• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
अन्तर्वार्ता

दोहरी ब्याटल देखि ‘बोल माया’ सम्म आइपुग्दा

अहिले युटुयुब च्यानलमा गायक प्रकाश सपुतको ‘बोल माया एक वचन बोल’ को भिडियोले धेरै नै चर्चा कमाइरहेको छ  । यो भिडियो अहिले युटयुबको ट्रेन्डिङमा पनि अगाडि रहेको छ  । गीतले बैदेशिक रोजगारीमा जाने नेपाली युवाको पिडालाई समेटेको छ जुन एकदमै बियोगान्त छ । यसैको सेरोफेरोमा  रचनाकार, संगीतकार र भिडियो निर्देशक प्रकाश सपुतसँग फ्रेश न्युज नेपालले केही  कुराकानी गरेको थियो । पढौं कुराकानीको सार : 

 

के सोचेर यो गीत बनाउनु भयो ?
हरेक बर्ष जस्तै अहिले पनि नेपाली युवाहरु बिदेशीने क्रम रोकिएको छैन । विदेशले आर्थिक रुपमा सबल बनाए पनि यसले दिने पिडा र मर्म झनै कहाली लाग्दो छ । मलाई नजिकका आफन्त नै गुमाएको पिडा महशुस भएको थियो । गाउँमा विदेश गएका युवाहरुको लाश आएको देखिरहेको हुन्थें । काठमाडौमा भएकै बेला आफन्तहरुको लाश लिन म नै विमानस्थल पुग्ने गर्थे । ती घटना, चित्कारहरु देखेपछि मलाई केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो । त्यसैले मैले हरेक दिन गाउँमा देख्दै आएको समस्यालाई गीत–संगीत मार्फत ल्याउ भन्ने सोचर यो गीतको निर्माण गरेको हुँ ।

 

तपाई अहिले हरेक युवाहरुको मनमा बस्नुभएको छ, बच्चा देखी वृद्ध उमेरका सम्मले तपाइको गीत सुन्छन्  । यसको जादु के हो ? 
हामीमा  युवाहरुले लोक गीत सुन्दैनन् भन्ने जुन भ्रम थियो त्यो अहिले शतप्रतिशत झुट सावित भएको छ । युवाहरुले पनि लोक भाकाहरु सुन्छन, मन पराउँछन भन्ने महशुस भएको छ । केहि समय अघि ‘मुसुक्क हाँस’ भन्ने एल्बम निकालेको थिए त्यसले पनि चर्चा पाएको थियो । पछिल्लो समय मेरा दुईवटा सिर्जनाहरु दर्शक र स्रोताहरुले अत्यधिक मन पराउनु भयो ।

 

फरक–फरक गीतहरु गाईरहँदा मनमा कस्ता विचारहरु आउँछन् ?
‘दोहरी ब्याटल’ गर्दा एक हिसावले खुसीका भावहरु रमाइलो अनुभूति भएको थियो । ‘बोलमाया’ गीत गर्दा म आफैले पनि मलाई सम्हाल्न सकिन । मनै भारी भयो । यतिसम्म भयो कि यस गीतको भिडियोमा म आफै खेलेको पनि छु । मृत शरीर बनेर (कफिन) बक्समा पल्टीदा मेरो आमाले आफूलाई सम्हाल्न सक्नुभएन । सबैलाई निकै पिडा भयो । अबका दिनमा यस्ता गीत भन्दा खुसी र सफलताका गीतहरु गाउन पाइयोस भन्ने लागेको छ ।

 

तपाई त  विदेश जाने सोचले राजधानी छिर्नु भएको हैन र ?
मेरो मनमा पहिला देखि नै नेपालमै केहि गर्नुपर्छ भन्ने थियो । गीत गाइरहेकै थिए तर स्थापित हुन सकेको थिइन । प्लस टु सम्मको अध्ययन सकेको थिए । केही बर्ष रेडियोमा पनि काम गरे । परिवार आफन्त सबैले विदेश जाने सल्लाह दिनुभयो । बागलुङ देखि काठमाडौं आए । म्यानपावरमा कागजपत्र पनि बुझाए तर उमेर सानो भयो । म्यानपावरले कामको भिजामा जान सक्दैंनौ भन्यो । 

 

जे भयो, त्यो समयमा भिजा नलागेको राम्रो भयो हैन त ?
अहिले ठिकै भएछ भन्ने लाग्छ । त्यसपछिको समय मैले गायनमा नै दिए । काम गर्दै जाँदा राम्रो पनि भयो । गीतहरु सबैले रुचाइदिनु भयो । मेरो रुची भएकै क्षेत्रमा समय दिन पाउँदा खुसी छु । पहिले जुन बेला मैले काम गर्न जाने निर्णय गरेर काठमाडौं आएको थिए, पछि त्यहि देशमा गायन कै लागि गए तर म त्यहाँ धेरै समय बस्न सकिन । आफ्नै देश फर्के ।

 

तपाइको यो पेशाबाट घर परिवार खुसी छन् त ?
मेरो आमा–बुबालाई अहिले पनि मेरो काम खासै मन परेको छैन् । किनभने यो क्षेत्र आर्थिक रुपमा बलियो छैन् । गीतले चर्चा पाउँदा, कार्यक्रमहरु गर्न पाइयो भने पैसा हुन्छ, होइन भने भरै हुँदैन ।

 

‘बोल माया’ ले यति धेरैं चर्चा पाउँछ जस्तो लागेको थियो ?
नेपालका लाखौ युवा अहिले पनि रोजगारका लागि विभिन्न देशमा कार्यरत छन् । यो गीत पनि आम नेपालीको कथासँग जोडिएको भएर चर्चा पाउँछ भन्ने चाही लागेको थियो, तर यती छोटो अवधीमा जुन किसिमको  दर्शक स्रोता यसले पायो यसले मलाई थप जिम्मेवार भएर नयाँ गीत सँगीतको सिर्जना गर्न प्रेरणा दियो ।

 

अबको सोच के छ ?
अझै राम्रो गीतहरु बनाउनु पर्छ भन्ने एउटा जिम्मेवारी महशुस भएको छ । म सँग त्यस्तो जादुको छडी त छैन् तर पनि राम्रो गीत बनाउने प्रयास जारी छ । गीत संगीत राम्रो भयो भने दर्शक स्रोताले मन पराउनु हुन्छ भन्ने उद्दाहरण यी गीतहरुले पनि महशुस भएको छ ।

 

राम्रा गीत भन्नु भयो ? तपाईको अनुभवमा गीत राम्रो बन्नलाई के चाहिने रहेछ ?
म पनि यो क्षेत्रमा सिक्ने क्रममा नै छु । सबै कुरा काम गर्दै जादाँ थाहा हुनेरहेछ । मुख्य त लोक भाकाहरुको सन्र्दभमा भन्दा स्थानीय परिवेश, समाजमा भएका घटना र पात्रहरुका बारेमा अध्ययन गरेर गीत बनाउन सकियो भने त्यसले सबैको मन छुन्छ भन्ने लाग्छ ।

 

नेपालमा गायन क्षेत्रमा लागेर बाच्न सकिन्छ त ?
यो अहिले पनि मेरो लागि चुनौती नै हो  । नेपालको बजार सानो छ । स्रोता दर्शक थोरै भएको हुँदा हामी कलाकारहरुलाई पनि कठिन छ । गीतले चर्चा पायो भने केहि रकम हात पर्छ । गीत संगीतबाट पैसा नै कमाउने भनेको त उस्तै हो तर बिभिन्न जिल्लाहरुमा गरिने महोत्सव र बिदेशमा हुने कार्यक्रमहरुले केही राहत भने दिएको छ ।  

 

प्रस्तुति : देवी सापकोटा 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार