• सोमबार ५-३०-२०७६/Monday 09-16-2019
मनोरञ्जन

‘मुम्बईको कथा लेख्न छाडेर आफनै परिवेशबारे लेख्न आए’

काठमाडौं मोडल कलेजबाट पत्रकारितामा स्नातक गरेकी सम्पदा मल्ल फिल्म मेकिङमा स्नाकोत्तर गर्ने रहरले मुम्बई पुगिन । अध्ययन लगतै काम गर्न भोक तिब्र बन्दै थियो उनमा । उनले नयाँ परिवेशमा केहि कठिनाईहरु पनि भोगिन । बलिउडमा जति सम्भावनाहरु छन् त्यति नै चुनौतिहरु पनि रहेछन भन्ने उनले नजिकबाट बुझ्ने मौका पाइन । साथीहरु काम गर्न उत्साह दिन्थे तर भने जस्तो सहज थिएन । पटकथा लेख्ने काम त पाइन तर समयको कुनै टुङ्गो थिएन । लेखन उनका लागि प्यासन थियो । उनले थोरै पैसाबाट भए पनि काम सुरु गरिन । मल्लले नेपाली सिरियल सिंहदरवार १ र २ मा काम पनि गरेकी छिन् । उनले ‘दृश्यांश’ नामक संस्था समेत खोलेकी छन । मोबाईल फिल्म प्रतियोगिता गर्दै आएको दृश्यांशले ६ सय बढी मोबाइल फिल्मलाई प्रतियोगितामा सहभागि बनाइसकेको छ । लेखक मल्लसँग कलिउड र बलिउडमा उनको लेखन अभिरुची बारे फ्रेसन्युज नेपाल गरेको यो कुराकानी : 

 

चलचित्रमा काम गर्दै  हुनुहन्छ भन्ने सुनिन्छ नी ?
अहिले भर्खरै ‘कठपुतली’ चलचित्र सकियो । अरु पनि स्क्रिप्ट लेखिरहेकी छु । ठूलो ब्यानरका लागि हो । तर अहिले यहाँ नभनु होला ।

 

तपाईको लेखनबारे जान्न मन लाग्यो, कसरी लेखनमा झुकाव बढ्यो ? 
मैले छ–सात कक्षाबाट लेखन सुरु गरेको हो । कथा पत्रिकाहरुमा छापिन थालेपछि लेखन मोह बढ्दै गयो । सिरियलका स्क्रिप्ट चाही मैले सन् २०१४÷२०१५ बाट सुरु गरेकी हुँ । मैले स्नाकोत्तर उतै अध्ययन गरेकाले केहि साथीहरु चिन्थे । उनीहरुले मुम्बईका लेखक खासगरी स्क्रिप्टमा काम गर्नेहरुलाई नजिकबाट चिनेका थिए । म भने अध्ययन सकेर नेपालमै काम गर्ने भनेर फर्किने सोचमा भए । तर नियतीले फेरी मुम्बई पुर्यायो । एनडीटिभी ईम्याजिनमा शो आउन लागेको थियो । त्यहाँका लेखकलाई मैले राम्रो सँग चिन्थे । लेखकले मलाई सहयोगीको रुपमा काम गर भनेर बोलाए  ।  एकहप्ता पछि त्यो च्यानल बन्द भयो  । काम गर्ने मनसाय बनाइसकेकी थिए । फेरी अर्को एकजना मार्फत म ‘ए रिस्ता क्या कहेलाता’ भन्ने सिरियलमा काम गर्ने भए । स्क्रिप्ट लेखनका हस्तीहरु कै टिममा बसेर काम गर्ने अवसर पाए । 
 

 

उनीहरुको काम गर्न शैलीले तपाईलाई सुरुवातमा काम गर्न कति कठिन भयो ?
बलिउड कामका हिंसावले फराकिलो र अत्यन्तै गहन तरिकाले जिम्मेवारी भित्र रहेर काम गर्ने अभ्यास हुने ठाउँ हो । त्यहाँ कथा एक जनाले लेख्छ, स्क्रिप्ट एकजनाले र स्क्रिनप्ले एकजनाले गर्छ । त्यो उद्योग जस्तै हो । पहिला मुम्बई जाँदा एनडीटिभी बन्द भयो । त्यसपछि मेरो सिनियरले आउ न त म एक्सल इन्टरटेनमेन्टमा काम लगाई दिन्छु भनेर म त्यहा पुगे । अन्तर्वार्ता दिए तर तलब महिनाको जम्मा ५ हजार थियो । मुम्बईमा यदी कसैलाई चिनेको छैन भने काम पाउनैं मुश्किल पर्छ ।

 

कति बर्ष काम गर्नु भयो मुम्बईमा ?
दुईबर्ष जति असिस्ट गरे र त्यसपछि मैले स्वतन्त्र लेखकको रुपमा काम गरे । ‘गुमराहा, इसका रङ्ग सफेद’ को स्क्रिप्ट गरे । 
 

 

स्क्रिप्ट हिन्दिमा लेख्नु हुन्थ्यो कि अंग्रेजीमा?
स्क्रीनप्ले र कथा अंग्रेजीमा हुन्छ भने संवाद हिन्दीमा हुन्छ । म स्कुल पढ्दा देखि नै लेख्थे । लेखनमा फरक अनुभूति हुन्थ्यो । त्यहाँ गएपछि टिभी सिरियल त बकवास हो जस्तो लाग्थ्यो । किनकि बिहान दिउँसो राती जतिवेला पनि स्क्रिप्ट लेख्नुपर्ने हुन्थ्यो । समयको कुनै सिमा हुदैन्थ्यो । हतारमा लेख्दा कतिपय अवस्थामा त गलत पनि हुन्थ्यो । नेपाल भन्दा भिन्न छ त्यहाँको संस्कार, मलाई त्यहाँको रितीरिवाजको बारेमा थाहा थिएन । भारतीय रहनसहनका बारेमा त्यहाँका साथीहरु जानकार हुन्थे तर मैले भने त्यसबारे छुट्टै खोज अनुसन्धान गर्नुपर्ने हुन्थ्यो । कहिलेकाही यो सबै मैले के गर्दैछु जस्तो पनि लाग्थ्यो । यो सबै गर्नुभन्दा म आफ्नै ठाउँमा फर्केर आफ्नै कथा लेख्न सुरु गर्नुपर्छ भन्ने निचोडमा पुग्न थालेको थिए । त्यसपछि फेरी नेपाल फर्किए ।
 

 

मुम्बईमा काम गर्दाको कुनै भोगाईहरु छन कि ?
उनीहरुको काम गर्ने तरीका हामीलाई भिन्न लाग्न सक्छ । कति बेला के गर्नु पर्छ भन्ने थाहा हुदैंन । ल्यापटप सधै बोक्नु पर्ने  । फोन आए पछि जहाँ भए पनि लेख्न सुरु गनुपर्ने हुन्थ्यो । त्यहा काम गर्ने सबै अनुभबी थिए । समुहको ध्यान जहिले पनि दर्शक के चाहन्छन भन्ने हुन्थ्यो । लेख्दा सधै दर्शकलाई हुने गरि लेख्नु भन्ने निचोडमा हामी पुग्थ्यौं ।म मुम्बई मै थिए, उपचारका लागि यहाँबाट बुवाआमा जानु भएको थियो । बुवाआमासँग हस्पिटलमा थिए । मेरो सिनियरको फोन आयो । मैले तत्काल स्क्रिप्ट लेख्नुपर्ने भयो । उहाँहरुलाई अस्पताल उपचार गर्दै गर्नु भनेर म त्यहाँबाट सिधै लोकेशनमा पुग्नुपर्ने भयो । टिमको निर्दशन अनुसार जुन वेला पनि कामको लागि तयार हुनुपर्ने अवस्था आउथ्यो । एक हिसावले भन्ने हो भने उनीहरको काम गर्ने शैली कुनै कारखानाको भन्दा कम थिएन ।


 

पछिल्लो समयमा धेरै सुनिन्छ टिआरपीले गर्दा यहाँहरुमा थप चुनौति बडेको छ भनेर ?  
अवश्य नै हो । यसमा सत्यता छ । हामी लेखनमा खटिएकाहरुको हरेक दिन परिक्षा हुन्थ्यो । सधै बिहिबार टिआरपी आउथ्यो र तनाब भने लेखकलाई हुन्थ्यो । मलाई याद छ ‘ससुराल सिमर’ मा एक चोटी टिआरपी घट्यो र उनीहरुले जुक्ति लगाए । उनीहरुको संवादमा केहि परिर्वतन गरियो । सासु बुहारी बिच हुने संवादमा केहि परिवर्तन भएपछि फेरी टिआरपी बढ्यो ।


संवाद लेखनमा पनि मनमुटाब, रिस यस्तै चल्दो रहेछ अथवा यस्ता विषय आवश्यक हुने रहेछ हैन ?
भारतीय टेलिश्रृङखलाहरुमा कस्ता संवाद र कथा बस्तु चल्छ भन्ने बारे प्राय लेखकहरुलाई थाहा छ । कस्ता कथा वस्तुले टिआरपी बढाउँछ भन्ने आधारमा कथा बस्तु अघि बढ्छ । उनीहरुले गृहिणीलाई के मन पर्छ भन्ने कुरालाई निसाना बनाएर लेख्ने गर्छन । उनीहरु के चाहन्छ भन्ने उनीहरुलाई थाहा छ ।


 

 

त्यहाँको काम गर्ने शैलीमा कत्तिको रमाउनु भयो ?
मलाई लेख्न रमाइलो लाग्थ्यो । मेरो समस्या के थियो भने मैले जे सोचे त्यस अनुरुप स्क्रिप्ट तयार गरे । बिषय बस्तु दिइएको थियो । एक पटक मलाई स्टोरी बनाउन भनियो । म के लेख्ने लेख्ने भए र जे आयो त्यहि लेखेर इमेल गरे । मलाई म्यामले गाली गर्नुभयो । ‘लेख्न आउदैन’  भनेर र मैले अर्को मौका मागे र सिरियल पनि हेर्न थाले । गम्भीर भएर लेखे । त्यसपछिको मेरो लेखनमा आलोचना कम भयो । नेपाली परिवेश भन्दा पृथक छ भारतीय समाज । फरक रहनसहन भएको समाजको कथा विषय बस्तु भएर पनि मलाई केहि जटिल अवश्य पनि भयो सुरुवाती दिनहरुमा । यदि नेपाली पृष्टभूमिको बारेमा भएको भए सजिलो हुन्थ्यो मलाई ।
 

 

लेखेको स्क्रिप्ट डस्टबिनमा फाल्नु परेको तितो अनुभव केहि छ ?
स्किृप्ट चरणबद्ध रुपमा चेक जाँच गरिन्छ  । च्यानलको टिम हुन्छ । यदि कथा विषयबस्तु बकवास छ भने फेरी गर्नुपर्ने हुन्छ । त्यसमा प्रक्रिया हुन्छ । सायद यहि कुराहरुले मलाई कसरी काम गर्ने भन्ने सिकायो ।
 

 

बलिउड आफैमा ठूलो उद्योग भनिन्छ कस्तो अनुभव गर्नुभयो ? 
हामीलाई लाग्छ यो उद्योगमा धेरै राम्रा सम्भावनाहरु छन । त्यहाँ पुग्ने हरेकको रहर हुन्छ फिल्ममै काम गर्ने तर सोचेको जस्तो सजिलो छैन । नेपथ्यमा रहेर धेरै नेपालीहरुले त्यहाँ काम गर्दै आएका छन । कतिले अझै काम गर्दै पनि छन । मैले फिल्म स्कुल पढेर गए । मेरो लक्ष्य पनि फिल्मनै थियो । भन्ना साथ फिल्ममा अवसर पाइदैंन ।
मुम्बईमा टिभी भनेकोे बाच्नको लागि रहेछ । काम गर्नु नै छ तर फिल्ममा मिल्दैन । दैनिकी चलाउन केहि न केहि त गर्नु पर्छ ।  मलाई एक्सल इन्टरटेनमेन्टले ५ हजार भारु दियो । करोडौंको फिल्म बन्छ तर भर्खर लेखनमा लागेका हामीहरुलाई दिने पाश्रिमीक अत्यन्तै थोरै छ ।  जबसम्म माथिल्लो तहमा पुगिदैन तवसम्म कठिन छ ।

 


त्यति ठुलो उद्योगमा पनि समस्या हुनेरहेछ है ?
समस्या हुन्छ । माथिल्लो तहमा नपुगेसम्म समस्या हुन्छ । त्यसैले पनि टिभी एउटा उद्योग जस्तो भईदिन्छ । मैले स्वतन्त्र लेखक भएर काम गरे । टिभीमा मात्रै कति काम गर्ने भन्ने जस्तो लाग्न थाल्यो । त्यसपछि मैले एसराज फिल्ममा काम गरे । बीचबीचमा नेपाल आएर पनि काम गरे र नेपालमा केहि गर्नुपर्छ भनेर ‘दृश्यांश’ भन्ने मोबाइलबाट फिल्म बनाउने प्रतियोगिता गरे । मोबाइलबाट फिल्म बनाउनु भएको रहेछ धेरै राम्रो भनेर प्रतिक्रियाहरु आए । अब यसपटक साउथ एसियामा प्रतियोगिता गराउने सोचेका छौं । 


 

 

 

नेपाली फिल्म उद्योग सानो छ ।  मनिषा कोइराला बलिउडमा खेल्दा नेपालीलाई गर्व हुन्छ । तपाईलाई पनि त्यहाँ स्क्रिप्ट लेखकको रुपमा पुग्दा कस्तो रुपले हेर्छन ?
म यही हुर्केको भएर मलाई सबैले माया गर्नुहुन्छ र मिडियाले पनि माया गरेका छन् । म भारत पुग्दा नेपाल खुशी भयो र लेखन भनेको यस्तो चिज हो जहाँ तपाइले देशको माटो बुझ्नुपर्छ र अभिनेताले अरुले लेखेको कथामा खेल्नुपर्छ । जसरी मलाई एकपटक बिहारको बारेमा लेख भनेका थिए र मलाई त्यहाँको बारेमा केहि थाहा छैन र लेख्न गार्हो भयो  । 

 

बलिउडमा काम गर्दा को को सँग भेट गर्ने मौका पाउनुभयो ? 
 एसराज फिल्ममा कलाकारहरुको आउने जाने क्रम भइरहन्थ्यो । एसराज फिल्ममा काम गर्ने मौका पाएको थिए जहाँ काम गर्ने मौका पाउनु नै ठुलो कुरा थियो ।  फिल्म शुद्ध देशी रोमान्समा केही समय काम गरेर छोडे । त्यसमा मैले मेकिङ डाइरेक्टरको रुपमा काम गरेको थिए । 

 

 टेलिफिल्महरुमा गर्ने नकारात्मक डायलगले कत्तिको असर पर्थ्यो ? 
त्यो असर पर्दैनथ्यो किनकि मैले टिभीलाई खासै त्यस्तो गम्भीर रुपले हेर्दिन्थे । 


 

 

 अबका दिनमा नेपाली चलचित्रको स्क्रिप्टमा काम गर्ने सम्भावना कत्तिको छ ? 
अब ‘कठपुतली’ पनि नेपाली हो र अर्को पनि गर्दै छु र यहाँ स्क्रिप्टलाई धार मान्ने र नमान्ने पनि छन् । नेपालमा पनि राम्रो स्कोप छ  । स्क्रिप्टमा काम हुदैन नेपालमा भनिन्छ  । पछिल्ला चलचित्रहरु हेर्ने हो भने धेरै सुधार हुदैं गएको देखेको छु । नयाँ पुस्ताले यसमा फरफ र मौलिक पहिचान दिन खोजेकोरुपमा मैले बुझेको छु ।
 

तपाईको बुवा रंगकर्मी, तपाईलाई नाटकमा रुची भएन वा फिल्मको  स्क्रिप्टमा मात्र रुची भयो ?
मलाई बच्चा देखि नै लेखनमा रुची भयो । मलाई बुवाले विभिन्न ठाउँहरुमा लिएर जानु हुन्थ्यो । बच्चा अवस्थामा मलाई फोटोग्राफिमा पनि एकदमै रुची थियो । कतै फोटोग्राफर त बन्छु कि भन्ने पनि लाग्थ्यो । अर्को मेरो रुची भनेको व्यवस्थापनमा हो । मैले धेरै वर्ष देखि गरेको काम हो र अहिले पनि व्यवस्थापनमा सक्रिय नै छु । नाटकमा रुची नभएको होइन । तर लेखनको काम गर्दा गर्दै फिल्मतिर नै लागियो । 

 

आफ्नै घरमा एउटाले कथा लेख्ने अर्कोले निर्देशन गर्दा कस्तो महसुस हुन्छ ?
मैले बुवासँग काम गर्न लागेको पहिलोपटक हो । घरमा हामी दुई बाबु छोरीको सम्बन्ध बाबु छोरीको भन्दा पनि साथीको जस्तो छ । मैले केही नयाँ गरे या केही लेखे भने उहाँलाई सुनाइहाल्थे । मैले उहाँबाट धेरै कुराहरु सिकेकी छु र अझ सिक्न बाँकि छ । उहाँ पनि मबाट धेरै कुरा सिक्छु भन्नुहुन्छ तर उहाँले हामीलाई समय दिनु नै हाम्रो लागी ठुलो कुरा हो । मैले आफैले केही राम्रो काम गरेर उहाँको छोरी भन्दा मलाई गर्व महशुस हुन्छ । हामीसँग क्षमता छ भने हामीले आफै केही गर्नु पर्छ त्यो नै हाम्रो लागी ठुलो प्रण हुन्छ । 

 

प्रस्तुति : देवी सापकोटा 
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार