• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

एसईई प्रश्नपत्रमा त्रुटि नै त्रुटि

काठमाडौ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो ।

 

एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो । बोर्डले ७ वटै प्रदेशका लागि अनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाट परीक्षा लिएको छ ।

 

प्रदेश ३ कोे नेपालीको प्रश्नपत्रमा विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा बढी प्रश्न सोधिएको छ । प्रश्न नम्बर ७ मा ४ वटा प्रश्नको मात्रै उत्तर दिए पुग्नेमा ५ वटा प्रश्न राखिएपछि धेरै विद्यार्थी झुक्किएका छन् । कतिपय ठाउँमा भाषागत त्रुटि पनि छन् ।

 

आइतबार अंग्रेजीको प्रश्नपत्रमा पनि त्रुटि भेटिएको थियो । कर्णाली र गण्डकी प्रदेशका लागि सोधिएका प्रश्नपत्रको ९ नम्बरमा व्याकरणगत त्रुटि छ । प्रश्न दिइएको छ तर के जवाफ दिने भनिएको छैन । प्रत्यक्ष वाक्यलाई अप्रत्यक्षमा रूपान्तरण गर्न निर्देशन दिइएको प्रश्नमा वाक्य नै प्रत्यक्ष छ ।

 


शब्दचयनमा समेत अशुद्धि भेटिएको छ । ‘अंग्रेजी विषयको प्रश्नपत्रमा स्पेलिङ गलत छ,’ त्रिवि अंग्रेजी विभागका प्राध्यापक प्रेम फ्याकले भने, ‘प्रश्नपत्रको स्तर पनि निकै कमजोर छ ।’ प्रदेश १, २, ५ र गण्डकी प्रदेशको प्रश्नपत्रमा प्रश्न दोहोरिने, अर्थ नबुझिने प्रश्न रहेको उनले जनाए ।

 

उनले भने, ‘पहिलेभन्दा त्रुटि सुधार भएको देखिन्छ,’ फ्याकले भने, ‘सुधार गर्नॅपर्ने कुरा धेरै देखिन्छ ।’

प्रश्नपत्रमा त्रुटि भेटिए तत्कालै ७७ जिल्लाका परीक्षा केन्द्रमा जानकारी गराउने गरिएको उपनियन्त्रक शर्माले बताए । मुलुकभर एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । ‘बिहान ८ बजे परीक्षा सुरु हुन्छ, ७ः३० बजे नै विज्ञहरूको उपस्थितिमा प्रश्नपत्र हेरेर त्रुटि भए/नभएको एकिन गर्ने गरेका छौं,’ उनले भने, ‘गल्ती भेटिए सच्याउन सर्कुलर गर्ने गरेका छौं ।’

निश्चित समयमा, गोप्य तरिकाले गर्नुपर्ने काम भएकाले त्रुटि हुने गरेको बोर्डका अधिकारी बताउँछन् । तयार भएको प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रको सुरक्षित प्रेसमा छपाएर परीक्षा केन्द्रमा पठाइन्छ । परीक्षा सुरु हुनुभन्दा १५ मिनेटअघि मात्रै प्रश्नपत्रको सिलबन्दी खोल्न पाइने प्रावधान छ ।

कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार