• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

दश महिना अवधिमा ७४.६७ प्रतिशत प्रगति

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा कूल रु ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । 

 

दश महिनाको अवधिमा  ७४.६७ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएको वर्षमा सो अवधिमा रु २५ अर्ब ३० करोड ८३ लाख ५२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा रु २५ अर्ब ३४ करोड ५६ लाख ८४ हजार राजश्व सङ्कलन गरेको थियो ।

 

गत वर्षको तुलनामा चालू आवको सो अवधिमा रु छ अर्ब ४१ करोड १५ लाख ९० हजार बढी राजश्व सङ्कलन भएको हो । राजश्व सङ्कलनको स्थिति हेर्दा गएको वर्षमा साउन र भदौ महीनाबाहेक प्रत्येक महीनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको देखिन्छ भने चालू आवमा साउन महीनामा १००.६८ प्रतिशत र असोज महिनामा १३३.५६ प्रतिशत प्रगति भए पनि अन्य महीनामा राजश्व सङ्कलनमा गिरावट आएको देखिन्छ ।

 

लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न कार्यालयलाई बाँकी दुई महीनामा कठिन यात्रा गर्नुपर्ने अवस्था देखिन्छ भने लक्ष्यमा पुग्न रु.१० अर्ब ७७ करोड ४६ लाख ४४ हजार राजश्व उठाउनु पर्ने स्थिति छ । राजश्व सङ्कलनको स्थिति हेर्दा अब कार्यालयले दुई महिनामा रु.छ अर्बभन्दा बढी उठाउन सक्ने अवस्था छैन ।

 

लक्ष्य अनुसारको प्रगति नभएको जिज्ञासामा कार्यालयका निमित्त प्रमुख मणिराम पौडैलले विभागको महत्वाकाक्षी लक्ष्य र यो नाकाबाट आयात ह्वातः घट्नु हो भने । गएको वर्षको तुलनामा सो अवधिमा २५ प्रतिशत राजश्व बढी सङ्कलन भएको छ भने । 

 

चालू आवमा वैशाख महिनासम्ममा कूल रु.२१ अर्ब २१ करोड १० लाख ७१ हजार मूल्य बराबरको सामान निकासी र रु.एक खर्ब ३६ अर्ब ११ करोड ७१ लाख ७८ हजार मूल्य बराबरको सामान पैठारी भएको छ । गएको वर्षमा सो अवधिमा निकासी रु.२० अर्ब १० करोड सात लाख ६० बराबरको र पैठारी रु.एक खर्ब १८ अर्ब १० करोड ५६ लाख ३३ हजार मूल्य बराबरको सामान पैठारी भएको थियो ।

 

विराटनगर भन्सारदेखि भारत तथा समुन्द्रपार निकासी वस्तुमा पिना, भेनीयर सीट, वनस्पति उत्पादनहरु, चोकर भुस, खजुरको प्रशोधित तेल, सेन्थेटिक यार्न, जुटका बुनिएका कपडा, बोरा र झोला, अन्य रेशाको कपडा, जिआई वायर रहेका छन् । त्यस्तै भारत तथा समुन्द्रपार पैठारी वस्तुमा हाइस्पीड डिजेल, एमएस विलेट, तयारी कपडा, पेट्रोल, पोलिथिन दाना, सिआर सीट, स्टील वायर रड इन क्वायल र एमएससम्म, एल पि ग्यास, एच.आर.सीट र सिमेन्ट क्लिङ्कर छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार