• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी

हेटौँडा । नेत्र विक्रम चन्द समुहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ । मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ ।

 

मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ । आज यहाँ बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको छ । हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको उनले बताए ।

 

आगजनीका कारण मानवीय क्षति भने भएको छैन । त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ । नौ खण्डेमा बास बसेर आज बिहान ४ः१५ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको हो ।

 

इलाका प्रहरी कार्यालय पालुङ्ले दिएको जानकारीअनुसार अज्ञात समूहमा आएका तीन जनाको समूहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेर क्षति भएको र चालक प्रहरी नियन्त्रणमा नै रहेको प्रहरीको जानकारी गराएको छ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार