• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
विचार

कृषि उत्पादनमा परनिर्भरता बढ्दै

केहि समय अघि संयोगले पश्चिमका केहि जिल्ला घुम्ने अवसर मिल्यो । यसै पनि  पश्चिमको यात्रा रमाइलो लाग्छ । यात्राका क्रममा जति पनि दृश्यहरु देखिए ति दृश्य आफैमा मन लोभ्याउने थिए । विगतमा भन्दा धेरै परिर्वतन भएको थियो । प्रसस्त अन्न फल्ने उर्बर खेतहरु पलटिङ्गका लागि काक्रोका चिराझै पारिएका थिए । चितवन, नवलपरासी हुदैं बुटवलसम्मको यात्राका क्रममा धेरै पटक बसको झयालबाट टाउको निकालेर हेर्ने गरेका खेतहरुमा अन्न कम र घरहरु ज्यादा फलेका थिए त कतै बनस्पतिका झाडी मौलाएको थियो । ती जमिनहरु देख्दा लाग्थ्यो एकदशक भन्दा बढी समय देखि यहाँ कुनै पनि अन्न बाली लगाइएको छैन् ।

 

खेतीयोग्य जमिन बर्षो देखी घडेरी बनाउने नाममा खालि छन् । बस्ती व्यवस्थीत र खेति योग्य जमिनमा उब्जाउ गर्नु पर्छ भन्ने मान्यताको विकास हुन सकेको छैन् । सरकारले पनि यो सवाललाई खासै गम्भीरताका साथ लिएको छैन् । वैज्ञानीक भूमि व्यवस्थापनको बहस चलेता पनि त्यो त्यति प्रभावकारी देखिदैन ।

 

बन्दै गरेका साना शह्रहरुमा अहिले एउटा डरलाग्दो मानसिकता सवार भएको छ । सानो व्यवसाय गर्न र भएको खेतबारी खालि छोड्ने । खेत बाजै छोड्दा समाजमा आफ्नो प्रतिष्ठा बढेको महशुँस हुनेसम्म पनि सुनियो । खेति गर्नुलाई अहिले पनि हाम्रो समाजमा अन्य पेसा व्यवसायको तुलनामा सबै भन्दा तल्लो दर्जाको कामकोरुपमा हेरिन्छ जसका कारण अहिले कृषिजन्य उत्पादनमा सम्पूर्णरुपमा भारतसँग निर्भर हुनु पर्ने अवस्था बढेको छ । कुनै समय थियो जहाँ कृषी योग्य जमिन थियो त्यहि बस्ने र अन्न उत्पादन गर्न तर अहिले त्यो रहेन ।

 

परिवारका सदस्य आफ्ना सन्तानलाई स्वदेशमा दु.ख गर्नु भन्दा विदेश पठाउन तयार छन् । स्वदेशमा कृषी गर्दा प्रतिष्ठा कम हुने सम्म पनि सुनिन्छ । यसको सट्टा विदेश पठाइदियो जस्तो काम गरे पनि यहाँ कसैलाई थाहा हुदैंन । हरेक दिन जसो युवाहरु रोजगारका लागि विदेशीने क्रम बढेको छ । हाम्रा अभिवावकलाई आफ्ना छोराछोरीले आफ्नै देशमा काम गरेको मन पर्ने छाडेको छ ।

 

कसको घरबाट विदेश गएको छ , को स्वदेशमा छ भन्ने छलफल चल्छ । अबका केहि बर्ष अझै यो क्रम बढ्ने हो भने हाम्रा कृषी योग्य जमिन अझै खाली हुने पक्का छ । गाउँघरमा अहिले कृषी मजदुर पाउनै सकिदैन । छिमेकी देशबाट कृषी मजदुरले हाम्रा खेतको काम गर्छन र चक्रो रकम असुल्ने गर्छन । यसले हाम्रो परनिर्भरता झनै बढ्ने देखिन्छ ।

 

सामान्य भन्दा सामान्य दैनिक उपभोग्य बस्तुमा भारतसँग निर्भर हुनु नेपालको लागि दु.खद हो । सरकार रेमिटन्सले देश चलेकोमा खुसी छ । स्वदेशमै कृषी उद्योगमा आधुनिकीकरण गर्नु तर्फ एकरति चासो नदिनु भनेको स्वयम सरकारले नै परनिर्भरतालाई आत्मसाथ गरेको भान हुन्छ । पछिल्लो समय नेपालबाट अलैँची, अदुवा, चिया भारत निर्यात हुने क्रम बढेको थियो तर भारतले अनावश्यक रुपमा नेपालको उत्पादनमा विषादी मिसिएको आरोप लगाएर नेपाली उत्पादनलाई महिनौ सम्म रोकेको तितो यर्थात पनि हामी माझ छ । जसका कारण आम कृषकको मनोवल खस्कीएको छ । यस तर्फ सरकारले खासै चासो दिएको पाइदैंन । नेपालले भारतबाट अधिकांश दैनिक उपभोग्य उत्पादन किन्छ तर नेपालबाट पठाउने केहि सिमीत उत्पादनमा भारतले विभिन्न बहानामा अवरोध खडा गर्छ । 

 

भन्सार विभागको पछिल्लो तथ्याकं हेर्न हो भने हाम्रो परनिर्भरता हरेक दिन जसो चुलिदो अवस्थामा छ । नेपाल जस्तो देशमा परनिर्भरता बढ्नु लाजमर्दो कुरा हो । यो आर्थिक बर्षको तथ्याकंलाई हेर्न हो भने भारतबाट नेपालले २३ अर्ब भन्दा बढीको चामल मात्रै ल्याउछ । अन्नको भण्डार मानिने देशले यति ठूलो रकमको चामल किन्नुपर्ने अवस्था आउनु दुखद हो । नेपालले यतिकै हाराहारी खाने तेल समेत भारतबाटै किन्दै आएको छ । यदि बेलैमा नेपाल सरकारले यहाँका किसानलाई यि उत्पादनमा प्रोत्साहित गर्न हो भने यो हदसम्मको परनिर्भरता रहने थिएन । फलफूल, दुग्ध जन्य उत्पादन, माछामासु लगाएतका खाद्यान्नमा भारतसँग निर्भर हुनुपर्ने अवस्था छ ।

 

नेपालमा यी उत्पादनमा प्रसस्त सम्भावना छ तर पनि न त सरकारले यसमा कुनै चासो देखाएको छ न त आम नागरिकले । कृषी क्षेत्रमा भएका सम्भावित क्षेत्रमा सरकारले चासो दिने हो भने कृषकको मनोवल पनि बढ्थ्यो र उत्पादन पनि । कृषीमा आधुनिकरणमा ध्यान दिने र परम्परागत खेति प्रणलीबाट माथी उठ्न आम कृषकमाझ प्रभावकारी कार्यक्रम लैजान अत्यन्तै जरुरी भईसकेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार