• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

साढे ७ करोड नक्कली भारु सहित युनुस अन्सारी र तीन पाकिस्तानी पक्राउ

काठमाडौं । शुक्रबार (आज) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित तीनजना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।पाकिस्तानबाट कतारको दोहा हुँदै नेपाल आएका पाकिस्तानी नागरिक नासिर उद्दिनसहित अन्य ३ जनालाई दुई हजार दरको ठूलो परिमाणको भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

 

उनीहरुलाई लिन विमानस्थल पुगेका युनुस अन्सारीसहित ३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिइ शुक्रबार नै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । 

 

पक्राउ पर्नेमा ६७ वर्षीय नासिर उद्दिनसँगै नेपाल आएका ४९ वर्षीय मोहम्मद अफ्तर र ३९ वर्षीया नदिया अनवर तथा अन्सारीसंगै रहेका सुयल खान र गाडी चालक सुदन रानाभाट रहेका छन् । 

 

पत्रकार सम्मेलनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले बिमानस्थलमा सुरक्षा जाँच गर्नेक्रममा शंका लाग्दा नक्कली नोट बरामद भएको जानकारी दिए । उनले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको पनि बताए ।

 

तीन जना पाकिस्तानी नागरिक इस्लामावादबाट दोहा पुगेका थिए । दोहामै नक्कली नोट तयार पारेर नेपाल आएका थिए । प्रारम्भीक अनुसन्धानका क्रममा युनुस नै नक्कली नोट कारोबारका मुख्य योजनाकार हुनसक्ने आशंका प्रहरीको छ । विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई विमानस्थलबाट पक्राउ गरेको हो। विशेष ब्युरो र विमानस्थल प्रहरीले उनीहरूलाई रिसिभ गर्न नेपालबाट मान्छेहरू विमानस्थल आएको सूचना पाएको थियो। 

 

पक्राउ परेका मध्य अन्सारीलाई यसअघि २०७० साल माघमा ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरिएको थियो । पूर्व मन्त्री सलीममिया अन्सारीका छोरासमेत रहेका उनी नेशनल टेलिभिजनका सञ्चालक रहेका थिए ।

 

उनी जेल परेपश्चात टेलिभिजन बन्द भएको थियो । अन्सारीमाथि सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामै रहेका बेला भारतीय नागरिक जसजीत सिंहले गोली प्रहारसमेत गरेका थिए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार