• बुधबार ३-४-२०७६/Wednesday 06-19-2019
डबली

ब्लाङ्क चेक

कोठाको फ्यान चलिरहेको थियो । हिजो दिउँसोको कुराले आजसम्म पनि मस्तिष्कमा तनाव उत्पन्न भईरहेको अवस्था । तनाव पनि किन नहोस् नाथे एउटी केटीलाई दया गर्दा यत्रो रकम हातबाट गुम्ला भन्ने उसले कल्पनासम्म पनि गरेको थिएन । उसले कल्पना गरेकी केटी त सुशिल, भलाद्मी, सुकोमल सर्वगुण सम्पन्न केटी हुन् भन्ने उसको सोचाई थियो । नारी हृदय सुकोमल हुन्छ भन्ने कथन समेत त्यस केटीले झुठो बनाईदिई । 


“एकपटक रेष्टुराँमा छिर्दा खानपिनको रुपैया हजारको बिल उसले आफैंले तिरी ।”, उसले खुशी बाँडेको थियो आयुष्माको कुरा गरेर सविकसँग । 
सविकले त भनेकै थियो, “हिजो आज केटीहरुको भर नपर है । डेन्जर हुन्छन् ।”
त्यही ‘डेन्जर’ शब्द उसको मस्तिष्कमा यसरी घुम्यो जसरी घुमिरहेको छ अफिस कोठामा फ्यान । गर्मी पनि अचाक्लि बढेको छ । एकछिन गर्मिले सहिनसक्नुहुन्छ । त्यही एउटा फ्यानले काम गरिरहेको छ ।


उसले संगत गरेकी आयुष्मा जम्मा बीस वर्षकी हो । उमेरले आयुष्मा भन्दा झण्डै दश वर्ष जेठो हो ऊ । यदि आयुष्माले बताएको उमेर साँचो हो भने । अनुहार हेर्दा पनि ऊ कलिली देखिन्थी पन्ध्र सोह्रकी जस्ति ।  तैपनि ऊ अवोध बनिदियो । नाटक झैं लाग्छ  त्यो घटना । 
“कस्तो मीठो कुरा गर्छौ सोभित ”, ऊ भन्थी । 
—    “साँच्चि”, ऊ मस्किँदै भन्थ्यो । 

यति फेसनदाररुपले धपक्क बलेकी केटीलाई आफ्नो बनाउन पाउँदा मख्ख परेको थियो सोभित । मन मिलेपछि सक्किगो नि । बिहे त जहिले गर्दा पनि हुन्छ । अझ जात पनि मिलेकी । घरमा नाइनास्ती गर्ने हिम्मत कसको ?


सोभितले आयुष्माको बारेमा आफ्ना नजिका साथीभाईहरुसंग खुलेरै गफ गथ्र्यो । एक किसिमले गर्व महसुस हुन्थ्यो उसलाई । 
साथीहरु भन्थे, “धेरै राम्री केटी भेटिछस् । बधाई तँलाई ।”
ऊ खिस्स हाँस्थ्यो मात्र। किनभने ऊ धेरै खुशी थियो । 

आयुष्मा ब्याच्लर पढ्दैछु भन्थी । बि.बि.ए. होटल म्यानेजमेन्ट तिर । उसले कलेजको नाम पनि भनेकी थिई । तर त्यो नामको कलेज नजिकै थिएन । अथवा कहाँ थियो उसलाई थाहा थिएन । त्यति चासो पनि लिएन उसले ।  

 

पढाई सक्काएर जागिर खुवाउन पनि सजिलो हुने । राम्रो विषय छानेकी रैछे । यस कुराले सोभितलाई हुनसम्मको आनन्द मिल्थ्यो । 
न बाबु आमालाई केटी खोज्ने झन्झट न दाजु भाईलाई । 

 

तर कुरो उसले सोचे र अनुमान गरे अनुरुप भएन । केटी नामुद चलाख निस्की । एकदिन उसले भनी, “हामी बिहे चाहिँ कहिले गर्ने ।”
—“ब्याचलर सक्काउ अनि गरौंला । हिजो आज त्यति क्वालिफिकेसन नभई जब पाइँदैन के गर्नु ?”, सोभितले जवाफ दियो । 
“त्यही त ।”, आयुष्माले सही थापी । 

 

यस्ता कुराहरु हुन थालेपछि सोभितलाई के चाहियो र उसको पूरै मन आयुष्माले लिई सकेकी थिई । 
समय बित्न कत्ति पनि बेर लागेन । झण्डै छ महिना यस्तै गरी बितिसकेछ । आयुष्माले विश्वास जितिसकेकी थिई । त्यसकारण पनि आयुष्माले जे भन्थी सोभित त्यही गथ्र्यो । अर्थात उसकै इशारामा चल्न थालिसकेको थियो । उसले यति सम्म पनि बिर्सियो की आयुष्मा उसकी पत्नी होइन । न त ऊ सँग कुनै वैधानिक नाता नै छ । 
आयुष्मा, म एक्लै घरमा बस्छु भन्थी। त्यो घर पनि भाडाको घर रहेछ । उसको आफ्नै घर होइन रहेछ ।आफ्नो कोठामा मात्र एक्लो। घरमा भाडामा बस्ने त अरुपनि रहेछन्।  त्यतिसम्म पनि बुझ्ने कसरत गरेन सोभितले । मात्र गफको भर ग¥यो । 


घुमिरहेको फ्यानलाई हेर्दै अफिसको एक सहकर्मी कुर्सी तानेर ऊ नजिकै बस्यो र भन्यो, “तपाईँकी आयुष्माको हालखबर के छ ? तपाईँ त फ्यान हो क्यारे आयुष्माको ”
“ठिकै छ ।”, उसले पीडा लुकाउँन खोज्यो।
त्यही फ्यान जस्तै गरी दायाँ बायाँ घुम्न थाल्यो उसको मस्तिष्कमा । गफमा आयुष्माले त्यसैगरी घुमाईदिई । बिहेसिहे को कुरा त त्यतिकै हो अब। तैपनि कसलाई भन्नु मनको ब्यथा भन्यो भने खिल्ली उडाउने मात्र हुन्छन् । 


तलब आएपछि आयुष्मालाई उसले पकेट मनि दिने गरेको थियो । तीन, चार हजार जति । अनि आवश्यक पर्दा त्यो भन्दा बढी पनि । कहिले काहिँ ब्लयाङ्क चेकमा साइन गरेर दिन्थ्यो। उसलाई चाहिने रकमको विवरण उसैले भर्थी । यसरी दिँदा पनि उसले कहिल्यै पनि हजार दुई हजार भन्दा बढी रकम निकालिन । 
त्यसैले त ऊ विश्वस्त थियो । 


एकदिन उसले खर्च मागी सोभितसँग, “अलिकति पैसा चाहिएको छ । कलेज फी तिर्न र थर्ड इयरको एडमिसन गर्न अनि किताब कापी किन्न ।”
यसपटक पनि उसले ब्लाङ्क चेकमा साइन गरेर दियो आयुष्मालाई। मिनिमम ब्यालेन्स बाहेकको सबै रकम झिकिछे आयुष्माले । करिब पन्ध्र लाख जति थियो । जुन उसले जागिर खान थालेदेखि जोगाएको रकम र शेयर कारोबार गरेर कमाएको रकम जति सबै थियो । 


“उत्रिनै नसक्ने गरी डुबेँ म ।”, उसले आफैंलाई धिक्का¥यो र भन्यो । आयुष्माले देखाएको घरबाट ऊ डेरा सरिसकेकी थिई । मोबाईलमा सम्पर्क गर्न खोज्यो अहँ मोबाईलले, “सम्पर्क हुन सकेन” भन्ने म्यासेज दियो । त्यति हो । फेसबुक पेज डिएक्टिभ । 
“आखिर कहाँ गई त्यो केटी ?”, ऊ रन्थनियो । 
—    “श्रीमतीको खातामा रकम हुनु र मेरो खातामा हुनु, उस्तै उस्तै हो ।”, एक मनले सोच्यो। यो उसको मन बुझाउने बाटो मात्र थियो । के ऊ फर्किएली । अथवा रकम फिर्ता गर्ली । उसको मनले के के भन्यो—भन्यो । आयुष्मा श्रीमती बनिसकेकी पनि थिईन नि । 


अब के गर्ने भन्ने भयो सोभितलाई । रकम र प्रेमिका दुबै गायब। 
एकछिन पछि अर्को साथी आयो र भन्यो, “सोभित ! यसपाली त बिहे भोज खान पाइन्छ होला नी ?”
रमाईलो गर्नसाथीले भने पनि उसलाई गिज्याए जस्तै लाग्यो । 


“भगवान भरोसा । खै कैले पो हुन्छ ।”, उसले आफ्नो पीडा लुकाउँदै जवाफ दियो । फ्यान अहिले पनि घुमिरहेको थियो उसको अफिस कोठामा । सँधै झैं अफिसका कर्मचारीहरु काममा ब्यस्त थिए । घुमिरहेको फ्यान जस्तै गरी उसको मस्तिष्क पनि घुमिरहेको थियो ।
 

sabinasindhu@gmail.com

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार