• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

धान धितो राखेर रु ५५ हजार ऋण सापटी

बुटवल । बुटवल उपमहानगरपालिका– १८ पोखराबारीका कृषक विष्णु गाहाले ३५ क्विन्टल धान धितो राखेर रु ५५ हजार ऋण सापटी लिए । उनले आफूले धानको मूल्य आउनासाथ बिक्री गरेर ऋण तिर्ने सोच बनाएका छन् ।
 
त्यस्तै सोही वडा दुबौलीका शोभाकान्त अर्यालले २५ क्विन्टल धान धितो राखेर रु ४० हजार ऋण लिएका छन् ।

 

 अर्का पोखराबारीकै ओमनारायण थारूले ३० क्विन्टल धान धितो राखेर रु ५० हजार ऋण लिए । उक्त ऋणवापत सबैले आफूले उत्पादन गरेको धान धितो राखेको ऋण लगानीकर्ता सिम्रिक सहकारी संस्थाका व्यवस्थापक खिमानन्द पाण्डेले बताए ।

 

पहिले धान उठाउँदाउठाउँदै खलोबाट सस्तोमा बिक्री गर्नुपर्ने बाध्यतामा रहेका कृषकले उपमहानगरपालिकाले शुरु गरेको धान धितो राखी कृषकलाई ऋण लगानी गर्ने कार्यक्रमबाट फाइदा लिएका छन् । किसानले यो कार्यक्रमबाट लाभ मिलेको बताउँदै उपमहानगरपालिकालाई निरन्तरता दिन आग्रह पनि गरेका छन् ।

 

बाली लगाउँदा लागेको ऋण तिर्न एवं घरायसी खर्चका लागि अति न्यून मूल्यमा खलोबाटै धान बिक्री गर्न बाध्य किसान अहिले धान धितो कार्यक्रमले धेरै राहत भएका बताएका छन् ।


 आफूले उत्पादन गरेको धान सहकारी संस्थामा धितो राखी सहकारी संस्थाको नियमानुसार ऋण लिने र पछि धानको बजार मूल्य राम्रो भएको बेलामा सहकारी संस्थाले कृषकका सबै धान बिक्री गरी वा कुटानी गरी आफूले पाउनुपर्ने साँवाब्याज सेवाशुल्क आदि असुल गरेर बाँकी रकम किसानलाई उपलब्ध गराउने गरी यो नयाँ कार्यक्रम सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।


 
‘सहकारी संस्थामा धानबाली धितो राखी ऋण दिनेबारेको कार्यविधि २०७५’ बमोजिम उपमहानगरपालिका र वडा नं १७ मा रहेको सिम्रिक सहकारी संस्थासँग गत वर्ष सम्झौता भएको थियो । यस कार्यक्रमबाट पहिलो चरणमा १३५ किसानले प्रत्यक्ष फाइदा लिएका छन् । 

 

पहिलो चरणको कार्यक्रममा पाँच हजार क्विन्टल धान धितोका रुपमा आएको सहकारीका अध्यक्ष गणेशबहादुर गाहाले जानकारी दिए । किसानले धान रोपेको र काटेको खेतालाको ज्यालाको पनि ऋण लिने गरेका छन् ।रासस


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार