• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

नेकपा : एकता कि गठबन्धन

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण घोषणा भएको एक वर्ष पूरा भएको छ। दुई ठूला पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि अझै कार्यकर्ताबीच अन्तरघुलन हुन सकेको छैन।

 

एकता हुँदा दुई पार्टीकै नेता कार्यकर्ता एकआपसमै एकीकृत हुनेछन् र साच्चिकै एक पार्टी बन्नेछ भन्ने अपेक्षा थियो तर त्यसविपरीत एकता प्रक्रिया भागबन्डामा टुंगिएको छ। दुई पार्टीले कति–कति प्रतिशत नेता बाँडफाँट गर्ने र कमिटीको नेतृत्व कसले गर्ने भन्ने विषयमा पुगेर एकता प्रक्रिया टुंगिएको छ। केन्द्रीय कमिटीदेखि जिल्ला कमिटी गठनसम्म भागबन्डा गरिएको छ। पोलिटब्युरो पनि भागबन्डाकै आधारमा टुंगिँदैछ।

गत वर्ष मदन आश्रित स्मृति दिवसका दिन दुई पार्टी एकीकरण भई नेकपा बने पनि यस अवधिका निर्णय हेर्दा दुई पार्टीबीच एकता कि गठबन्धन भन्ने प्रश्न उठेको छ। नेकपा सचिवालयमा तत्कालीन एमालेबाट केपी शर्मा ओली, माधकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा तत्कालीन माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। स्थायी कमिटी र केन्द्रीय कमिटी गठन पनि गुटगत आधारमा बनाइएको छ।

 

स्थायी कमिटीमा तत्कालीन एमालेबाट २७ र तत्कालीन माओवादी केन्द्रबाट १८ जना रहेका छन्। चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट २ सय ४१ र तत्कालीन माओवादी केन्द्रबाट २ सय जना छन्। त्यसैगरी प्रदेश, जिल्ला र जनवर्गीय संगठनमा पनि दुवै पक्षले भागबन्डा गरेका छन्। पोलिटब्युरोमा पनि ८१ र ६६ को भागबन्डा हुनेछ।

 

नेकपा स्थायी समिति सदस्य घनश्याम भुसाले एकता मोडालिटी भागबन्डाकै भएकाले नेताकार्यकर्तामा खास उत्साह नथपिएको बताउँछन्। ‘एकता हुनपथ्र्यो, भयो, कमजोर होला, बलियो होला अर्को बहसको विषय बन्न सक्छ तर नेताहरुले तानातान गरेर एकता प्रक्रियालाई भागबन्डाको दिशामा केन्द्रित गरे,’ उनले भने। उनका अनुसार एकीकरण विधि भागबन्डा मात्रै नभएर अर्को पनि हुन सक्थ्यो। विधि निर्माण गरी एकीकरण गरेको भए सहज हुन्थ्यो र कार्यकर्तालाई पनि एकआपसमा घुलमिल हुन सहज हुन्थ्यो। ‘विधि बनाएर एकता टुंग्याएको भए भागबबडाको आरोप पनि लाग्दैनथ्यो। त्यो कुरा नेताहरुले बझ्न सकेनन’, भुसालले भने। नागरिक दैनिक 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार