• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

चैत्र भित्रै विप्लवलाई नियन्त्रण गरिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने बताएका छन्। सोमबार बसेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले चैतभित्रै विप्लवका गतिविधि नियन्त्रणमा लिइने दाबी गरे।

 

‘एक महिनाभित्र गतिविधि नियन्त्रणमा लिइसक्छ’, ओलीले भने, ‘ सहमतिमा आए ठिकै छ, नआए सरकारले नियन्त्रणमा लिन्छ’, प्रधानमन्त्री ओलीले भने। विप्लव समूहले नेकपाको झण्डाको दुरुपयोग गरेको, जबर्जस्ती चन्दा उठाएको र विस्फोट गराएर जनताको हत्या समेत गरेकाले नियन्त्रणमा लिन परेको प्रधानमन्त्रीको भनाइ थियो। ‘विकास निर्माणमा अवरोध, शिक्षा स्वास्थ्यमा अवरोध गर्ने, चन्दा माग्ने, मान्छे मार्ने अनि हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्नेरु यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ’, प्रधानमन्त्रीले भने।

 

प्रधानमन्त्री ओलीले सांसदहरुलाई जनताका जान र जनताको कुरा सुन्न निर्देशन दिए। हिउँदे अधिवेशन सकिएकाले काठमाडौँ छाडेर निर्वाचन क्षेत्रमा जान उनले निर्देशन दिएका हुन्। 'तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस्। सरकारले गरेका कामहरुको प्रचार गर्नुहोस्। जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ। त्यसको खण्डन गर्नुहोस् । सत्य कुरा भन्नुहोस्। जनताका कुरा सुन्नुहोस्। आगामी वर्षको नीति तथा कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस्  । 

 

प्रधानमन्त्री ओलीले असफलता अन्तैबाट हुने तर पदमा रहेकाले त्यसको जिम्मेवारी आफुले लिनुपरेको गुनासो गर्दै कमी कमजोरी सच्याउन मन्त्रीहरुलाई निर्देशन दिए ।

 

पृथकतावादी बाटोमा रहेका सीके राउतलाई मूलधारको राजनीतिमा ल्याएर विखण्डनवाद समाप्त पारेको दावी गर्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी काम पनि छिट्टै टुङ्गो लाग्ने बताए । प्रधानमन्त्री ओलीले लगानी सम्मेलनबारे कुनै–कुनै देशको मन नखुलेपनि लगानी सम्मेलन उत्साहका साथ सम्पन्न हुने बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार