• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
फेशन

व्यक्तित्व उघार्दै बुटिक

फ्रेसन्युज संवाददाता, काठमाडौं । घरको चार दिवालभित्र खुम्चिएर बस्नु पर्ने उमेर । तर, कलकलाउँदो रहर ! कतिपय बैंस भएकाहरूमा पनि नदेखिने उत्साह र जाँगर उनको अर्को नाम भन्दा हुन्छ । त्यसैपरे लौरो टेकेर हिँँड्नुपर्ने उमेरका भारतीय नागरिक शहनाजको रहर अझै दह्रो मात्र होइन कलकलाउँदो छ । उनको फेसनप्रतिको सचेतना र आकर्षक व्यक्तित्व प्रतिको चेतनमा कत्ति पनि कमी आएको छैन ।

 

६५ पार गरेर ६६ टेकेकी शहनाज ललितपुर कुपन्डोलस्थित एक बुटिकमा आफ्नो रूचि अनुसार कपडा तयार पार्दै थिइन । उनले भनिन, ‘लामो मिड्डी भए पनि रङ्ग र बुट्टाको संयोजन आकर्षक हुनुपर्छ ।’ शहनाज मात्र होइन, हिँजोआज फेशनप्रति लालायित हुनेहरूको संख्या बढ्दो छ । महिलाको मात्र नभएर पुरूषको पनि संलग्नता बाक्लिदै गएको छ ,फेसनप्रति । उमेरले डाँडो काट्दै गरेका रामभक्त सइजु पनि अचेल फेसनप्रति बढी नै सचेत देखिन्छन् । उमेर ६३ पार गरे पनि पर्सनालिटी नै समयको माग भएको उनले राम्ररी अजमाएका छन् । उनले भने,‘यो अचेलको समयको एउटा योग्यता पर्सनालिटी पनि हो ।’

 

‘शरीर ढाक्न मात्रै हो भने त जस्तोसुकै कपडा लगाए पनि भयो,’ पछिल्ला केही वर्ष यता राजधानीमा बुटिक र फेशन व्यवसाय च्याउ जस्तै गरि उम्रने क्रम बढेको छ । व्यवसायीहरू भन्छन् ‘अब राम्रो देखिन श्रृङ्गार र आकर्षक पहिरन अनिवार्य नै भैसक्यो ।’ आकर्षक देखिन को चाहँदैन र ? रूप र यौवनप्रति चिन्तित हुनेको संख्या दिन–प्रतिदिन बढ्दो छ । बदलिएको रूचिका कारण बुटिक व्यवसाय फस्टाउन मदत पुगेको बताउँछिन् योर स्टयालिस बुटिक की सँचालक उषा खड्की ।  उनी भन्छिन् ,हरेकको रूची अनुसार पोशाक तयार पार्ने अनि पाइने उचित थलो बनेको छ बुटिक । 'नेपाली समाज पनि पोशाक र डिजाइन प्रति सचेत हुँदै गएको छ । समयको आवश्यकतालाई बुझ्नु सकारात्मक पक्ष हो तर विभिन्न कारणहरूले हामी पनि पीडित बनेका छौं,’ उषाले भनिन । 

 

रेडिमेड कपडाले नेपाली बजारमा स्थान पाएको धेरै पहिले हो । अहिले आएर बुटिकको विस्तारसँगै फेशन संस्कृतिमा परिवर्तनमा आइरहेको प्रति फेम फेशन की शिला श्रेष्ठ भन्छिन्,‘रूचि अनुसारको फेसन, बुट्टा, रङ्ग र आकारको संयोजन हुने भएकाले बुटिक प्रति आकर्षण बढेको हो ।’ बजारिया लुगाकै दरमा बुटिकले अझ आकर्षक डिजाइन पनि दिने भए पछि यो व्यवसाय उकालो लाग्दै गरेको अनुभव बुटिक संचालकहरूको छ । उनीहरू भन्छन्,‘हिँजोका दिनमा गाउँघरका दर्जीलाई शहरिया ‘टेलरहरू’ले छाँयामा पारे, अब जमाना बुटिकको हो ।’

 

बुटिकको उत्पादन केही महँगो हुने भए पनि खरिद गर्नै नसकिने भने नभएको भन्छिन सेबेज बुटिककी मिना तुलाचन । राजधानीको एक कम्पनीमा कार्यरत् सबिता र निरु पनि मिनाको भनाइमा सहमति जनाउँछन् ।  ‘थोरै पैसाको तल माथि मात्रै हो, आँखिर पहिरनमा पनि त मजै छ नि, पर्सनालिटी पनि गजबकै देखिन्छ, दुई पैसाका लागि किन पछि हट्नु ?’ उनले बुटिकमा नेपालीपनको आवश्यकतालाई भने औल्याइन, भनिन,‘नेपाली मौलिक पहिरनलाई पनि बुटिककर्मीले आधुनिकीकरण गर्न सके मुलुक बाहिर पनि यसले बजार पाउने थियो । नेपाली परम्पराको पहिचान पनि ।’

 

बुटिक प्रतिको मोह बढ्दै गएको कुरा यसका उपभोक्ताको संख्या विस्तारले पनि पुष्टि गर्दै लगेको छ ।  विगतमा शहरीय उच्च वर्ग मात्रै ग्राहक रहेका बुटिक कर्मीले पछिल्लो समयमा आएर निम्न मध्यम वर्र्गीयलाई आफ्ना ग्राहकको रूपमा पाउन थालेका छन् । व्यवसाय सिता भन्छिन,‘ दुई पैसा थपेरै भए पनि अलि राम्रै लगाउँन भन्ने भावनाको विस्तार हुँदै गएको छ । हिँजोसम्म हामीकहाँ नआउनेहरू अहिले हाम्रा ग्राहक बनेका छन् ।  गर्मी मौसममा विक्री हुने बुटिक कपडा जाडाको कपडा भन्दा सस्ता हुने गरेको व्यवसायीहरू बताउँछन् ।

 

सस्तो र हल्का हुने भएकाले गर्मीयाममा बुटिक कै हल्का लुगा लगाउने चाहना बढ्दै गएको व्यवसायीहरूको अनुभव छ । बुटिकमा आइपुगेका लैनचोर की ग्राहक सारिका शर्माले आफू लामो समयदेखि बुटिक फेशनकै ग्राहक रहेको बताइन । उनले भनिन्,‘कुरा उस्तै हो । अलि महँगो भए पनि यसमा आकर्षण पनि त छ, मान्छेले झट्ट हेर्दा आकर्षक व्यक्तित्व नै खोज्छ । त्यसका लागि सहयोगि भनेको बुटिक नै हो ।’

 

रूची अनुसार कपडा तयार गर्ने उनको बुटिकमा अधिकांस महिलाको भीड बढी देख्न सकिन्छ । तर अलि ट्राफिक ब्यवस्थापनको समस्या भने परेको छ । यसले पनि बुटिकमा असर गरेको छ । संगठित हुन नसके पनि राजधानी र अन्य शहरमा गरी करिब दुई सय बुटिक खुलिसकेको सीताको अनुमान छ ।

 

केही समय अघिसम्म काठमाडौंमा मात्रै प्रचलनमा आएको बुटिक व्यवसाय अहिले सबै प्रदेशका प्रमुख शहरमा हाँगा फिजाउँदै गएको छ । यसले पनि नेपाली समाज बुटिक फेसन प्रति आकर्षित बन्दै गएको देखिन्छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार