• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

काविमोको उपन्यास 'फातसुङ' सार्वजनिक

काठमाडौं । नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको उपन्यास फातसुङ सार्वजनिक भएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, युवा लेखक भूषिता वशिष्ठ र उपन्यासकार काविमोले सार्वजनिक गरे । भाषाका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूभिमा उपन्यासको कथा बुनिएको छ । काविमोले नेपाली भाषाका लागि सन् २०१८ को युवा अकादमी पुरस्कार प्राप्त गरेका छन् ।

 

कार्यक्रममा वशिष्ठले पुस्तकले आफ्नो बाल्यकाल सम्झाएको बताइन् । उनले भाषा जातीयताको पहिचान रहेको र फातसुङले त्यसलाई प्रस्ट्याउने उनको भनाइ छ । त्यसले मात्र क्रान्ति गर्न सक्छन्, जोसँग पेट छैन भन्ने दृष्टिकोणलाई समेत पुस्तकले उजागर गर्न खोजेको उनले बताइन् । पुस्तकमा ठेट भाषाले महत्व पाएको छ । भाषामा समृद्धिका लागि फातसुङ जस्ता पुस्तकले महत्वपूर्ण योगदान दिन सक्ने उनले बताइन् । यसले लोकभाषालाई जीवन्त राख्न पनि सघाउने उनको भनाइ छ । यो पुस्तकले त्यस्तो कथा बोक्छ, जसले धारा १४४ र गाउँमा आउने धाराको फरकपन छुट्याउन सक्दैनन्, उनले भनिन् ।

 

अर्को वक्ता संग्रौलाले सानो कलेवरमा आएको यो पुस्तकले धेरै ठूलो कथा बोकेको बताए । साथै दार्जिलिङको माटोको कथालाई जीवन्त रुपमा देखाएको उनको भनाइ छ । लेखक काविमोले उपन्यासको पृष्ठभूमिबारे भने, “फातसुङ दार्जिलिङको कथा हो । १९८६ मा पहिलो पटक अलग राज्यको माग गर्दै दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन भएको थियो । त्यस आन्दोलनमा सयौं मान्छे मारिए । त्योभन्दा ठूलो कुरा हजारौं मान्छेको सपना भत्काइयो । फातसुङ त्यही सपनाहरुको कथा हो । १९८८ सालमा गोर्खाल्यान्ड आन्दोलन दार्जिलिङ गोर्खा हिल काउन्सिलसँगको सम्झौतामा पुगेर टुंगियो, त्यसपछि जुन राजनीतिक संस्कार दार्जिलिङमा सुरू भयो, त्यो निकै भयानक छ अनि म त्यही राजनीतिक संस्कारबीच हुर्किएको मान्छे हुँ । यो कथा त्यही समाजको कथा हो ।

 

प्रकाशक अजित बरालले भने, 'काविमोको लेखन शैली यति विशिष्ट, यति पृथक छ कि फातसुङको पहिला दुईपेज पढ्ने बित्तिकै अति उत्साहित भएर मैले लेखकलाई फोन गरेको थिएँ र भनेको थिएँ, ‘उपन्यास राम्रो होला जस्तो छ ! ’ अनि पछि पढ्दै गएपछि त कायलै भएको थिएँ । मलाई लाग्छ, यो उपन्यासले नेपालीभाषी भारतीय लेखकहरुको पुस्तक प्रति हाम्रो रुचि जगाउनेछ ।'
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार