• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

गोरखा दरबार पुनः निर्माण ढिलाइले पर्यटन विकासमा बाधा : कांग्रेस सभापति देउवा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनः निर्माणमा ढिलाइ भएको प्रति चिन्ता व्यक्त गरेका छन् ।

 

नेपाली कांग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन शनिबार साँझ यहाँ आइपुगेका सभापति देउवाले आज बिहान दरबार पुनः निर्माणको अवलोकनका क्रममा सो चिन्ता व्यक्त गरेका हुन । उनले गोरखाको पहिचानलाई विश्वसामु चिनाउने धार्मिक महत्व समेत बोकेको ऐतिहासिक स्थलको पुनःनिर्माणमा ढिलाइ हुँदा यहाँको पर्यटन विकासमा बाधा पुग्ने बताए ।

 

'दरबार पुनःनिर्माण छिटो हुनुपर्छ', सभापति देउवाले भने, 'सरकारले पुरातात्विक महत्व बोकेका एतिहासिक क्षेत्रको विकासलाई प्राथामिकतामा राख्नु आवश्यक छ ।' दरबार पुनः निर्माणको अवस्था हेर्दा अत्यन्तै सुस्त गतिमा काम भएको पाइएको भन्दै उनले पुनः निर्माणलाई तीव्रता दिन पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने विश्वास व्यक्त गरे ।

 

सभापति देउवाले भने, 'धर्म मान्ने र नमान्नेभन्दा पनि यो पर्यटनका हिसाबले समेत राम्रो सम्भावना बोकेको ठाउँ पनि हो, यसलाई लामो समयसम्म अलपत्र पारेर राख्नु हुँदैन ।'

 

सो अवसरमा सभापति देउवाले कालिका भगवती र गुरु गोरखनाथको मन्दिरमा पूजा गरेका थिए । सो क्रममा उनले दरबार पूर्णरुपमा भत्काइएकाले नियमित पूजापाठमा भएका समस्याका बारेमा जानकारी समेत लिएका थिए ।

 

उनले कालिका मन्दिर र गोरखनाथ मन्दिरमा नियमित पूजाका लागि सरकारले उपलब्ध गराउँदै आएको बजेटमा कटौती हुन नहुनेमा समेत जोड दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार