• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

मूल्यवृद्धिले सास्ती : गोलभेडाको भाउ दोब्बर, खसीको मासुमा २०० बढ्यो

काठमाडौं । यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६र७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् ।

 

काठमाडौं उपत्यकाका लागि कालिमाटी बजारमा दैनिक सात सय ५० टनसम्म तरकारी भित्रिने गर्छ । तर, पछिल्लो १० दिनयता दैनिक छ सय टनसम्म मात्र आयात भइरहेको घिमिरेले जानकारी दिए । ‘एकातिर उत्पादन घट्यो, अर्कोतिर आयात हुने तरकारीको भाउ नै बढेर आएको छ,’ उनले भने, ‘त्यसैले भाउ बढेको हो ।’

 

अहिले बजारमा सबैभन्दा बढी गोलभेडाको भाउ आकासिएको छ । महिनादिनअघि ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको गोलभेडा कालिमाटी बजारमा शनिबार एक सय १० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । त्यही गोलभेडाको दाम काठमाडौंका साना बजार र किराना पसलमा एक सय २० रुपैयाँ प्रतिकिलोसम्म पर्छ । त्यस्तै, स्थानीय काउली कालिमाटी बजारमै ८५ रुपैयाँ प्रतिकिलो पुगेको छ । एक महिनाअघि यसको मूल्य ५५ रुपैयाँ थियो । भेन्टा, मटरकोसा, हरियो फर्सी, साग, निउरो, ब्रोकाउली, धनियाँलगायतका ताजा तरकारी तथा फलफूलको भाउ ह्वात्तै बढेको छ । 

 

उपत्यकाको बजारलाई नैकाप, थानकोट,रामकोट, मुलपानी, छम्पीलगायतका क्षेत्रमा टनेल बनाएर गरिने गोलभेडाले माग धान्दै आएको छ । तर, यसपटक यी क्षेत्रमा असिनापानीका कारण उत्पादन घटेको छ । भारतबाट हुने गोलभेडा आयात ३० प्रतिशतले घटेको छ । यतिबेला पाँचखालबाट थोरै गोलभेडा कालीमाटी आइरहेको छ । व्यवसायीका अनुसार टनेलमा लगाएको गोलभेडा बजार आइपुग्न करिब एक महिना लाग्न सक्छ । ‘प्रत्येक भान्सामा पाक्ने गोलभेडा माग अनुसार नपाएपछि बजार भाउ बढेको हो । तर, अहिले विस्तारै आपूर्ति बढ्न थालेकाले भाउ पनि घट्न थालेको छ,’व्यवसायी घिमिरेले भने । 

 

खसीको मासुको भाउ प्रतिकिलो दुई सय रुपैयाँ बढेको छ । चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले भारतबाट नियमित खसी ल्याउन नपाउँदा उपत्यकामा मागअनुसार आपूर्ति गर्न नसकिएको बताए । ‘भन्सार नाकाबाट भारतीय खसी ल्याउन सकिएको छैन । उपत्यकाको मागलाई धान्न व्यवसायीहरू गाउँगाउँ गएर खसी ल्याउँदैछन् । त्यसैले केही लागत बढ्न गएको देखिन्छ,’ उनले भने । जिउँदो खसीको भाउ प्रतिकिलो छ सयबाट बढेर छ सय ५० रुपैयाँसम्म पुगेको उनले बताए । तर, एक महिनाअघि एक हजार ५० रुपैयाँ प्रतिकिलोसम्म रहेको खसीको मासुको भाउ अहिले एक हजार दुई सय ५० पुगिसकेको छ ।

 

चामल, दाल, तेललगायत खाद्यपदार्थको मूल्य पनि बढेको छ । थोक व्यवसायी देभेन्द्रभक्त प्रधानका अनुसार भारतबाटै चामलको भाउ बढेर आएको छ । ‘अहिले २५ किलो चामलको भाउ ५० रुपैयाँले बढेको छ,’ उनले भने । दाल प्रतिकिलो १० रुपैयाँसम्म वृद्धि भएको छ ।  दाल आयात हुने प्रमुख देश बर्माबाटै मूल्य बढेर आएको उनको दाबी छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो समय किराना पसलबाट बढी बिक्री हुने चामल, दाल, चिनी, तेल लगायतको मूल्य आकासिन थालेको छ ।  उनका अनुसार ९० रुपैयाँ प्रतिकिलो रहेको मुसुरो दाल एक सय पुगेको छ । मासको दाल एक सय १० बाट एक सय २० र ठूलो खालको मासको दाल र रहर दाल एक सय ३० बाट १४० रुपैयाँ प्रतिकिलो पुगेको छ । नयाँपत्रिका 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार