• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

इन्जिन बिग्रेर अलपत्र परेको पानीजहाजबाट सयौँको उद्धार

इन्जिन बिग्रिएर नर्वेनजिकै समुद्रको बीचमा अलपत्र परेको एउटा पानीजहाजका सयौँ यात्रुको उद्धार गरिएको छ। द भाइकिङ स्काई' नामक सो पानीजहाजमा रहेका १३ सय ७५ जनामध्ये झन्डै पाँच सय जनाको उद्धार हेलिकप्टरबाट गरिएको अधिकारीहरूले बताएका छन्।

 

अधिकांश यात्रु ब्रिटिश र अमेरिकी नागरिक भएको बताइएको छ। 'रातको समयमा समुद्रमा निकै ठूलो छाल थियो। पानीजहाज घुमिरह्यो। हामी बिहानको नास्ताका लागि गयौँ। र दिउँसोको चलचित्र हेर्न जाँदै थियौ। यसैबीच अकस्मात् बिजुली गयो,' पानीजहाजमा सवार दक्षिण इङ्ग्ल्यान्डका डेरिक ब्राउनीले बताए।

 

'हामीलाई हेलिकप्टरबाट उद्धार गरियो जुन निकै डर लाग्दो अनुभव थियो।' नर्वेको सरकारी सञ्चारमाध्यम एनआरकेसँग कुराकानीका गदै अर्की यात्रु जेनेट जकोवले आफूले त्यति डरलाग्दो अवस्था कहिल्यै नदेखेको बताइन्। 'म प्रार्थना गर्न थालेँ। पानीजहाजमा सवार सबै यात्रुको सुरक्षाको लागि प्रार्थना गरे,' उनले भनिन्।

 

'त्यसपछिको हेलिकप्टर यात्रा निकै डर लाग्दो थियो।' पानीजहाजमा रहेको क्यामेराले कैद गरेको भिडिओले पानीजहाज ढल्कँदा फर्निचर सरेको देखाउँछ। नर्वेको ट्रुमसुबाट स्टुहभ्याङ्गरतिर गरेको उक्त पानीजहाजको इन्जिनमा शनिवार दिउँसो समस्या देखिएको थियो।

 

समुद्रमा फसेको उक्त जहाज चट्टानहरूसँग ठोकिएर दुर्घटनाग्रस्त हुनबाट जोगिएको थियो। उद्धारकार्यका लागि पाँचवटा हेलिकप्टर र ठूलो सङ्ख्यामा अरू पानीजहाज परिचालन गरिएको थियो।

 

उद्धार गरेर जमिनमा ल्याइएका व्यक्तिहरूलाई एउटा खेलकुद परिसरमा लगिएको थियो। उनीहरूलाई स्थानीय होटलहरूमा राख्ने व्यवस्था मिलाइएको छ। केही व्यक्तिलाई अस्पताल लगिएको छ।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार