• शुक्रबार १-६-२०७६/Friday 04-19-2019
रंगमञ्च

‘अहिले चलचित्रलाई रंगमञ्चले धानेको छ’

काठमाडौं । धरानबाट रंगमञ्चको यात्रा शुरु गरेकी पशुपति राईलाई अहिले रंगमञ्चमा नचिन्ने कमै छन् । राई रंगमञ्चमा प्रवेश गरेको  १४ वर्ष भइसकेको छ । नृत्यमा रुची राख्ने राई अभिनय यात्रामा रमाउन थालिन । तीन दर्जन बढी नाटकहरुमा उनले अभिनय गरीसकेकी छन् । रंगमञ्च यात्राका बारेमा फ्रेसन्युज नेपालले उनीसँग गरेको यो कुराकानी : 
 

व्यस्तता
अहिले एउटा सर्ट मुभिको वर्कसपमा व्यस्त छु । त्यसैको तयारी भइरहेको छ । अर्को बच्चाहरुलाई वर्कसप दिनका लागी अछाम जाने तयारीमा छु । अहिलेको व्यस्तता भनेको यही नै हो । 
 

 

रंगमञ्चको सुरुवात
म रंगमञ्चमा २०६१ साल देखि प्रवेश गरेकी हुँ । त्यसभन्दा अघि धरानमा हुँदा मैले रंगमञ्चमा केही कामहरु गरेकी थिए । रंगमञ्चमा पुर्ण रुपले लागको आज १४ वर्ष जति भयो । 
 

 

रंगमञ्चको अनुभव 
रंगमञ्चमा प्रवेश गर्दा गाह्रो हो तर यसलाई बुझदै जाँदा सजिलो हुन्छ । मलाई सुरुवाती दिनमा रंगमञ्च प्रवेश गर्दा केही गाह्रो भएको थियो तर बिस्तारै बिस्तारै यसलाई बुझ्दै गए र यसमा रमाउन थाले । अहिले पनि कामको हिसाबले रंगमञ्चमा चुनौती नै छ । काम भनेको काम हुन्छ चाहे त्यो अहिलेको होस् या पहिलाको । अहिले रंगमञ्च अलि व्यवस्थीत भएको छ । आर्थिक हिसाबले थोरै भए पनि माथी उठे्को छ । रंगमञ्चमा अहिले धेरै परिवर्तनहरु भएका छन् । 
 

 

रंगमञ्चमा प्रवेश
म धरानको स्कुलमा हुने कार्यक्रमहरुमा डान्स गर्थे । त्यहाँ एउटा पुरानो संस्था अनाम नाट्य जमात,  थियो जहाँ म एकजना कर्ण सुनावर भन्ने दाईको माध्यमबाट आवद्ध हुन पुगे । अनाममा संगीत, नाट्य र अन्य कुराहरु पनि हुन्थे । त्यहाँ म डान्सको विभागमा छिरेकी थिए । त्यहाँका दाईहरु नाटकमा एकदमै चर्चित हुनुहुन्थ्यो, पुर्वमा सबैले चिन्ने । दाईहरुले नै मलाई सडक नाटक र अन्य त्यहाँ आयोजना हुने कार्यक्रमहरुमा लिएर जान थाल्नुभयो । त्यहि क्रममा उहाँहरुसँग काम गर्दा गर्दै मेरो रंगमञ्चको यात्रा सुरु भयो ।    
 

 

पहिलो नाटक 
मैले अभिनय गरेको पहिलो नाटक ‘अघोशित’ हो जुन मैले स्टेजमा पहिलोपटक अभिनय गरेकी थिए । त्यो नाटक मैले अनाम नाट्य जमातमा गरेको नाटक थियो । त्यसमा मेरो सानो भूमिका भएपनि त्यसबाट नै मलाई सबैले चिन्न थाले । मैले मौरीको भुमिका गरेकी थिए । यसरी नै दुईवर्ष मैले त्यहि काम गरे । यता काठमाडौंमा पनि गुरुकुल स्थापना हुँदैथियो । गुरुकुलले पनि दोस्रो व्याचका बिद्यार्थीहरु कुरिरहेका रहेछ । गुरुकुलबाट यसपटक उपत्यका बाहिरबाट पनि बिद्यार्थी लिने बिचार गरेको भनेर अनाममा खबर आयो । त्यहि क्रममा अनामबाट मलाई गुरुकुलमा पठाउने निर्णय गरियो । त्यसले म भित्र खुशीको बिजारोपण भयो । गुरुकुलमा म नृत्य सिक्न पुगेकी थिए तर त्यहाँबाट मैले नृत्य भन्दा नाटकको बारेमा बुझ्ने अवसर पाए ।   

 

पहिले र अहिलेको नाटक
नाटक बिगतको तुलनामा फरक ढंगबाट अघी बढ्दै छ । मैले नाटक सुरु गर्दा ‘नाटक पनि सिक्ने, पढ्ने विषय हो र ?’ भन्ने पनि लाग्थ्यो । त्यतिबेला हामीहरुले नाटक पढ्दा हामी प्रति मान्छेहरुको हेर्ने दृष्टिकोण फरक थियो । मान्छेहरुले हामीलाई काम के गर्नुहुन्छ भनेर सोध्दा हामीले नाटक गर्छौ भन्थ्यौं । तर हामीले भनेको नबुझेर हो या जिस्काउनलाई उहाँहरुले हामीलाई पुन काम के गर्नुहुन्छ भनेर सोध्नु हुन्थ्यो । अहिले मान्छेहरुमा नाटक बारे जान्ने कौतहलता बडेको छ । नाटकको कक्षा भर्ना हुन आउँदा मान्छेहरु सोध्दछन्, के हुन्छ कति महिनाको कोर्ष हुन्छ । अहिले रंगमञ्च राम्रो छ । रंगमञ्चमा दर्शकहरु छरिएका छन् । यसमा कमाइ हुन थालेको छ ।  यो हामी रंगकर्मीहरुको लागी राम्रो पक्ष हो । रंगमञ्चमा भएका नाटकहरुलाई अहिले खोजी–खोजी हेरिन्छ । अहिले धेरैले नाटकको भाषा बुझन थालेका छन् ।
 

 

नाटकबाट आम्दानी 
यसमा धेरै नै त होइन तर म काठमाडौंमा स्थापित भएकी छु । मैले एकदमै धेरै कमाएको छैन र  मोजमस्तीमा हिडेकी पनि छैन । आफुलाई पुगेको छ । म सन्तुष्ट छु । रंगमञ्चमा लागेपछि मैले अरु काम गर्नु परेको छैन । मेरो जीवन चलेको छ ।
 

 

मिडियामा कम देखिनु 
यो एकदमै सहि हो । म मिडियामा कम नै देखिन रुचाउँछु । यसको कारण, मिडियामा मैले आफनो कुरा अरुलाई सजिलै बुझाउन नसक्नुले पनि हो कि जस्तो लाग्छ । म बोल्नमा भन्दा आफ्नो काममा बढी ध्यान दिन रुचाउँछु । सायद यही कारणले होला म मिडियामा कम देखिएकी । मलाई मिडियामा देखिरहन रहर छैन । 
 

 

गुरुकुल पछि मण्डला 
म मण्डलामा संस्थागत हिसाबले आवद्ध होइन तर कामको हिसाबले भने आवद्ध छु । एकसमय गुरुकुलले आयोजना गरेको अन्तिम अन्तर्राष्ट्रिय नाट्य फेस्टिवल मण्डलामा नै भएको थियो । यो हिसाबले पनि म मण्डलामा धेरै देखिएको भने अवश्य हो । आत्मियताको हिसाबले सुरुदेखि मण्डलासँग जोडिएको कारणले पनि एकदमै नजिक छु । मेरा नजिकका धेरै साथीहरु पनि यही छन् । हामीले सुरुमा नाटक पनि यही आएर गर्यौं, त्यो हिसाबले पनि मण्डलासंग मेरो आत्मियता छ ।  


चलचित्रमा अभिनय
एकदमै थोरै । मैले तीनवटा चलचित्रमा अभिनय गरेकी छु । कब्बडी, कब्बडी–कब्बडी र चटकोल । चटकोल हलमा चल्न पाएन तर अन्तरर्राष्ट्रिय चलचित्र फेस्टिवलहरुमा प्रदर्शन भयो । 


 

चलचित्रमा मुख्य भुमिका 
मैले चलचित्रमा मुख्य भुमिका नपाउनुमा सायद मेरो खुबीले नै होला । चलचित्रका निर्देशक/निर्माताहरुले म भित्र हुनुपर्ने मुख्य भुमिकामा आवश्यक खुबीहरु देख्नुभएन होला । चलचित्रमा मुख्य भुमिकामा अभिनय गर्नको लागी शरिर मिलेको, ग्ल्यामर लुक भएको हुनुपर्छ । त्यो म भित्र नभएको पनि हुनसक्छ । अहिले पनि चलचित्रमा नायिकाहरु बारे सोच्ने पुरानै मानसिकता कायम छ । निर्देशक÷निर्माताहरुको कुरा गर्ने शैली परिवर्तन भएको छ तर अझै पनि उहाँहरुको सोचमा परिवर्तन आएको छैन । उहाँहरुको सोच नायिका भनेको ३४–२४–३६ साइज भएको हुनुपर्छ भन्ने छ ।  कला  भन्दा पनि ग्ल्यामर खोज्छ नेपालको सिने जगतले । सायद मुख्य भुमिकामा म नअटाएको पनि यही कारणहरुले हुनसक्छ । 
 

 

चलचित्र र नाटकमा फरक 
चलचित्र र नाटकमा प्रविधीको मात्र फरक छ । चलचित्रमा अलि चर्को प्रस्तुति हुन्छ भने नाटकमा त्यो भन्दा अलि कम हुन्छ । तर चलचित्र र नाटकमा जुन भावनाहरु प्रस्तुत गरिन्छ त्यो फरक हुँदैन । मैले नाटकमा जुन भावना देखाउँछु त्यही कुरा मैले चलचित्रमा पनि प्रस्तुत गर्न सक्छु । त्यसमा कुनै पनि भिन्नता हुँदैन । 

 

रंगमञ्चबाट टिकेको चलचित्र 
अहिले चलचित्रमा दर्शकहरु कथा भन्दा पनि कलाकारलाई बडि हेर्ने गर्छन । सामाजिक रुपमा हेर्ने हो भने दर्शकहरु कुन कलाकारले अभिनय गरको छ भन्ने कुरातिर जान थालेका छन् । यो सबै जमाना अनुसार परिर्तवन भएको हो । यसमा यो भन्दा फरक पर्दैन कि अहिले चलत्रिचलाई रंगमञ्चले नै धानेको छ । 

 

 

नाटक निर्देशनमा युवा
यो सबैको स्वतन्त्र बिचार हो । हामीले कसैलाई यो नगर त्यो नगर भन्न मिल्दैन । यती हो कि नाटक सिकेर निर्देशन गर्दा धेरै कुराहरु बुझिन्छ । कुनै ज्ञानबिना नै निर्देशन गरेको नाटक चल्छ भन्ने चाँहि होइन ।अहिले सबै कुराको सुविधा छ । कोही म नाटक निर्देशन गर्छु भनेर आउँछ भने उसलाई हामीले तिम्रो निर्देशन गर्ने बेला भएको छैन भन्न मिल्दैन तर उसले नाटकको बारे केही ज्ञानहरु सिक्न भने जरुरी हुन्छ । 

 

प्रस्तुति : सुकृत नेपाल


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार