• मंगलबार ५-३-२०७६/Tuesday 08-20-2019
विचार

कहिले परिवर्तन होला नारी प्रती पुरुषले हेर्ने दृष्टिकोण 

परिवर्तित समय, परिवर्तित सोच, परिवर्तित चिन्तन, परिवर्तित बिचारले हाम्रो जीवनशैलीमा ल्याएको परिवर्तनलाई हामी नकार्न सक्दैनौं । हाम्रो समाज एकाइसौं शताब्दीमा आइपुग्दा समाजले धेरै फड्को मारिसकेको छ । हिजोको ढुङ्गे युगबाट समाज परिस्कृत भएर यहाँसम्म आइपुग्दा मात्र हामी मानव भएका छौ । शताब्दीऔं अघिको समाज र वर्तमान समाजमा आकाश पातालको फरक छ । सामाजिक परिवर्तन सगैं मान्छेको सोचाइ र बौद्धिकतामा पनि आमूल परिवर्तन आइसकेको छ । यसलाइ हामीले कसरी उत्कृष्ट र मर्यादित बनाउने भन्ने विषय हाम्रो मानसपटलमा जटिल प्रश्नको रुपमा रहेको छ ।

 

नेपाली समाज हिजोको ढुङ्गे युगबाट यहाँसम्म परिवर्तन भएर आइपुग्दा पनि नारी प्रतिको पितृसत्तात्मक सोच भने ज्युं का त्युं छ । नारीहरु सङ्कुचित सोचको घेराबन्दीबाट उम्कन सकेका छैनन । बेलाबखत नारी हकअधिकार र उन्मुक्तिका कुरा गरे पनि समयले जतिसुकै फड्को मारे पनि नारीहरु पितृसत्तात्मक अवस्थाबाट माथी उठ्न सकेको अवस्था देखिदैन । परापुर्वकालदेखि पुरुष प्रधान समाजमा नारीहरु पुरुषार्थको सिकार भइरहेका छन । हरेक तवरले कमजोर छन नारीहरु भन्ने नराम्रो सोचको खोल ओढेको छ समाजले । विगत भन्दा वर्तमानमा नारी समानताका निम्ति केही पहल भएता पनि ती केवल अक्षरहरुमा मात्र सिमित छन । नारी समानताका निम्ति न्यायोचित रुपमा नीति निर्माण हुन भने सकेको छैन ।

 

नारी प्रती पुरुषले हेर्ने दृष्टिकोण नै साघुरो रहेको देखिन्छ । समाज बदलीयौं, व्यवस्था बदलीयौं तर नारी प्रतिको दृष्टिकोण बदलिएन । विकसित देशहरुमा महिला र पुरुष बिच कुनै प्रकारको बिभेदिकरण गरिदैन तर नेपालको सन्दर्भलाइ जोड्ने हो भने आज पनि नारिहरु सामाजिक, सांस्कृतिक, परम्परागत, आर्थिक, बौद्धिक हिसाबले शोषित बनिरहेका छन । कु संस्कारको जन्जिर भित्र जडकेर बिगतमा नारिलाइ जिउदै मार्ने नेपाली समाजले आज पनि उन्मुक्ती र स्वतन्त्रताको श्वास फेर्न दिएको छैन ।

 

भाषण र सिद्धान्तमा नारिवादी कुरा गर्ने ठुला अहोदाका मान्छेहरुको नारी प्रतिको सोच नै सङ्कुचित छ । जहाँ नारी र पुरुष बिच विभेद गरिदैन, उस्तै सामाजिक अधिकार दिइन्छ ।त्यहा सामाजिक, आर्थिक रुपले महिला पुरुषको समान सहभागिता र बाहुल्यता हुन्छ । तर अरु देशको तुलनामा हाम्रो देश भने निकै पछाडि परेको छ ।यसको प्रमुख जड यहाको असमानता र राजनितिक अस्थिरता हो। नेपालको आधा जनसंख्या महिलाले ओगटेका छन । तर हरेक तह र पदमा ८० प्रतिशत भन्दा बढी पुरुषकै बाहुल्य छ । राज्यले आरक्षणको रुपमा केही प्रयास नगरेको पनि होइन तर नीति निर्माण र तहमा पुरुष कै हालिमुहाली रहेको छ ।

 

वास्तवमा महिलाहरु सामाजिक, आर्थिक, राजनीतिक लगायत सबैजसो छेत्रमा भेदभावपुर्ण व्यवहार भोगिरहेका छन । महिला माथी हुने हिंसा, बेचबिखन, बलात्कार, अपहरण लैंगिक विभेद र शोषणजस्ता विकृतिबाट आज पनि महिलाहरु पिडित भएर बाचिरहेका छन । परम्परागत कु संस्कार छोरा र छोरी बिच गरिने भेदभावले पनि यो कुरितिको जड उखेलिन सकेको छैन । महिलाहरुले पुरुष सरह मजदुरी गर्दा समान ज्याला पाउदैनन। शारीरिक बनावटको भिन्नताका कारण उनीहरु बिच रुप, भाव, शक्ति, सामर्थ्यमा भिन्नता आएको हो । तसर्थ शारीरिक बनावटको भिन्नताको कारण महिला माथी हुने भेदभावको अन्त्य हुनुपर्छ । बिगतमा सती प्रथाको नाममा आफ्नो श्रीमानको चितासगैं जिउँदै जलेर नारीहरुले मर्नुपर्थ्यो ।

 

सती प्रथाको अन्त्य भए पनि नेपालमा छाउपडी प्रथा, बोक्सी प्रथा, छुवाछूत, कुमारी प्रथा, दाइजो प्रथा, बालबिवाह अझै अशिक्षित ठाउँहरुमा छन । छाउ भएको बेला १३-१४ बर्षको बालिका हुँदा देखि छाउघरमा बस्नुपर्ने पिडाबाट आज पनि नेपालका पश्चिमी भेगका महिलाहरु गुज्रिरहेका छन । महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने चलन नेपाली समाजमा बिद्यमान छ । समानताका खोक्रा भाषणले मात्र नारी स्वतन्त्रता जन्मिदैन, बिगुल फुकेर मात्र हुदैन, व्यवहारिकतामा लागू हुनुपर्छ ।

 

दाइजो नल्याएको, छोरा पाउन नसकेका, चरित्र राम्रो नभएको जस्ता आरोप लगाउँदै महिला प्रति अमानवीय व्यवहार गरिन्छ । यौन व्यवसाय, सर्कस लगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा बर्सेनी लगभग पाँच हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदै आएको छ । त्यस्तै रोजगारिका लागि खाडी लगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रुपमा काम गर्ने महिलाहरुको शोषण पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन । 

 

नारी शोषण बिरुद्ध नारी उन्मुक्तिका निम्ति नेपालमा भएका इतिहासका प्रयासलाई हेर्दा, १९७७ सालमा चन्द्र शमशेरले सती प्रथाको अन्त्य गरे । पितृसत्ताले महिला जैविक हिसाबले कमजोर हुने भनी व्याख्या गरियो । बौद्धिक हिसाबले पनि दोस्रो तहमा राख्ने भनी व्याख्या गरियो । राजनीतिमा बाध्य, आर्थिक गतिविधिमा होइन, घरेलु र अनुउत्पादक ठाँउमा सिमित गरिदै लगियो । मताधिकार लगायतबाट बन्चित गरियो । क्रमश मताधिकारको माग गर्दै सन १९०८ मा संगठित महिलाहरुले आन्दोलनको सुरुवात गरे । सन १९१७ ताका रुसमा गाँस र बासको नारा थपेर अरु आन्दोलनको उठान भयो । त्यसरी नै अन्तरास्ट्रिय महिला आन्दोलनको रुप ठूलो बन्दै गयो । अनन्त सन १९१० मा क्लारा जेडियन रोजालग्ज वर्गको अगुवाइमा कोपेनहेगनमा भएको दोस्रो अन्तरास्ट्रिय श्रमिक महिलाहरुको सम्मेलनले ८ मार्चलाइ अन्तरास्ट्रिय श्रमिक दिवस मनाउने निर्णय गर्यो ।

 

नेपालमा सन १९७५ देखि अन्तराष्ट्रिय महिला दिवस मनाउँदै आइएको छ । नेपालमा महिला समस्या र समाधानलाई बुझ्ने सम्बन्धमा पुरातनवादी दृष्टिकोण महिलाहरु प्राकृतिक हिसाबले कमजोर छन । दोस्रो दर्जाका हुन भन्ने मान्यता राख्दछन । उनीहरु महिला समानता र अधिकारको कुरा गर्न अनावश्यक ठान्ने गर्दछन । नेपालको सन्दर्भमा महिला समस्या र समाधानको सन्दर्भमा समानुपातिक, समावेशी ब्यवस्था, महिला मुक्ती आन्दोलनमा नया आयाम समेत थपेको छ । महिलाहरुको समस्या समाधान गर्न महिलाले मात्र पुग्दैन र महिला स्वयम् सहभागी नभएर पनि हुदैन भन्ने सिद्धान्त लागू हुनुपर्छ । हाम्रो देश नेपालमा अन्तरास्ट्रिय नारी दिवस अहिलेसम्म पनि केही सहरी महिलाहरु बिच सिमित रहेको छ । ग्रामीण परिवेश र शिक्षाको उज्यालोबाट बन्चित नारीहरु माझ नारी दिवसले कुनै प्रभाव पार्न सकिरहेको छैन ।

 

राजनीतिक परिवर्तन भए पनि आज महिला उत्पीडन भयावह अवस्थामा रहेको छ । मातृ शक्तिलाई राज्यले हरेक तह र तप्कामा पुरुष सरह समान हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता नेपालले महिला बिरुद्द हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी अन्तरास्ट्रिय महासन्धी अनुमोदन गरिसकेको छ । पक्ष राष्ट्र भएका कारण महासन्धिमा उल्लेखित सबै प्रकारका प्रावधान पालना गर्नु राज्यको दायित्व हो । नेपालको संविधान २०७२ ले महिलाहरुलाई थुप्रै हक अधिकारको व्यवस्था गरेको छ । संविधानको मौलिक हक अन्तर्गत धारा ३८ को महिला हकमा प्रत्येक महिलालाई लैंगिक भेदभाव बिना समान वंशिय हक हुने, महिलाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुने, महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोबैज्ञानिक हिंसाजन्य कार्य वा शोषण गर्न नहुने,यदि त्यस्तो कार्य भएमा कानुन बमोजिम दण्डनीय हुने र पिडितलाइ कानुन बमोजिम क्षतिपुर्ती पाउने हक हुनेछ भन्ने व्यवस्था रहेको छ । तर नेपाली महिलालाई गरिने थिचोमिचो अन्त्य भने हुन सकेको छैन। त्यसैले नारी माथिको हिंसा अन्त्यका निम्ति नारीले नै आवाज उठाउनुपर्छ ।

 

आफ्नो स्वतन्त्रता र अधिकारका निम्ति जुट्नुपर्छ । महिला अधिकार कागजी दस्तावेजमा मात्र होइन व्यवहारिकतामा पनि सुनिश्चित हुनुपर्छ । जबसम्म अन्धविश्वासी समाजले नारीहरु माथी जबरजस्ती लादिएका कु प्रथाको अन्त्य हुन सक्दैन अनि स्वयम् नारीहरु बन्द पर्खाल भित्रको चार किल्लालाइ तोडेर बाहिर आउन सक्दैनन तबसम्म नारी मुक्ती र परिवर्तनका बाटाहरु सम्भव छैनन । जसरी अहिले आएर सति प्रथा, सुसारे प्रथा जस्ता कु प्रथाहरुको उन्मुलन भयो त्यसरी नै नारी माथी लादिएका सबै कु प्रथा र शोषणको अन्त्य हुन जरुरी छ । तब मात्र नारी मुक्ती र परिवर्तनका बाटाहरु सम्भव छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार