• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

निस्दीवासीलाई सौर्यबत्ती

काठमाडौं । टुकीको भरमा जीवनयापन गर्दै आएका पाल्पाको निस्दी गाउँपालिकाका नागरिकले अब सोलारबाट बत्ती बाल्न पाउने भएका छन् । गाउँपालिकालाई टुकीरहित बनाउने कार्यक्रमअन्तर्गत सो अभियान थालिएको हो । 

 

गाउँपालिकामा टुकी बालेरै जीवन निर्वाह गरेका १६६ घरपरिवारलाई सोलार वितरणका निम्ति गाउँपालिकाले रु १४ लाख ११ हजार विनियोजन गरेको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । मगर समुदायको बाक्लो बस्ती रहेको सदरमुकाम तानसेनबाट करीब ७० किलोमिटर पूर्वमा रहेको निस्दीका सात वडामा सोलार वितरणको योजना रहेको छ । 

 

पहिलो चरणमा वडा नं ६ का ४१ घरपरिवारलाई २० वाट क्षमताका सोलार वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीको भनाइ छ । गाउँपालिकाको अर्चले, गल्धा, झिरुवास, मित्याल र ज्यामिरेमा सामुदायिक विद्युतीकरणको काम भए पनि ढिलासुस्ती भएको उनले बताए । विद्युत् नहुदाँ मोबाइल चार्ज गर्न तथा विद्युतीय सामानको प्रयोगमा समस्या भएको स्थानीयवासीको गुनासो छ ।

 

सोलार पाएपछि अब धेरै राहत हुने निस्दी–६ चिदियाका कुलबहादुर नेपालीले बताए । उनले भने, “छोराछोरी पढ्न तथा बेलुकासाँझको बेला घरको काम गर्न समेत सजिलो भएको छ ।” त्यस्तै नारीभन्ज्याङ्का विसन रानाले सोलार पाएपछि खुशी लागेको उल्लेख गर्दै अब मोबाइल चार्ज गर्न सजिलो हुने बताए ।

 

त्यस्तै वडा नं ५ मा पनि २० घरपरिवारलाई सोलार वितरण गरिएको छ । सो वडाका वाङलाङ, थाम, खर्कडाँडा, धोमादी, बोहरीखर्क, कठैडाँडा, डुम्रिडाँडा, ढुङ्गानाबेँसी, गल्धाफाँट, बेलडाँडा, केवरापानी र नामसुर्गागाउँका स्थानीयवासीलाई प्रतिघर २० वाट क्षमताका सोलार वितरण गरिएको वडासचिव एकराज अर्यालले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार