• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

‘जीवन जिउने काइदा’ का लेखक जीवन प्रसाईको तेस्रो पुस्तक आउँदै

काठमाडौं । केहि वर्षयता आफ्ना पुस्तकहरु मार्फत् हामीलाई ‘जीवन जिउने काइदा’ सिकाउँदै आएका लेखक जीवन प्रसाई फेरि नयाँ पुस्तक लिएर उपस्थित हुन लागेका छन् । पब्लिकेशन्स नेपालयबाट छिट्टै सार्वजनिक हुन लागेको प्रसाईको आगामी पुस्तकको नाम हुनेछ, ‘वरिपरि नै सर्वोपरि’ ।


संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा कार्यरत लेखक प्रसाईले यसअघि यसै पब्लिकेशन्स मार्फत् स्वस्थ्य जीवनशैलीमा आधारित दुइवटा पुस्तक ‘जीवन जिउने काइदा’ र ‘सँधै तन्नेरी’ दिइसकेका छन् । 


प्रसाई अमेरिकामा स्वास्थ्य सम्वन्धि विषयमै अध्ययन अनुसन्धानमा सक्रिय छन् । उनले दुई दशक भन्दा बढि समयदेखी जडिबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरुको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् ।

 

उनको वैज्ञानिक अनुसन्धान केन्द्र ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआइएच) सँग समेत आबद्धता छ । खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरुमा प्रकाशित छन् । प्रसाईले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधी गरेका हुन् ।


यसअघिको पुस्तकहरुमा खानपान र स्वस्थ्य जीवनशैली सिकाउने प्रसाईले अबको पुस्तकमा भने पाठकहरुलाई हामी र हाम्रा वरपरको प्रकृतिबारे वर्णन गर्नेछन् । उनको मन्त्र हुनेछ –
जोगाएर राखौँ
हावामा अक्सिजन
जमिनमाथि वनस्पति
जमिनमुनि पानी 
किनकि
यिनैमा टिकेको हुन्छ
हामी सबैको जिन्दगानी  

पुस्तकमा ‘वरिपरि नै सर्वोपरि’, ‘प्राणवायु अक्सिजन’, ‘ताजा हावा’, ‘पानीसँग बग्छ जीवन’, ‘हरियो जगत्’, ‘संस्कृतिमा वनस्पति’, ‘जङ्गलमा मङ्गल’, ‘जोगाऔँ हरियाली’, ‘गुणकारीलाई चिनौँ’, ‘बारीमा औषधि’, ‘आआफ्नो भोजन’, ‘बदलिँदो खाने संस्कृति’, ‘भोजनको भूमण्डलीकरण’, ‘खाद्यपदार्थको बजार’ जस्ता शिर्षक र उपशिर्षकहरुमा बेग्लाबेग्लै अध्ययन अनुसन्धानमा आधारित लेखकका भनाइहरु समेटिएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार