• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

विकासको नयाँ ढाँचा अघि नबढाए मुलुक सङ्कटमा फस्ने : प्रचण्ड 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणालीअनुरुप नीतिनियम र विकास ढाँचा परिमार्जनको खाँचो रहेको बताए । ललितपुरमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलनको उद्घाटन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ ढाँचा अघि नबढाए मुलुक सङ्कटमा फस्न सक्ने खतरा औँल्याए ।

 

उनले राजनीतिक प्रणालीलाई गुणात्मक ढङ्गले नयाँ बनाउने नेपाली जनताको चाहनालाई सम्बोधन गर्न राज्यका संरचना, ऐन, कानून, कार्यविधि र विकासका ढाँचा समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावना अनुसार निर्देशित हुन जरुरी रहेको बताए । अध्यक्ष दाहालले भने, 'हामीले त्यस्तो ढाँचा पत्ता लगाउन जरुरी छ, जुन ढाँचा नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधता तथा परम्परासँग मिल्दोजुल्दो छ र आधुनिकताका ती पक्ष समेट्दै समाजलाई अग्रगति दिँदै समाजलाई समृद्ध बनाउने प्रविधिको प्रयोग गरेर लैजान आवश्यक छ ।'

 

उनले भने, 'अहिलेको विश्वमा मानव जातिले जे–जस्ता समस्या भोेगेको छ, ती विकासको ढाँचाबाट पैदा भएका विभिन्न किसिमका नकारात्मक परिणतिहरु हुन् ।' जलवायु परिवर्तनबाट पैदा भएका समस्या, भूमण्डलीय तापक्रम वृद्धिका समस्या पनि विकासको मोडलका कारण भएको उनको भनाइ थियो ।

 

अबका केही समयपछि राष्ट्रको गौरवमय परम्परा र समाज नै विघटन हुने खतरा बढेर गएको औँल्याउँदै उनले आत्मनिर्भर, दिगो विकास र विकासको मौलिक मोडल निर्माण गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । आफूले कृषि विषयको शिक्षकका रुपमा गोरखाको आरुघाटमा कार्यरत रहँदा किसानलाई प्राङ्गारिक खेती प्रणाली र प्राङ्गारिक मल उत्पादन गर्ने तौरतरिका सिकाएको स्मरण गर्दै अध्यक्ष दाहालले अबको यात्रा प्राङ्गारिक कृषिका क्षेत्रमा हुनुपर्ने बताए ।

 

मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निस्तेज पारेर प्राङ्गारिक कृषि बाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्न सम्मलेन सफल हुने अध्यक्ष दाहालले विश्वास व्यक्त गरे । दुई दिनसम्म चल्ने सम्मेलनले कृषि क्षेत्रको भावी विकासको रणनीति र मोडल तय गर्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार