• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
प्रविधी

स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५ मा २४ समूह

काठमाडौं महानगरपालिकाले शहरी समस्यालाई स्वतन्त्र र प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्न खुला गरेको प्रतिस्पर्धामा २४ समूह अन्तिम चरणमा पुगेका छन् ।

 

‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ का नाममा महानगरको शहरी योजना आयोगले छ महीना अघिबाट शुरु गरेको प्रतिस्पर्धाका लागि चार विषय प्रस्तुत गरिएको थियो । विभिन्न छ चरणमा विभाजन गरिएको प्रतिस्पर्धाअन्तर्गत पहिलो चरणमा छनोटमा परेका सोचलाई विज्ञ समूहबाट करीब तीन महीना नियमित तालीम दिइएको थियो । तीमध्ये अन्तिम प्रतिस्पर्धामा पुगेका चार विषयका २४ समूह प्रतिस्पर्धीलाई विशिष्ट प्रकारको तालीम दिएर सोचमा निखार ल्याउन महानगरले मद्दत गरेको थियो ।

 

यसमा विजेता पहिलो समूहले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो । त्यस्तै प्रतिस्पर्धाका चार विषयगत विजेतालाई प्रतिसमूह रु दुई लाख र उपविजेतालाई जनही रु एक लाख प्रदान गरिने शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए । 
 

 

विभिन्न चरणमा विषयको महत्व, उत्पादन क्षमता, व्यावसायिक नमूना, विस्तार योग्यता र प्रस्तुति एवं व्याख्या गरी छुट्टाछुट्टै पाँच आधारलाई सूचक मानेर मूल्याङ्कन गरिएको थियो । उनीहरुका प्रस्तुति शहरी समस्याका मुख्य चार विषयमा निर्धारण गरिएको छ । प्रतिस्पर्धाका लािग राखिएका विषयमा समुदाय तथा वातावरण, शहरी पूर्वाधार विकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन छन् । यस चरणमा आउनुअघि उनीहरुले पाँच चरण पार गरिसकेका छन् ।

 

प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौँका शहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्नेछन् । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुने विश्वास लिइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार