• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

विकिलिक्स : यी हुन् संसार हल्लाउने पाँच खुलासा

अमेरिका र अन्य देशका गोप्य दस्ताबेज इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका एक संस्थापक जुलिअन असान्जलाई उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट बिहीबार गिरफ्तार गरियो।

 

सतचालीस वर्षीय असान्जले सन् २०१२ देखि उक्त राजदूतावासमा शरण लिँदै आएका थिए। असान्जले अमेरिकी नागरिक चेल्सी म्यानिङसँग मिलेर आफ्नो देशको रक्षा मन्त्रालयको कम्प्युटरमा रहेको गोप्य जानकारी प्राप्त गर्ने षड्यन्त्र गरेको अमेरिकाले आरोप लगाएको छ।

 

विकिलिक्स सन् २००६ मा सञ्चालनमा आएको हो। चलचित्र उद्योगदेखि राष्ट्रिय सुरक्षासम्मका विषयमा गोप्य जानकारी प्रकाशन गर्ने हुँदा सो वेबसाइट निकै चर्चित मानिन्छ।

 

हेलिकप्टर आक्रमण
सन् २०१० मा विकिलिक्सले प्रकाशन गरेको एउटा भिडिओमा अमेरिकाको सैन्य हेलिकप्टरले इराकको राजधानी बगदादमा सर्वसाधारणलाई मारेको दृश्य छ।
हेलिकप्टरभित्रबाट खिचिएको सो भिडिओमा पाइलटलाई सबैलाई मार्न निर्देशन दिइएको पनि सुनिन्छ।

 

हेलिकप्टरबाट आक्रमण गर्दै सडकमा रहेका सर्वसाधारणलाई समेत मारेको देख्न सकिन्छ। घाइतेहरूलाई उद्धार गर्न आएको एउटा भ्यानलाई समेत आक्रमण गरिएको छ। उक्त घटनामा रोएटर्स समाचार एजेन्सीका दुई फोटो पत्रकार पनि मारिएका थिए।

 

अमेरिकी सेनाको गोप्य सूचना
अमेरिकी सेनामा गोप्य सूचना विश्लेषकका रूपमा कार्यरत चेल्सी म्यानिङले दिएका सयौँ दस्ताबेज विकिलिक्सले प्रकाशन गरेको छ।

 

त्यसमध्ये एउटा दस्ताबेजले अफगानिस्तानमा अमेरिकी सेनाले सयौँ सर्वसाधारणलाई कसरी मारेको थियो भन्ने उल्लेख छ। अन्य दस्ताबेजमा इराकमा भन्ठानिएकोभन्दा निकै ठूलो सङ्ख्यामा झन्डै ६० हजार सर्वसाधारण मारिएको उल्लेख छ।

 

उक्त दस्ताबेजले इराकी सेनाले बन्दीहरूलाई यातना दिएको समेत पुष्टि गरेको छ। प्रकाशन गरिएको दस्ताबेजमा अमेरिकी कूटनीतिज्ञहरूले पठाएका दुई लाख ५० हजारभन्दा बढी सन्देश समाविष्ट थिए। उक्त सन्देशले अमेरिकाले संयुक्त राष्ट्रसङ्घका प्रमुख अधिकारीहरूको ुबायोग्राफिक र बायोमेट्रिकु सूचना, डीएनएको नमुना र औँठाछाप पनि सङ्कलन गर्न चाहेको खुलासा गरिदिएको थियो।

 

९ र ११ का बेला पेजर सन्देश
विकिलिक्सले अमेरिकामा सन् २००१ मा सेप्टेम्बर ११ मा भएको आतङ्कवादी आक्रमणका बेला पेजरबाट आदानप्रदान भएका झन्डै पाँच लाख ७३ हजार सन्देश प्रकाशन गरेको थियो।उक्त सन्देशमा सर्वसाधारणले आफ्ना परिवारको सोधखोजदेखि सो ९र११ आतङ्कवादी हमलाबारे सरकारी निकायहरूको प्रतिक्रियाको विस्तृत विवरण पनि थिए । 'राष्ट्रपतिको यात्रा पुनर्विचार गरिएको छ। उनी वाशिङ्टन फर्किनेछैनन्। तर कहाँ जाने भन्ने निश्चित छैन,' एउटा सन्देशमा उल्लेख गरिएको छ।

 

डेमोक्र्याट इमेल
सन् २०१६ मा विकिलिक्सले अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार हिलरी क्लिन्टनका चुनावप्रचारक जोन पोडेस्टाको अकाउन्ट ह्याक गरेर हजारौँ इमेल प्रकाशन गर्‍यो।

 

एउटा इमेलमा पोडेस्टाले अर्का डेमोक्र्याट उम्मेदवार बर्नी स्यान्डर्सलाई 'मूर्ख' भनेका थिए। त्यस्तै सीएनएनमा हुने बहसमा सोधिने प्रश्नबारे क्लिन्टनलाई पहिले नै थाहा दिइएको समेत इमेलमा रहेका सूचनाले सङ्केत गर्छन्।

 

ती इमेलहरू सार्वजनिक भएको समयबारे विचार गर्दा क्लिन्टनलाई बदनाम गर्ने नियत विकिलिक्सको रहेको आरोप लागेको थियो। सन् २००८ मा उक्त वेबसाइटले रिपब्लिकन उम्मेदवार सेरा पालिनको याहू इमेल अकाउन्टको विवरण प्रकाशन गरेको थियो।

 

सोनी पिक्चर्स ह्याक
सन् २०१५ मा विकिलिक्सले चलचित्र कम्पनी सोनी पिक्चर्सको एक लाख ७० हजार इमेल र २० हजारभन्दा बढी दस्ताबेज प्रकाशन गरेको थियो।

 

उत्तर कोरियामाथि व्यङ्ग्य गरिएको एउटा चलचित्र प्रदर्शनमा ल्याउनुअघि उक्त कम्पनी साइबर हमलामा परेको थियो। इमेलले अमेरिकन हसल नाम गरेको चलचित्रमा पुरुष कलाकारहरूको तुलनामा अभिनेत्रीद्वय जेनिफर लरेन्स र एमी एडम्सले कम पारिश्रमिक पाएको खुलासा गरिदिएको थियो।

 

एन्जेलिना जोलीजस्ता कलाकारको पनि अपमान भएको खुलासा भएको थियो। सोनी पिक्चर्सले निर्माण गर्न लागेको चलचित्र अस्वीकार गरेको भन्दै लिओनार्दो डिक्याप्रियोलाई अपमानजनक शब्द प्रयोग गरिएको इमेलले देखाएको थियो। बहुराष्ट्रिय कम्पनीको कार्यशैली र भूराजनीतिक सङ्घर्षबारे थाहा पाउन सकिने हुँदा असान्जले उक्त खुलासा सर्वसाधारणको हितमा रहेको दाबी गर्ने गरेका छन्।बीबीसी
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार