणको क्रममा दुईदिनसम्म (४८ घण्टा लामो) रेलको यात्रा गर्नु परेको थियो । उक्त रेल यात्रामा आफनै उमेरको चीनियाँ दोभासेसंग मित्रता गासियो । संगै बसेर धेरै पटक मौथाईको साना गिलासहरू रित्याइयो । तिनी खुल्दै जाँदा थाहा पाए ती दोभाषे पुर्व शिक्षामन्त्री पुत्र रहेछन । तिनका पिता फ्रान्समा अध्यनरत हुँदा चाउँयानलाई को समकक्ष थिए । कम्युनिष्ट पार्टीको सदस्य भएर ‘लङ मार्च’ को कालखण्डमा तिनी माओ निकट भएर कार्य समेत गरेका व्यक्ति थिए रे । .

 

दशक भन्दा लामो अवधीसम्म शिक्षामन्त्री पद सम्हालेका ब्यक्तिलाई सांस्कृतिक क्रान्ति को दौरानमा अपदस्थ, सार्वजनिक रुपमा बेइजती तथा नगरेको अपराधको आरोपका निमित्त क्षमायाचना गराएर दूर दराजको गाउँमा श्रमिक भएर कार्य गर्न लागइएको थियो । जहाँ भोक प्यासले तिनी बितेका थिए । सास्कृतिक क्रान्ति कालखण्डमा भएका ज्यादातीहरूका बिषयहरुमा दोभाषेले मलाई धेरै कुराहरू सुनाएका थिए । तिनका कुराहरू सुन्दा माओको चरित्र आफुले बिद्यार्थी कालखण्डमा पढेको एडगर स्नो लिखित पुस्तक ‘रेड स्टार ओभर चाइना’ भन्दा अत्याधिक पृथक भएको चस्को पसेको थियो । 

 

बिरामी भएको बेला माओको डाक्टर ली झुसुई द्धारा लिखित पुस्तक ‘प्राइभेट लाइफ अफ चीयरम्यान माओ’ अस्पताल भेट गर्न आउने साथीहरुले उपहार स्वरूप दिएका थिए । उक्त पुस्तकमा गरिएको माओको चारित्रिक विवरण आफुले कल्पना गरेको भन्दा बिपरित थियो । बिरामी हुँदा कई अवस्थामा चीनियाँ मित्र ग्यान ली (चीनियाँ मार्सल हुंग हुकुनग को छोरी जुवाई) आउँदा मैले डा. ली झुसुई लिखीत पुस्तक बारे चर्चा गरेर माओको बदनामका निमित्त उक्त पुस्तक अमेरिकीहरूले लेखाएको हुन सक्ने धारणा व्यक्त गरे । ग्यान ली ले उल्टो ‘तिमीले चीन को इतिहास नबुझेर त्यो सोच राखेको माओ चीनियाँ नागरीकहरूका निमित्त सम्राट थिए । तिनले इतिहासका सम्राटहरूले गर्ने व्यवहार गरेका हुन’ भनेर ब्याख्या गरे । तिनै ग्यान ली को सौजन्यमा मैले जुवांग चांग लिखीत ‘वाइल्ड स्वांस’ पुस्तक पढ्ने अवसर पाए । जुवांग चांगको पुस्तक थमाउँदै ग्यान ली ले त्यस समय भनेका थिए ‘यो पुस्तकले हाम्रो मुलुकका बारेमा भएको तिम्रो धारणाहरूलाई गलत साबित गर्दछ, तिम्रो आखाँ उर्घान मद्धत गर्दछ’ । त्यसको केहि वर्षपछि मलाई जुवांग चांग तथा तिनको श्रीमान जोन हालीडे लिखीत पुस्तक ‘माओ : दी अननोन स्टोरी’ पढने अवसर मिल्यो । त्यस पश्चातका दिनहरूमा खोजी खोजी माओ का बिषयमा अध्ययन गर्न थाले । हालै पढेको चाहि जूलिया लोभेल लिखीत पुस्तक ‘माओइज्म ए ग्लोबल हिस्ट्री’ हो । 

 

आफुले भेटेसम्मको पुस्तकहरुको आधारमा निकालेको निष्कर्स भनेको माओ कार्लमाक्र्सको नाममा शासन गर्ने स्टालिन पछिको दोश्रो क्रूर सर्वशत्ताबादी  तानाशाह शासक थिए । पुर्व सोभियत युनियनको स्टालिन शासन काल (१९२१– १९५३) मा दुई करोड़ भन्दा बढी नरंसंहार भएको अनुमान छ । तिनले आठलाख व्यक्तिहरूलाई गोली ठोकेर हत्या गरेको रेकर्ड सार्वजनिक भएको छ । गुगलमा दण्ड भोगेर मर्नेहरू को संख्या तिनलाख भन्दा बढ़ी छ ।

 

माओले सत्ता हातमा लिएपछि देखी तिनको देहान्त (१९४९ – १९७६) सम्मको कालखण्डमा चीनमा मानव निर्मित कारणहरूले गर्दा सात करोड़ भन्दा बढीले ज्यान गुमाए चाहे त्यो माओको १५ बर्षमा बेलायत जस्तै बिकसित राष्ट्र तुल्याउने ‘ग्रेट लिप फारवर्ड’ कार्यक्रममा होस अथवा बिरोधी सखाफ तुल्याउने सांस्कृतिक क्रान्तिको अभियानमा नै किन नहोस । माओको पथ पछ्याउने पोल पट शासन कालखण्ड (१९७५ – १९७९) मा २० लाखको नरसंहार भएको अनुमान गरिएको छ । माओले पोल पटलाई आफ्नो सच्चा अनुयाहि भएको भनेर प्रशंसा गर्ने गर्थे । 

 

मानव रगतबाट रमाउने माओ माक्र्सवादी नभएर माक्र्सको अनुयाही थिए जसले माक्र्सवादको अभ्यास गर्ने भन्दा सर्वशात्ताबादी शासन प्रणाली को माध्यमबाट आफुलाई बिश्वको क्रान्तिकारी नेताको रुपमा स्थापना गर्न प्रयत्नशील रहे । माओले संचालन गरेको बिरोधीको हत्या गर्ने संस्कारको ‘पर्ज’ मा तिनपटक परेर पुन उदाएका आधुनिक चीनका निर्माता डेंग स्याऊ पेंगले तिस बर्ष पूर्व (४ जून १९८९)  दिन टीनामन स्क्वयारमा लोकतन्त्रको माग गर्ने प्रदर्शनकारीलाई ट्यान्कले किचेर तथा ए के ४७ ले हत्या गर्ने आदेश दिए । ४ जुनको दिनमा बेइजिङ शहरको मुटुमा रहेको टीनामन स्क्वायरमा तीनहजार भन्दा बढी चीनियाँ युवाहरूको निर्मम हत्या भएको थियो । वर्तमान राष्ट्रपति सी चिनफिङको पिता तथा दिदि पनि माओको कप भोजनमा परेका थिए ।  इतिहास माओ प्रति सहानुभूती राख्ने भन्दा तिनलाई आफ्नो मुलुकका अत्याधिक संख्यामा हत्या गर्ने शासकको रुपमा प्रस्तुत हुने निश्चित छ । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार