• बिहीबार ५-५-२०७६/Thursday 08-22-2019
विचार

हाम्रो काठमाडौं शहर 

यो शहरका मान्छे पानी र दूधको सपना देख्छन् । शहरमा दूधको लाइनमा घाम झुल्कन्छ र लोडसेडिङ चलेको बेला मूल फुटेका ढुङ्गेधारा खोज्दाखोज्दै बिहान सकिन्छ । तर अधिकांश ढुङ्गेधाराहरूको स्थिति अपहेलित बूढोजस्तै छ, जोसजागर परिपक्व सल्लाहको बेलामात्र भलाकुसारी गरिन्छ । 

 

काठमाडौं यस्तै छ । डाँडामा पुगेर हेर्दा एउटा अनौठो चित्रजस्तै लाग्ने काठमाडौं कतै तन्किएको छैन, अनौठो छैन । न कतै चौडा छ, न कतै लामो । बरु यो एउटा त्यस्तो भान्साघर जस्तो लाग्छ, जहाँ बसेर बूढीआमा भात पकाउ“दैछिन्, बूढाबाजे जप गर्दैछन्, घरबिदामा आएको जागिरे छोरो टोपीमात्र फुकालेर चौकामा बसेर  ‘भूपतये स्वाहा’ भन्ने तरखरमा छ, नाति नजिकै राखिएको टेबिलकुर्सीमा बसेर मासको दालसँग ताइचिनको भात खाँदैछ, लिबाइज जिनमा कस्सिएकी अन्माउने बेला घर्किन लागेकी छोरी प्रेम बाजपेयीको पचहतरै उपन्यास पढ्दैछे र दुईजना स–साना बालक आफ्नो आमाको भाषा बिर्सन जाने तरखरमा आलुचिउराको टिफिन माग्दैछन् । 

 

शहर यसका गल्ली र सडकजत्तिकै साँघुरो छ । कस्सिएर हिँड्नेका लागि कहीँबाट कहीँ पुग्न पनि आधा घण्टा लाग्दैन । विमानस्थल त्यहीँ छ र पशुपतिनाथ पनि त्यहीँ छन् । तर पनि यस्तोलाग्छ– काठमाडौँ टाढा–टाढासम्म फैलिएको छ र साह्रै विस्तृत छ । किनभने काठमाडौँको दूरीलाई समयले नाप्दैन, थकाइले नाप्छ ।

 

यहाँ जो आउँछ, त्यो थाक्छ । थकाइ यस शहरको स्थायी रोग हो । बिहान ९ बजे खाएको दालभातले दिनभरिको कामपछि पनि नथाक्ने ताकत कहाँबाट देओस् ? ‘शहर साँघुरो छ, तर बस, मोटर र मोटरसाइकल देख्दा त्यस्तो लाग्दैन । यति साँघुरो शहरको साँँघुरा सडकमा चल्ने चौडा मोटरका अगाडि मान्छे साह्रै सानो हस्ती लाग्छ । 

 

काठमाडौंको बिहान नौ बजे दालभातसँगै सकिन्छ । त्यसपछि दश बजेसम्मको समयलाई हामी नृसिंह अवतार र हिरण्यकशिपुबीचको लुछाचुँडी भन्न सक्छ । बस र मिनीबसको भीडमा अक्सर निम्न मध्यवर्गीय मेकअप पसिनाले पखालिने गर्छ ।

 

पुरूष र स्त्रीको मिश्रित गन्धबाट छुट्कारा पाउञ्जेलसम्म मानिस थाकिसक्छ । झन्डै एघार बजे प्रारम्भ भएको दिन केही जरुरी काम सिध्याउन, केही बोलाहट आएपिच्छे भित्र–बाहिर गर्न र बाँकी सम्पत्तिको मूल्याङ्कन गर्नमा सकिन्छ । निजले दश लाखको सम्पत्ति जोडि सकेछ, फलानाले श्रीमतीलाई सुनको चुरी किनिदिएछ, ढिस्कानाले भन्सारको जागिर पाएछ– सीमित आकांक्षाको यो शहरका वासिन्दाका लागि सबभन्दा ठूलो महत्वाकाङ्क्षा यिनै हुनसक्छन् । शहर साँच्चै निकै साँघुरो छ । 

शहरका यत्रतत्र सडकमा, गल्लीमा, चोकमा र भवनमा देखापर्ने सभ्यता बसस्टप र यस्तै अरू सार्वजनिक ठाउँमा देखिँदैन । शहर कपडामा सभ्य छ, तर मनमा कति सभ्य छ भन्ने कुरा थाहा हुँदैन । सडक बारेर भोज खाने चलन हट्ने कुरा होइन, बरु खाने सडकमा निर्माण सामग्री थुप्य्राएर घर बनाउने चाहि थपिएको चलन हो ।

 

काठमाडौँमा प्रतिदिन सभ्यता खडा हुन्छ र भत्किन्छ । निर्माणको सभ्यताले काठमाडौंलाई मुसा उम्रिएको हातझैँ बनाएको छ । नगर विकासशील छ, तर विकास अव्यवस्थित छ । यहांका अधिकांश घरका प्रायः बाथरुमका झ्यालमा लाज छोप्ने झिनो पर्दा पनि हुँदैन । 

 

शहरमा नाला बनेका छैनन्, तर नदी पुरिएका छन् । असारश्रावनमा भेल बोकेर ल्याउने वागमती र विष्णुमती पुलले मात्र छुट्टिन्छन् । नत्र दुवै नदी टुकुचा बनिसकेका छन् । दश वर्षपछि जन्मिने बच्चाले आफ्नो बाबुसँग ‘यसलाई किन वागमती अञ्चल भनेको ड्याड रु’ भनेर सोध्यो भने वागमती भनेको यही हो भनेर देखाउने घेरो पनि र≈यो भने राम्रै हुनेछ ।

 

अन्ततिर नदीतीरमा सभ्यता बस्दछ, हामी कहाँ नदीतीरको सभ्यता नाशिन्छ । कसैले गलत भनेका छन्– काठमाडौं समृद्धिको टापु हो । काठमाडौं भाडाको कोट लगाएर पार्टीमा जान्छ, निःशुल्क मधुपान गरेर मात्तिन्छ र सडक, पेटी, सुकुल र कुर्सी जहाँ मन लाग्यो, त्यही लडिदिन्छ । खान पाउनेका घरमा पालिएका भोका कुकुर सम्साँझै सिक्रीबाट उम्किन्छन् र रातभर भुकेर बिहान मालिक सँगसँगै मर्निङ वाकमा जान्छन् । त्यसैले

 

शहरका समृद्ध टोलतिर आठबजेउप्रान्त हिड्न मनाही छ । ‘कुकुरदेखि सावधान’ को बोर्ड आठ बजेपछि अदृश्य हुन्छ । कर्मचारीको हुल काम सकेर निस्कनेबित्तिकै साँझ पर्छ । दिन आवश्यकताका फारम किन्न दौडिँदादौडिँदै सकिएपछि बेरोजगारहरूको भीड नयाँसडकमा जम्मा हुन्छ । पिपलको फेदमा ज्ञान प्राप्त गर्ने बौद्ध परम्परा शहरले छोडेको छैन । नयाँसडकको पिपलबोटमुनि प्रकाशित र अप्रकाशित खबर पाइन्छन्, खल्तीमा पैसा छ भने दिनभरको दौडधुपमा खिइएका जुत्ता रङ्गाउन पाइन्छ, साथीभाइ–इष्टमित्रले भर्खरै लोकसेवाको जा“च जितेका छन् र महिनाको प्रारम्भ छ भने रेस्टुरा“को मेचमा ज्यान छाडेर बस्न पनि पाइन्छ । 

 

दुई शहरसँग अन्तरनगर बस सेवा नौ बजेसम्म चले पनि काठमाडौंको आफ्नै आन्तरिक सेवाको भर छैन । सात बजेपछि बस बाँसवारी जादैन । ड्राइभर–कन्डक्टर पनि सुरक्षा खोज्छन् ।

 

बस गौशाला जाँदैन, बौद्ध जाँदैन, जोरपाटी जाँदैन, टङ्गाल जाँदैन । साढे सात बजे बस ग्यारेज जान्छ– बस त्यत्ति हो । एक–एक एघार– केटाकेटीमा पहाडा घोक्नुभएको छ र गोडामा तागत छ भने लम्किनुहोस्,शहर तपाईहरुसँगै लम्किनेछ । खल्तीमा पैसा छ भने मिटरवाला ट्याक्सीसँग बार्गेन गर्न थाल्नुहोस्, सात बजेपछि ट्राफिक नियम पनि घर जान्छ । अझ शहरको सुझाव छ– खल्तीमा अड्कलेको पैसा लिएर ट्याक्सी नचढ्नुहोस् । अचेल काठमाडौंमा मिटरहरू मुक्त छन्, नियन्त्रणबाट एकदमै मुक्त ।

 

यो काठमाडौं, हाम्रो काठमाडौंमा तपाईँले एक–एक एघारको पहाडा घोक्नु भएको छैन, खल्तीमा पैसा छैन र गोडामा तागत छैन भने रात तपाईँको आफ्नै हो ।अचेल संस्कृति पशुपति मन्दिर वा भजन–कोठीमा होइन, नयाँसडक वरपरका बार र मासंगल्लीमा बिउँझन्छ । काठमाडौंका सुसंस्कृत लेखक, भावुक कवि, आहत प्रेमी, बुज्रुक राजनीतिज्ञ ओहोदावाल कर्मचारी साँझ शहरको एकनासे संगीतलाई तोड्छन् । सडकको बत्ती नबले पनि काठमाडौंमा साँझ कतै ब्याट्रीले, कतै जेनेरेटरले र कतै स्टोभले उज्यालो हुन्छ । 

 

यहाँको निम्नमध्यम वर्ग नयाँसडकमा सामान हेर्छ, असनमा बार्गेन गर्छ र रत्नपार्कको फुटपाथमा त्यो सामान किनेर दङ्ग पर्छ । पसले औकात थाहा पाउन खप्पिस भइसकेको छ ।
उसलाई थाहा छ– कस्तो ढङ्गको मानिसले कस्तो सामान लिन्छ । कुनै पनि नयाँ तरकारी–सिजनको प्रारम्भमा पसलेसँग तरकारीको मोल सोध्दा ‘तपाई किन्न सक्नुहुन्न’ भन्दा व्यङ्ग्य सहने आदत शहरको विशेषता हो । वास्तवमा, शहर सहनशील छ । काठमाडौं सहनशीलमात्र होइन, सन्तोषी पनि छ । 

 

दिनचर्यालाई दिनका हिसाबले बाँड्दा प्रत्येक साप्ताहिक बिदा र आकस्मिक बिदा शहरमा पप्लु चल्छ । पप्लु पपुलर छ । कतिका श्रीमतीजीहरू श्रीमान् अफिस हिडेपछि दूध र तरकारी खर्च बढाउन र गुमाउन लाग्छन् । ठीक त्यसैगरी, जसरी काठमाडौ आफ्ना पारम्परिक विशेषता गुमाउँदैछ र नयाँ विशेषता बढाउँदैछ । 

 

काठमाडौं अदबेस्रो छ । तराईमा पाइने त्यो सर्प जस्तै, जुन न गोमन हो, न धामन । शहर आधुनिक छ, तर पुरानो छ । आइमाईहरू बसको भीडमा घुस्रिन्छन् र मानिसको नियतमा शङ्का गर्छन् । लोग्नेमानिसहरू भीडमा ठेलमठेल गर्छन् र कुनै सहयात्रीको हातले शरीर छोयो मात्र भने पनि उसको इमानमा शङ्का गर्छन् । 

 

मञ्जुश्रीले खड्ग प्रहार गरेर, दलदल मासेर बसाएको यो शहर अब आफैं एउटा दलदल भएको छ । सिमेन्ट, अलकत्रा र फोहोरको दलदल । शहरको वातावरण विचित्रको छ र तापमान असमान छ । गर्मी ३२ डिसेसम्म पुगेका बेला पनि काठमाडौ“का कहिल्यै घाम नछिर्ने गल्ली र चोकमा चिसो उम्रेर ताताजुले दोलाई छाड्न सकिनन् । काठमाडौंका प्रायः सबै यस्ता घरको रक्षा गर्ने एकमात्र देउता भीमसेन मूल ढोकासँगैको खोपामा बसेर अछेता–पानी खान्छन् । काठमाडौंमा यस्ता घर के छन्, धराप छन् । 

 

शहर क्वाँटी भएको छ । यहाँका आधुनिकाहरू हुर्केको छोरालाई तरकारी बोकाएर परिचितहरूसँग भन्छन्— कान्छा हो । युवकयुवती सिनेमाको हिरो र हिरोइनलाई इष्टदेव मान्छन् । आफ्नो तरकारी बोक्न इज्जत जान्छ, तर हाकिमको झोला बोक्दा गौरव बढ्छ । छोराछोरी उसिना चामलको भात खान्छन् र अंग्रेजी स्कुलमा पढ्छन् । 

 

यो काठमाडौं, हाम्रो काठमाडौं, यति भएर पनि विशाल छ । दुनियाँका ठूला शहरभन्दा विशाल छ, यदि विशालता न्यानोपनमा हुन्छ भने । आफ्ना तमाम कमजोरी भएर पनि काठमाडौं जीवित शहर हो । यहाँको पानीको मिठास र घामको मीठो ताप, यहाँ मानिसहरूसँग ठोकिनु र सडकहरूमा ठेस लाग्नु । न कोलाहल छ, न शून्य । एउटा हात्ती मतापले हिँडेझैँ मानिस बग्छन्, उर्लिँदैनन् । 

 

काठमाडौं इतिहासका प्रचण्ड थप्पड सहेर पाको भएको छ र भर्खर पहाडबाट झरेकी ग्रामीण बालाले गरेको मेकअप कत्ति नसुहाएझैँ नसुहाउँदो ढङ्गले आधुनिक भएको छ । बिचरा काठमाडौं बसाइँ सर्ने र राजधानी पस्नेका पसिनाले निथु्रक्क भिजेको छ । विदेशी अत्तरको गन्धले आजित भएको छ । 

 

काठमाडौं तनावग्रस्त छ । अधेरो छिडीमा बलेको जिरो वाटको गुलुपको अपर्याप्त प्रकाशमा काठमाडौंको निधारमा चाउरी नदेखिए पनि अनुभव गर्न सकिन्छ । मानिसले पैसाको लोभमा गति छाडेकाले रोजै अर्थव्यवस्थालाई बिगार्ने एयरपोर्टभन्सारका बरामदी सामानको संख्यात्मक वृद्धि र उत्ताउला आँखाका नग्नताले काठमाडौं दुःखी छ । काठमाडौं दुःखीमात्र होइन, पीडित पनि छ । उसको यो आत्मपीडा बुझ्न भत्किन लागेका मन्दिर, धस्किन लागेका पाटी, खिइन लागेका मूर्ति, हराउन लागेका टुँडाललाई हेर्नुपर्छ । काठमाडौं आफैंमा असहाय छ । लाग्छ– यो शहर निस्तेज हुंदै गइरहेको छ । 

 

करले वा बाध्यताले, काठमाडौं आफ्नो छातीमा सबैलाई स्वागत गर्छ : लसकुस, स्वागतम् । झोँछे, वसन्तपुर र ठमेलका गल्लीमा टाउको चर्किने गाँजाका निषेधित गन्धमा रङमङिन्छ काठमाडौं । होइन भने विशाल बजारका विशाल दोकानवरिपरि निरीहभावले ठिङ्ङ उभिन्छ काठमाडौं । मानिसको बिग्रेको रुचि देखेर काठमाडौं जिल्ल पर्छ । आफूलाई त्यो विकृतिसँग जोडेकोमा खिन्न हुन्छ । बिचरा काठमाडौं ।

 

शहरियाको मनोवृत्तिगत कमजोरीले गर्दा अपहेलित हुनुपर्ने शहर भएको छ यो । तैपनि, यो काठमाडौं, हाम्रो काठमाडौं हिसी परेको समुद्रजस्तै छ । यसभित्र मन लागेसम्म डुब्नुस्, नभेट्टिने गरी हराउनुस्, असीम मायाले लुटपुटिनुस्, काठमाडौंको स्नेहिल स्पर्शले तपाई मुग्ध हुनुहुनेछ ।

 

चिटिक्क परेको कोठाझैँ सुविधासम्पन्न छ काठमाडौं । दुई दिन यो सँग रिसाएर विश्वका मेट्रोपोलिटन र कस्मोपोलिटन शहर चहारेपछि काठमाडौं, आफ्नै काठमाडौं सोच्नुहोस्, त्यसबेला थाहा हुनेछ यसको आत्मीयता । 

 

अखबारमा ओभरब्रिजको समाचार सुनेर नआत्तिनोस् । काठमाडौ“को अधिकतम भीड हुने बजार असनमा साइकल हा“क्न विशेष कौशल र शीप चाहिंदैन । न काठमाडौं दुर्घटनाद्वारा ग्रस्त रहने शहर नै हो, न हो दुस्साहसीहरू मडारिइरहने शहर नै । दुनियाँका अन्य राजधानीलाई हेरेर यहाँ दुर्घटना र दुस्साहसको प्रतिशत शून्यबाट केही तलै ओर्लेको छैन भन्न नसकिने कुनै आधार छैन । 

 

हाम्रो शहरले अधिकतम मानवताको संघार नाघेको छैन । बाटो बिरँउनुभयो रु तपाईँको गन्तव्यसम्म पु¥याउन पाएर काठमाडौँ हर्षित हुन्छ । हामीकहाँ ‘नो, आई डन्ट नो’ को चलन छैन । हामीकहाँ शहीदढोका र रत्नपार्क छिचल्नेले बाँकी शहर नदेख्ने प्रचलन छैन । 

 

तिर्खाउनु भएको छ रु काठमाडौं ढलौटको कलात्मक करुवामा पानी लिएर ढोकामा हाजिर छ । चिसो पानीका लागि फ्रिज खोल्नुपर्दैन, हिमाल हामीबाट टाढा छैन । काठमाडौं न निर्मम छ, न निर्मोही । भ्याएसम्म काम र पुगेसम्म छाना सबैलाई बाँड्छ । काठमाडौं, हाम्रो काठमाडौं तपाइर्ल यसलाई चिन्नुभन्दा पहिले ऊ तपाईलाई चिन्छ । तपाईको प्रतिभालाई काठमाडौले स्वर र स्वरूप दिन्छ । 

 

यो काठमाडौं, हाम्रो काठमाडौं, हामी आफ्ना सम्पूर्ण विवेक र अस्तित्व उसको काखमा सुम्पेर ढुक्क छौं । हामी हाम्रो शहरलाई माया गर्छौं र शहर हामीलाई माया गर्छ ।

जनकपुर टुडे

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार