• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
विचार

एक असल उत्प्रेरकको देहवसान

समुदायको विकासका लागि सबैभन्दा महत्वपूर्ण औजार उत्प्रेरणा हो । उत्प्रेरणाले सर्बप्रथम व्यक्तिहरुमा आफैभित्र रहेको अविश्वासलाई हटाउन मद्दत गर्दछ । उत्प्रेरणाले आफु भित्रको हीनतालाई पहिचान गर्न मद्दत गर्दछ । उत्प्रेरणाले निराशावादी मनोवृत्तिलाई चिर्न मद्दत पुग्दछ । 

 

मृगको नाभीमा कस्तुरी हुन्छ तर मृगले त्यसलाई बोध गर्न सक्दैन र मृग भौतारिएको हुन्छ । हरेक मानिससँग स्वयं आफैमा क्षमता लुकेको हुन्छ । तर मानिसले आफु भित्र लुकेको आफ्नो क्षमतालाई बुझ्न नसकेर पीडित भइरहेको हुन्छ । जीवनयापनका लागि अपनाउनु पर्ने आफु भित्रको क्षमतालाई ठीक ढँगले सदुपयोग गर्न नसकेर अन्योलमा रहेको हुन्छ । यही अवधारणालाई आत्मसाथ गरेका एकजना कुशल उत्प्रेरक डोरानाथ न्यौपानेको केहि दिन अघि निधन भयो । उनी ग्रामीण विकासको समुदाय तहमा काम गर्ने कुशल कार्यकर्ता मात्रै थिएनन । समुदाय तहमा काम गर्ने कार्यकर्ताहरुलाई उत्प्रेरित गर्ने कुशल उत्प्रेरक पनि थिए । 

 

डोरनाथ न्यौपानेले अपनाएका कार्यशैली र उनले दिने उत्प्रेरणाकाबारेमा यतिवेला चर्चा गर्नु उनीप्रतिको सच्चाई हुन्छ भन्ने लाग्दछ । उनको बारेमा गरिने चर्चाले ग्रामीण क्षेत्रमा रहेर काम गर्न चाहने कार्यकर्ताहरुका लागि पनि उपयोगी हुनसक्दछ । आउनुहोस डोरनाथले अपनाएका कार्यशैलीबाट उनीलाई स्मरण गरौं । 

 

२०४१ सालमा “विपत्रद्वारा विपत्रको स्वावलम्बी विकास कार्यक्रम” ग्रामीण क्षेत्रको गरिबी कम गर्ने उपयुक्त मार्गका रुपमा डाक्टर देवेन्द्रराज पाण्डेले कार्यमूलक अनुसन्धानका रुपमा (पाइलटिङ्ग) पाल्पा जिल्लाको झडेवाबाट थालनी गरेका थिए । पहिलो पटक गाउँमा खटाएका कार्यकर्ताबाट सफलता पाउन नसकेपछि  कार्यकर्ताका रुपमा डोरनाथ न्यौपानेलाई खटाएका हुन । डोरनाथ न्यौपानेले डाक्टर पाण्डेको सोंचलाई आत्मसाथ गर्न सफल भए । उनको लगनशीलता र परिश्रमले स्वावलम्बन अवधारणालाई समुदाय तहमा स्थापित गर्न सफलता मिल्यो । 

 

झडेवा वगालकोे वस्ती २०४१ सालमा दलित र अछुत भनिएका समुदायको वस्ती थियो । आर्थिक, सामाजिक हरेक दृष्टिले अत्यन्तै पछाडी परेको गाउँ थियो त्यो  । डोरनाथले पनि वगालेमा काम गर्दा एकैपटकमा सफलता पाएका होइनन ।

 

उनले अपनाएको कार्यशैलीलाई समुदाय सापेक्षित बनाउँदै लगेपछि मात्रै सफलता पाएका हुन । उनी सुरुको केही महिना वगाले गाउँभन्दा अलि टाढा झडेवाको सदरमुकाम रेदी गाउँमा डेरा गरेर बसे । रेदीमा बस्दा झडेवाको किसान माध्यमिक विद्यालयमा पढाउने शिक्षकहरुसँगै बसे । अनि वगालेमा काम गर्न प्रयास गरे । शिक्षकसँग बस्दाको फाइदा विभित्र विषयमा छलफल गर्न र जनसम्पर्कका लागि सजिलो थियो । खान–बस्नको लागि पनि सुविधा थियो । तर रेदीको बसाइले स्वावलम्बन कार्यक्रमका लागि लक्षित गरिएका वगालेका किसानसँग भने घुलमिल हुन कठिन भयो । 

 

रेदीबाट आते–जाते गर्दा वगालेका किसानहरु नियमित सम्पर्क त हुन्थ्यो । तर यसप्रकारको भेटघाट केवल औपचारिकतामा सिमित जस्तो भयो । वगालेका किसानले डोरनाथसँग घुलमिल गर्न आनाकानी गरेको उनले महसुस गरे । किनभने उनीहरुले डोरनाथलाई आफ्ना मनका पीडा, दुख, वेदनाहरुलाई सुनाउन चाहेनन । केवल औपचारिकतामा मात्रै रहन खोजे । किनभने किसानले विभित्र कार्यालयबाट जाने जुनकुनै कर्मचारीलाई पनि हाकिम साहेव भनेर जान्दथे । हाकिम साहेवहरु गाउँमा आफ्नो जागिरको काम विशेषले आउँछन अनि जान्छन, उनीहरुलाई नमस्कार अभिवादन गर्नुपर्छ, उनीहरु गरिबको गाउँमा बस्दैनन, खान–बस्न सुविधा हुने ठाउँमा हुने–खानेहरु भएको गाउँमा जान्छन, किनभने गरिबकहाँ बस्नुपर्‍यो धेरै गाह्रो–अप्ठ्यारो हुन्छ, राम«ो खानाको व्यवस्था हुँदैन, सुत्ने  ठाउँको व्यवस्था हुँदैन भत्रे मान्यता किसानहरुको थियो । सहरबाट हाकिमहरुले ल्याउने विकास पनि अलि हुने–खाने बस्ने गाउँका लागि नै भन्ने ठान्दथे । हुनपनि बाहिरबाट गएका कर्मचारीहरुका लागि बस्ने, खाने राम्रो प्रबन्ध हुन्थ्यो त्यही विकासका योजना लागू भएका देखिन्थे ।

 

विगत देखिका यस्तै अनुभवलेगर्दा डोरनाथलाई पनि सुरुको समयमा हाकिम साहेवलाई जस्तै व्यवहार गरे । यो कुरा बुझेपछि डोरनाथले आफ्नो दैनिकीमा परिवर्तन ल्याए । रेदी फाँटको बसाई डेरालाई सारेर वगालेमा ल्याए । उनले विहान, साँझ, दिउँसो जतिवेला पनि हरपल किसानसँग घर–दैलो गर्दै भेट–घाट गर्न थाले । किसानलाई एउटै परिवार भित्रको सदस्यले गर्ने ब्यवहार गर्न सुरु गरे । हरेक दिन किसानको घर–घर जाने, उमेर अनुसारको मर्यादा गर्ने, नाता साइनो लगाएर कुरा गर्ने, आफुभन्दा ठूलालाई आदर गर्ने, सानोलाई माया गर्ने उनको आचरण थियो । उपेक्षित दलित भएकोमा कुनैपनि प्रकारले हिनताबोध नहोस भन्नेमा डोरनाथ सचेत थिए । जस्तोसुकै मैलो–धैलो भएपनि पिढी, मटानमा अनुमति मागेर बस्थे । महिलालाई आमा, भाउजु, दिदी, बहिनी, छोरीको (उमेर अवस्था अनुसार) साइने लगाएर आदर गर्दथे । उनीहरुसँग पानी मागेर पिउने, उनीहरुको घरमा पाकेको रोटी मकै जे छ मागेर खाने गर्दथे ।   

 

डोरनाथले महिलाहरुसँग पानी माग्दा, रोटी मकै माग्दा आनाकानी गरेका थिए । दिन मानिरहेका थिएनन । डोरनाथले महिलाहरुलाई धेरै सम्झाए–बुझाए । तपाइहरु अछुत होइन, मानिस कोही पनि छुत, अछुत हुँदैन, सबैको काम, पेशा मात्रै फरक–फरक छन । काम, पेशा अलग हुँदैमा कोही पनि छुत अथवा अछुत हुँदैन । पेशा, व्यवसाय भनेको जीवन जीउने कला हो । पेशामा कुनै विभेद हुँदैन भनेर पटक–पटक बुझाए । त्यसरी सम्झाएपछि पनि बडो असजिलो मानेर पानी दिएका थिए । लगातार समान ब्यावहार पाएपछि अनि सजिलो गरी पानी दिन राजी हुन थाले । किसानका व्यक्तिगत सुख–दुःख बुझ्ने, सञ्चो–विसन्चो सोध्ने र विमारी रहेछन भने औषधी के गर्नु भएको भनेर बुझ्ने डोरनाथको बानी थियो । आफुसँग कुनै प्राथमिक उपचारका औषधी साथमा राख्दथे । अनि जानेका औषधी दिन्थे पनि । 

 

डोरनाथले किसानको विश्वास जितेपछि अझ घुलमिल हुन थाले । घरमा खान–लाउनका लागि आम्दानीको स«ोत के छ, खेत–बारी के कति छ, भनेर बुझ्ने, छोरा–छोरी कति जना छन, कति उमेरका भए, काम गर्न सक्ने भए के काम गर्छन ? बालबालिका स्कुल जान्छन कि जाँदैनन ? हुर्किएका छोराहरु विदेश गएका छन भने कहाँ गएका छन ? कस्तो नोकरी गरेका छन ? घरमा सहयोग गरेका छन कि छैनन ?  खेतीपातीको अवस्था कस्तो रह्यो ? बारीमा मकै सँगै के लगाउनु भएको छ भनेर जानकारी लिन  थाले । यसप्रकारले सबै विषयमा बुझ्न र दैनिक सरोकारका विषयमा चासो राख्न थालेपछि किसानहरु खुशी हुन थाले । दलितहरु भनेर सबैबाट उपेक्षा गरिएका परिवारको घरमा पाकेको मिठो–नमिठो जुनसुकै कुरालाई पनि श्रद्धापूर्वक खान थालेपछि किसानहरु आत्म–विभोर भए । यही शैलीलेगर्दा डोरनाथसँग किसानहरु नजिक भए । 

 

यसरी किसानको विश्वास आर्जन भएपछि मात्रै डोरनाथले परिवर्तनको कुरा गर्न थाले । उनले किसानलाई सुरुमा विना पैसा परिवर्तन गर्न सकिने कुराहरुलाई सम्झाउन, बुझाउन सुरु गरे । उनले विना पैसाको परिवर्तनको सुरुवात गर्दा किसानको घरमा फोहोर देखेपछि खै कुचो कहाँ होला भनेर कुचो आफैले समाएर सफा गर्ने र किसानलाई प्रश्न गर्दथे यसमा त पैसा लाग्दैन नि हैन र भनेर सम्झाउने गर्दथे । डोरनाथले कुचो लगाएको देखेपछि घरमा भएका महिला, पुरुष लाज मान्दै हामी आफै कुचो लगाउँछौ हजुरले किन दुःख गरेको ? यो त हाम्रो आफ्नै काम हो नी भनेर घरको सर–सफाई किसान आफैले जिम्मा लिन सुरु गरेका हुन्थे । बालबालिकाको नाकमा सिंगान देखेपछि डनेरनाथले सिंगान पुछिदिन्थे । पानी मागेर मुख पनि सफा गरिदिन्थे । यस्तो ब्यवहार देखेपछि अभिभावक स्वयंले बालबालिको सरसफाईमा ध्यान दिन थालेका हुन्थे । अलि उमेर पुगेका बालबालिकालाई सरसफाई गर्न प्रेरित गर्नका लागि उनले नयाँ तरिका अपनाएका थिए ।

 

उनले चकलेट दिन्छु, तर अहिले होइन, नुहाएपछि, लौ हिंड मसँग पँधेरामा (गाउँमा कुवालाई पधेरो भनिन्छ) नुहाउन भनेर बालबालिकालाई प्रेरित गर्दथे । नुहाएपछि चकलेट खाँदै रमाउने ती बालबालिकाले केही समयको अभ्यास पछि आफै नुहाउन सुरु गरेका हुन्थे । अनि तिनै बालबालिकालाई आफ्नो व्यक्तिगत सरसफाइको साथै घर–आँगन र बाटो सरसफाई गर्न अभिप्रेरित गरे । बालबालिकासँगै साथमा रहेर गाउँको बाटो सफाई गरे । त्यतिवेला वगालेका कुनै पनि घरमा चर्पी थिएन । आफै श्रममा खटेर किसानलाई सुरक्षित खाल्टे चर्पी बनाउन सिकाए । सुंगुर छाडा भएकोले बाटोमा र वरिपरी जताततै सुंगुरको दिशा थियो । उक्त दिसा हटाउनका लागि बैठक बोलाएर सबैलाई साथमा लगेर बाटोमा थुप्रिको दिसा उठाएर डोको (ढाकर) मा राखेर आफैले बोकेर लैजान खोजे । तर किसानले दिएनन । किसानले आफैले सुंगुरको दिसालाई जम्मा पारेर बारीमा लगेर फ्याँके । सबैको सहभागितामा यसप्रकारको प्रयास भएपछि बाटोमा यत्र–तत्र फैलिएको सुंगुरको दिसा हट्न थाल्यो । यसरी पैसाको लगानी विनाका विकासको थालनी गरेका थिए डोरनाथले ।  

 

किसानको विश्वास आर्जन गरेपछि अनि आयआर्जनका व्यावहारिक संभावनाकाबारेमा छलफल  गर्नथाले ।  किसानलाई राम्रो जातको बीउ लगाएमा बारीमा मकै अहिलेको भन्दा धेरै फल्छ । त्यसैले  राम्रो बीउ लगाउन सम्झाए । बारीमा मकैका साथमा फल्ने अरु वालीहरु पनि लगाउँदा एउटै मिहिनेतले हुन्छ थप आम्दानी लिन मिल्छ भनेर त्यस किसिमको वाली के–के हुन भनेर सम्झाए ।

 

बारीमा एक वाली मात्रै लगाउने चलनलाई बदल्नु पर्छ भन्दै मकै बाहेक तरकारी, नगदेवालीहरु लगाउनका लागि उत्प्रेरणा दिए । काठमाण्डौ देखि र यदाकदा तानसेन, बुटवलबाट आफैले उत्रत जातका अत्र वालीका बीउ, नगदेवालीका बीउ, तरकारीका बीउ लगिदिन थाले । लगाउने तरिका सिकाइदिन थाले । खेत जग्गाको तयारी कसरी गर्ने, नर्सरी कसरी गर्ने सबै कुरामा आफै खटेर सिकाए ।

 

उनी आफू पनि किसान परिवारको भएको र दधिकोटमा उन्नत विधिले खेती गरेका अनुभवलेगर्दा उनलाई सिकाउनका कुनै समस्या रहेन । झडेवाको फाँटलाई उपयुक्त हुने धानका जात भनेर चाइनुङ्ग २४२ जात, खुमल ४, खुमल २ लगायतका धानको बीउ काठमाण्डौबाट ल्याइदिए । त्यतिवेला यि कुनैपनि जातका वीउ थिएनन गाउँमा । फाँटमा धानको व्याड बीउ राख्ने समयमा पानीको लागि सिचाइ थिएन । पानीको अभाव धुलेबीउ राख्ने तरिका सिकए । फलफूलका विरुवा रोप्नलाई प्रोत्साहित गरे । रौतहट, चितवन, तानसेन वागवानी, कृषि विकास कार्यालय जाहाँ हुन्छ आफै गएर विरुवाको वन्दोवस्त गरिदिन्थे ।  

 

वगालेका विश्वकर्माहरुसँग पुरानो पुख्र्यौली फलाम–तामाको काम गर्ने सीप थियो । घरको दैनिकी चलाउने जोहको अभावले गर्दा उक्त सीप उपयोगमा ल्याएका थिएनन । उद्योग चलाउनका लागि दिएको लगानीको पैसालाई खाइमासेर सक्छन की भत्रे पनि थियो । मुलधनलाई खाई नमासुन भनेर तामा, फलामको कच्चा पदार्थ खरीद गर्न उनीहरुलाई साथमा लिएर डोरनाथ आफै तानसेन वा बुटवल जाने गर्थे । जसलेगर्दा मुलधन मास्ने आँट गरेनन । उनीहरुमा इमान्दारिता देखिएपछि अनि पुरै जिम्मा दिए । उद्यमीहरुले कच्चा पदार्थबाट छिटो–छिटो उत्पादन गरेर बिक्रि गरिहाल्नु भनेर तामा, फलामको भाँडा बनाउने एकप्रकारको स्वस्थ प्रतिस्पर्धा नै चलाएका थिए । उद्यमीहरुका बीचमा । कतिको मिहिनेत गरेका छन भनेर भाँडा बनाउने आरन भएको ठाउँमा रातको समयमा समेत गएर निरिक्षण गर्थे डोरनाथले ।रातीको समयमा काममा खटिरहेका किसानलाई अनेक पौराणिक कथाहरु सुनाएर काममा प्रोत्साहित गर्थे । उनले किसानको घरमा पानी बाहेक सित्तैमा केही खाएनन । किसान कहाँ केही कुरा खाएमा त्यसको मुल्य चुकाउने गर्थे । किसानसँग रहेर काम गर्ने हुनाले उनले सकेसम्म लगाउने कपडा साधारण खालका प्रयोग गर्थे । भड्किला प्रयोग गरेनन । घरेलुको झोला हरदम उनको साथमा हुन्थ्यो । त्यो झोलामा मौसम अनुसारका तरकारीका बीउहरु, प्राथमिक उपचारका औषधी, डायरी, कलम र टर्चलाइट हुन्थ्यो । 

 

उनले आफ्नो जिम्माको कामलाई जागिरकोरुपमा हेरेनन । मेरो काम ८ घण्टा हो, शनिवार त विदा हो, किन काम गर्ने भनेर कहिले पनि हेरेनन । हरेक दिन विहान देखि वेलुका सम्म लगातार किसानको लागि नै व्यस्त हुन्थे । कुनै विषयमा गहिरोगरी तल्लिन भएर लागेको अभियन्ताले आफ्नो अभियानलाई सफल बनाउन जसरी संघर्ष गर्दछ डोरनाथले गरेको संघर्ष पनि त्यो भन्दा कम रहेन । डोरनाथले आफूलाई सामाजिक उत्प्रेरकका रुपमा परिचय गराउन सफल भए । 

 

डोरनाथले अपनाएको यसप्रकारको कार्यशैलीबाट त्यहाँका किसान मात्र हैन, शिक्षकहरु, बुद्धिजीवि जो कोही पनि नतमस्तक थिए । सबैले डोरनाथको कार्यशैलीलाई मुक्त कंठले प्रशंसा पनि गर्दथे । झडेवामा मात्र होइन की बाहिरबाट झडेवा आउने, जाने गर्नेहरुले पनि डोरनाथको कार्यशैलीको बारेमा प्रशंसा गर्दथे । यसप्रकारको कार्यशैली गाउँमा परिवर्तन ल्याउन सफल औजार बन्यो । समुदायलाई विश्वासमा लिन, समुदायलाई कार्यक्रमको अपनत्व बोध गराउन र सफल ढँगले परिचालन गराई उद्देश्य हासिल गर्नमा डोरनाथले अपनाएको कार्यशैली विकासका लागि महत्वपूर्ण सफल औजार हो । 

 

लामो समय ग्रामीण क्षेत्रको समुदाय तहको विकासमा संलग्न रहेका एक असल व्यक्तित्व भक्तपुर दधिकोटका डोरनाथ न्यौपानेको ६२ वर्षको अल्पायु उमेरमानै गत वैशाख ५ गते असामयिक निधन भयो । उनको निधनबाट ग्रामीण विकासमा संलग्न संघ–संस्था, व्यक्ति र सिङ्गो मुलुकलाई क्षति पुगेको छ । मुलुकलाई समृद्धिको दिशामा लैजानका लागि उनले अपनाएको कार्यशैली महत्वपूर्ण औजार बन्न सक्दछ । स्वर्गीय डोरनाथको आत्माले शान्ति पाउन हार्दिक श्रद्धाञ्जली । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार