• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
डबली

माया–प्रेममा आउने आँसु कसले गणना गरेर राख्छ र ?

आँसु के हो ?
रुन कै लागि भनेर ‘गुड क्राइङ क्लब’ हरु खोलिने अहिलेको जमानामा मलाई आँसु कुनै रहस्यमयी संगीत जस्तो लाग्छ । यसो हेर्दा यो हाम्रो वशको कुरा हो तर होइन पनि । 
    
पहिलो पटक आँसु आएको बेला ?
नसम्झने गरेर पहिलोपटक आँसु आएको त जन्मिदा नै होला । सम्झने गरेर पहिलोपटक आँसु आएको बुबाले तीन चार वर्षको हुँदा गाली गरेर कुट्दा नै हो । 

 

आँसु आउँदा कस्तो महशुस हुन्छ ?
म अलि कठोर मान्छे हुँ । सितिमिति मेरो आँसु आउँदैन । जब आउँछ, त्यो एक भुकम्प, आँधीबेहरी वा ज्वालामुखी बनेर आउँछ । हरेक पटक रोइसकेपछि म ‘नयाँ’ मा परिणत हुन्छु । 

 

के कुराले तपाईलाई झर्झर आँसु आउँछ ?
आँसु अलि अटेरी कुरा हो । यो न आँखाको डिल, न आँखाको परेलीलाई नै सोधेर आउँछ । जब आउँछ, अनुमति नमागि चुपचाप आउँछ । यस्तो अटेरी आँसु के कुराले कुन बेला कसरी झर्झर वर्षन्छ ? म आफैलाई पनि थाहा हुँदैन । 

 

सबैभन्दा धेरै आँसु आएको क्षण ?
जिन्दगीमा केहि यस्ता रातहरु छन्, जुन रातहरु रोएरै काटेकी छु । सबैभन्दा बढी आँसु बगाएका ती रातहरु मेरो जीवनका टर्निङ पोइन्ट हुन् । 

 

आँसु आएको बेला कसले तपाईलाई ढाडस दिन्छ ?
म आध्यात्मिक मान्छे हुँ (धार्मिक होइन) । रोइरहँदा पनि एउटा तहमा मेरो चेतनाले यो रुवाईको क्षण अनित्य छ भनिरहेको हुन्छ । यसर्थ आँसु आउँदा मलाई मेरै अन्तस्करणले ढाडस दिइरहेको हुन्छ । 

 

कति समयसम्म आँखाबाट आँसु झरिरहन्छ ?
रुँदा घडी हेर्दै कोही रुदैन । जवाफ आफै बुझ्नुस !

 

माया–प्रेममा कतिपटक आँसु आयो ?
व्यापारमा पो हिसाब हुन्छ, माया–प्रेममा हर कुरा बेहिसाब हुन्छ । माया–प्रेममा आउने आँसु कसले गणना गरेर राख्छ र ? मायामा न हाँसो गनेर साध्य हुन्छ, न आँसु नै । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार