• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

भारतको १२ राज्यमा दोस्रो चरणको मतदान सुरु

नयाँ दिल्ली । भारतमा आज लोकसभा चुनावको दोस्रो चरणमा  १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशमा निर्वाचन हुँदैछ। बिहीबारको मतदानले कूल ९५ स्थानका लागि उम्मेदवारहरुको भाग्य निर्धारण गर्नेछ । 

 

आसाम, बिहार, छत्तीसगढ, जम्मू-काश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका विभिन्न निर्वाचन केन्द्रहरुमा मतदान जारी छ। यो चरणमा तमिलनाडु सहित १२ राज्य र एक केन्द्रशासित प्रदेशमा १६ करोड मानिस मतदानका लागि योग्य छन्।

 

तमिलनाडुको भेल्लोर मतदान केन्द्रमा भने निर्वाचन स्थगित गरिएको छ। चुनाव आयोगको सिफारिसमा राष्ट्रपतिले सो स्थानको चुनाव रद्द गरेका हुन् । डिएमके पार्टीका नेताबाट ११ करोड नगद बरामद भएपछि चुनाव आयोगले राष्ट्रपति रामनाथ कोविन्दलाई चुनाव रद्द गर्न सिफारिस गरेको थियो । चुनाव आयोगले मतदातालाई प्रभावित गर्न नगद बाँडिएको पुष्टि भएपछि निर्वाचन स्थगित गर्नुपरेको जनाएको छ।

 

आयोगले भेल्लोर लोकसभा चुनाव बाहेकका आज अम्बुर र गुदियत्तम विधानसभा क्षेत्रमा भने तोकिएकै कार्यक्रमअनुसार निर्वाचन हुनेछ। त्रिपुरामा एक स्थानका  आजै चुनाव हुनुपर्ने थियो तर, कानुनी  कारण देखिएकोले  सो क्षेत्रको पनि चुनाव रद्द गरिएको छ। यसकारण पनि दोस्रो चरणमा कूल ९५ सिटका लागि निर्वाचन भइरहेको आयोगले जनाएको छ।

 

संसद्को तल्लो सदन लोकसभाका लागि भएको यो निर्वाचन अन्तर्गत मे १९ तारिखसम्म सात चरणमा मतदान हुनेछ। सबैतिर मतदान सकिएपछि मतगणना २३ तारिखमा सुरु हुनेछ प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि निर्वाचित हुन खोजिरहेका छन्। यो निर्वाचनलाई उनका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार