• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

दर्शकको मागपछि नाटक 'जोखना' को समयअवधी थपियो

काठमाडौं । वियस राईको कथा तथा किरण चाम्लिङ राईको निर्देशन रहेको नाटक 'जोखना' को पुन एकहप्ता मञ्चन थप गरिएको छ ।

 

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भएको यस नाटकको डिमान्ड दिनाउदिन बढ्दै गएपछि नाटकको अवधी थप गर्नु परेको नाटकका निर्देशक किरण चाम्लिङ राईले बताए । उनले भने, नाटक हेर्न आउनुभएका धेरै दर्शकहरु टिकट नपाएर फर्किनु भएको हुनाले उहाँहरुको लागि भए पनि हामीले नाटकको समयअवधी थपेका हौं । 

 

दशवर्षे द्वन्द्वकालको समयमा आफ्नो श्रीमान गाउँबाट हराए पछि एउटी महिलाले भोग्नुपरेको घटनाक्रमको संक्षिप्त र मर्मस्पर्शी कथा हो नाटक 'जोखना' । मानिस हराएको घटनाले कसरी कसैमाथि मानसिक तनाव सिर्जना हुन्छ र त्यसका असरहरू कति गहिरोसँग निर्माण हुन्छन् भन्ने कुरा नाटकमा सुष्म ढंगले देखाइएको छ ।

 

सांस्कृतिक संस्कारको पृष्ठभूमिमा निर्मित यस नाटकले वर्तमान नेपाली युवाहरूको आम अवस्थालाई पनि नियालेको छ । यो नाटक केवल धनसुवाको नियतिको ऐना मात्रै होइन, द्वन्द्वको त्रासदीको अनेकौँ गाथाहरूको प्रतिनिधि बयान पनि हो ।

 

राजन मुकारुङको नाट्य रुपान्तरण रहेको नाटकमा संगीता थापा, रूपेश लामा, मानहाङ लावती, अनिल सुब्बा, पवित्रा राई, निशा पाख्रिन, कवि राई, सुदर्शन क्षेत्री, दिवान रसाइली र मणि के. राईको अभिनय रहेको छ । नाटक बैशाख ८ गतेसम्म मञ्चन गरिने भनिएता पनि दर्शकको चाहनाले गर्दा नाटक पुन बैशाख १५ गतेसम्म मञ्चन हुने भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार