• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

गृहमन्त्री थापा र अमेरिकी उपसहायकमन्त्री डेभिड जे रेञ्जबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेञ्जबीच आज भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

 

भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायत क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे ।

 

उनले केही महिना अघि नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण र सो क्रममा भएका सहमतिले नेपाल र अमेरिका सम्बन्धलाई थप उचाइमा पु¥याउन भूमिका खेलेको चर्चा गरेका थिए । गृहमन्त्री थापाले नेपालको राजनीतिक स्थिरतासँगै अब तीव्र आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै यसमा अमेरिकी सरकार र जनताको सहयोगका लागि उपसहायक मन्त्री रेञ्जसँग आग्रह गरे ।

 

अमेरिकाले ‘मिलेनियम च्यालेञ्ज कोपरेशन’मार्फत नेपाललाई प्रदान गरेको आर्थिक सहयोगले नेपालको आर्थिक विकास तथा विद्युतीकरणका लागि महत्वपूर्ण हुने गृहमन्त्रीको भनाइ छ । भेटमा उपसहायकमन्त्री रेञ्जले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाइमा लैजान आवश्यक रहेको बताए ।

 

उनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, मानव बेचबिखनलगायत क्षेत्रमा अमेरिकाले सहयोग गरिरहेको बताउँदै त्यो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए । उपसहायकमन्त्री रञ्जले अमेरिकी स्वयम्सेवी समूह ‘पिसकोर’को प्रवेशाज्ञाको समयावधि थप तथा नेपालको अध्यागमन प्रणालीको स्तरोन्नतिका लागि सहयोगलगायत विषयमा समेत गृहमन्त्री थापासँग कुरा राखेका थिए । भेटवार्तामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीको पनि सहभागीता थियो  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार