• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

साहित्यकला मन्दिरद्वारा आठ स्रष्टा सम्मानित

काठमाडौं । लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले रजत वर्षका अवसरमा नेपाली साहित्य, कला, इतिहास र सङ्गीत क्षेत्रका विशिष्ठ आठ स्रष्टाहरूलाई शुक्रबार सम्मान गरेको छ । 

 

यसपटक गङ्गादेवी चौधरी स्मृति सम्मानबाट वरिष्ठ आख्यानकार पद्मावती सिंह, इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मानबाट अग्रज साहित्यिक अनुसन्धाता मोदनाथ प्रश्रित, सरस्वती गद्य सम्मानबाट वरिष्ठ साहित्यिक पत्रकार अच्युतरमण अधिकारी, नारायणगोपाल सङ्गीतसम्मानबाट लोक–आधुनिक सङ्गीतका विशिष्ट साधक गणेश रसिकलाई सम्मान गरिएको थियो ।

 

यस्तै अरनिको ललितकला सम्मानबाट नेपाली चित्रकला क्षेत्रका विशिष्ट साधक  किरण मानन्धर, बालकृष्ण सम रङ्ग सम्मानबाट रङ्गमञ्च क्षेत्रकी विशिष्ठ साधक भुवन थापा चन्द, नेपाल नवप्रतिभा सम्मानबाट फरक क्षमता भएकी सृष्टि केसी र गोपालप्रसाद रिमाल काव्य सम्मानबाट वरिष्ठ कवि दिनेश अधिकारी सम्मनित भए ।  

 

कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद्, शताब्दी पुरुष सत्यमाहन जोशीले दोसल्ला ओढाएर सम्मानित स्रस्टाहरूलाई सम्मान प्रदान गरेका थिए । सम्मानमा ताम्रपत्रसहित नगद पनि समावेश छ । १ लाख १ रुपैयाँ राशिको गंगादेवी चौधरी स्मृतिसम्मान तथा अन्य सबै सम्मान ५१ हजार १ रुपैयाँ राशिको रहेको छ ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले विगत २५ वर्षमा राष्ट्र–निर्माणमा यस संस्थाले जुन योगदान पुर्‍याएको छ, त्यो अत्यन्त महत्वपुर्ण र अनुकरणीय भएको बताए । त्यस्तै समारोहका सभापति एवं यस संस्थाका अध्यक्ष बसन्त चौधरीले स्वागत मन्तव्य प्रकट गर्दै सिर्जनाका अनेक रूप, अनेक विधा भए पनि त्यसको मूलमा भने एउटै तत्वले बास गरेको हुने बताए । 

 

सम्मानित स्रष्टाहरूका तर्फबाट बोल्दै कवि दिनेश अधिकारीले कवि एवं परिवर्तनका संवाहक गोपालप्रसाद रिमालको विशिष्ठ योगदानको सम्मान गर्दै पहिलोपटक उनको नाममा काव्यसम्मानको स्थापना गरेर साहित्यकला मन्दिरले साहित्यजगतलाई नै तिरिनसक्नु गुन लगाएको बताए । समारोहको अन्त्यमा साहित्यकला मन्दिरका उपाध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति अभिनेता हरिहर शर्माले स्वागत मन्तव्य प्रकट गरेका थिए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार