• शुक्रबार १-६-२०७६/Friday 04-19-2019
रंगमञ्च

संगठनले साधनालाई ध्वस्त पारिदिन्छ

रंगमञ्चमा लाग्नुभएको कति भयो ? 
म यो क्षेत्रमा लागेको त्यस्तै १९ देखि २० वर्ष भयो होला । मैले रंगमञ्च सुरु गर्नु अघि मलाई रंगमञ्च के हो भन्ने खासै थाहा थिएन । बिस्तारै मलाई थाहा भयो, यो सतही कुरा होइन । यसलाई बुझ्न अभ्यास, अध्ययन र निरन्तरताको आवश्यक छ । रंगमञ्च भनेको एउटा अभिव्यक्ति गर्ने माध्यम रहेछ । त्यसपछि मलाई रंगमञ्च नै सहज लाग्न थाल्योे । यो संगै आफुलाई बुझ्न, जीवनलाई सहज रुपमा अगाडि बढाउन रंगकर्म मेरो कर्म बन्न थाल्यो । 
 

 

नाटकमा तपाईको सुरुवात कसरी भयो ?  कहिले तपाई लाग्यो यही क्षेत्रमा काम गर्छु भन्ने ? 
पहिला गाउँमा नाटक हेर्न पाइदैन्थ्यो । व्यवस्थित नाटकघरमा त धेरैपछि नाटक हेर्न पाएको । गाउँमा हाटबजारमा सडक नाटक हेर्न पाएको थिएँ । मुलत : गाउँमा टेलिभिजन र हिन्दी फिल्महरुको प्रभाव थियो । फिल्मकै प्रभावले कलाकार बन्ने चाहना थियो । खासमा हिरो बन्ने सपना थियो । तर नाटकमा लाग्छु भन्ने थिएन । नाटकका यति धेरै शैलीहरु, तरिकाहरु हुनेरहेछन् । यतिधेरै सम्भावना रहेछ । नाटकमा नै क्यारियर बनाउन सकिन्छ भन्ने थाहा थिएन । 

 

गाउँबाट उच्च शिक्षाका लागि काठमाडौं आएँ । कलेजमा एकजना साथीलाई मेरो रुचीको बारेमा थाहा थियो । राष्ट्रिय नाचघरमा एक वर्षे नाटक तालिम छ भन्ने उसले थाहा पाएछ । मलाई सुनायो । ५ रुपैयाँको टिकट टाँसेर फर्म भर्नु पर्ने रहेछ । ९० जना आवेदक मध्य अन्तर्वार्ताबाट १५ जनालाई छनौट गरियो । नाम ननिस्किएला कि भन्ने निक्कै डर थियो । तर १५ जनामा परियो । यो २०५६ सालको कुरा हो । त्यहाँ तालिम लिएका मध्ये कमलमणि नेपाल, भोलाराज सापकोटा, सुरेश चन्द जस्ता साथीहरु कलाकारिता मै छन् । 

 

त्यतिखेर यहाँ नियमित नाटक मञ्चन हुँदैन्थ्यो । तर नाचघरमा मैले केही नाटक भने हेरेको थिएँ । नाचघरमा पूर्णाकी नाटकहरु हुन्थे, चार दृश्य, पाँच दृश्य भएका । बीचबीचमा फिल्मको गीतहरुमा कलाकारहरुले नाच्थे । एउटा दृश्य सकिने वित्तिकै नाचगान हुन्थ्यो । सार्थक नाटकहरु हुन्थेनन् । हलुका मनोरञ्जनका नाटकहरु हुन्थे । सुनील पोखरेलसँग आरोहणबाट नाटक खेल्न थालेपछि आधुनिक नाटकको संगत हुन थाल्यो । 

 

म रंगमञ्चमै लाग्छु भन्ने ठ्याक्कै कहिले सोचेँ थाहा छैन । तर, सुनील पोखरेलसँग गुरुकुलको बसाई, शिल्पीको स्थापना र नाटक पढ्न २ वर्ष डेनमार्क गएपछि मेरो रंगकर्मको आधार झन् बलियो हुँदै गएको हो । 

 

त्यस्तो नाटकहरु हेरेर आएको व्यवस्थित खालको टिकट काटेर नाटक देखाउने समय रहेछ । सानै हुँदा जति नाटकमा प्रवेश गरे त्यतिबेला व्यवस्थित नाटकहरु हुँदैन थियो । २०५७ देखि मलाई पढाउने सुनिल पोखरेल नाचघरमा उनीहरुले पहिलो सानसेन केन्द्रसंग मिलेर गरेको आरोहण शनिवार भन्ने थियो । जुन उनीहरुले हरेक शनिवार नाटक गर्नुहुन्थ्यो । त्यतिबेला बिउताउने भएर एकेडेमीसंग सम्झौता गरेर वर्षको ६ वटा नाटक गर्ने योजनामा लाग्नु भएको थियो । यसै भित्र म पनि विद्यार्थी सिक्न चाहन्थे त्यही भएर म पनि उनीहरुसंग नै लागे ।

 

मेरो पहिलो नाटक कुमारी थियो । सुनिल पोखरेले निर्देशन गर्नुभएको र अशेष मल्लले लेख्नुभएको नाटकमा म सानो भुमिकामा देखिएको थिए । त्यसपछि धेरै सडक नाटकहरु पनि गरे । प्रभाकर शार्मको नयां क्रियसन सुनिल पोखरेलको निर्देशनमा नाटक गरे । जनचेतना जगाउन भनेर वैदेशिक रोजगार समेत एचआइभी एड्स सम्बन्धी काम गरे । पछि फाट्टफुट्ट नाटकहरु हुन्थे । नाचघरका विद्यार्थीहरु मिलेर नाटक गर्‍थ्यौं । व्यवस्थित रुपमा मैले नाटक देखेको अथवा खेल्न थालेको भनेको गुरुकुलको स्थापना २०५९ सालदेखि हो । तर जीविकोपार्जनका लागि २०५७ साल देखि नै पत्रकारितामा लेख्न थाले । नाटक बनाउन त्यति खेर हरेक दिन नाटक गरेर महिनौं दिन सम्म नाटक चलेर टिकटबाट पैसा उठाउने लिने भन्ने नै थिएन् । सोक अथवा वैकल्पिकमा नाटक गरेको थियो । गुरुकुल स्थापना भएपछि मैले नियमित रुपमा नाटकबाट नै आएको पैसाले जीवीकोपार्जन गर्न थाले । ५ वर्ष त्यहाँ काम गरे  र शिल्पी स्थापना गरे । शिल्पीमा २ वर्ष काम गरेपछि फेरी म औपचारिक शिक्षा लिनका लागि नाटक पढ्नका लागि डेनमार्क गए । दुई वर्ष २०६६ देखि २०६८ सम्म बसेर २०६९ मा नेपाल फर्के पछि मैले शिल्पीको गोठाले नाटकघर स्थापना गरेर विगत ६ वर्ष देखि नै पुरै समय यसैमा व्यस्त छु । 

 

 

पढ्नका लागि डेनमार्क जानुभयोे, फेरी किन यहाँ फर्किनुभयो ?
रंगमञ्च सम्बन्धी केही तालिमहरु लिएपछि काम गर्ने साहस बढ्यो तर काम गर्दै जाँदा आफ्नो अज्ञानता महशुस हुँदै थियो । यही क्षेत्रमा काम गर्ने हो भने यही विषयमा औपचारिक शिक्षा लिनुपर्छ भन्ने लागेको थियो । त्यही भएर धेरै कलेजमा अप्लाई गरेको थिएँ । छात्रवृती पाएँ । जाँदा पनि फर्केर आउँछु र आफ्नै समूह स्थापना गरेर आफुले चाहेजस्तो नाटक गर्छु भन्ने थियो । पढाई सकेपछि मलाई डेनमार्क बसौं भन्ने नै लागेन । मेरोे एउटा राम्रो समूह, नाटकघर होस भन्ने चाहना थियो । व्यवस्थित रुपमा आफुले चाहेको नाटकहरु मञ्चन गर्न पाउँ भन्ने थियो । सम्पन्न देशहरु, शहरुहरुमा जाँदा मान्छेहरुले फलानो ठाउँमा थिएटर छ भन्छन् । त्यो शोभा हो आधुनिक समाजको । काठमाडौंमा नियमित नाटक होस् । मसँग यहाँका मानिसहरुलाई पनि नाटक देखाउन पाइयोस्, आफुले सिकेर आएको कुरा यहाँ देखाउन पाइयोस् भन्ने निक्कै ठुलो उत्कण्ठा थियो ।  

 

नाटक गरेर के हुन्छ खासमा ? आम मानिसले किन नाटक हेर्ने जस्तो लाग्छ तपाईलाई ?
नाटक हेर्नै पर्छ भन्ने छैन । कुनै साहित्यिक किताब नपढेपनि, फिल्म वा चित्रकला नहेरे पनि, संगीत नसुने पनि जिन्दगी चल्छ । तर जिन्दगी बँचाइ राख्न दौडधुप गर्नु भन्दा पर्तिर पनि अर्थ छ भने कलाले त्यो अर्थ खोज्न मद्दत गर्न । 

 

धेरै मानिसहरु सँग प्रश्न हुन्नन् । जो सँग प्रश्न हुन्छन् ती अरुबाट उत्तर अपेक्षा गर्नलागि हुन्छन् । नाटकले आँफैले आँफैलाई प्रश्न सोध्ने स्थितीमा पुर्याउछ । हरेक पटक थिएटरबाट निस्कँदा दर्शकहरुलाई यस्तो हुन्छ । खासमा प्राय कला साहित्यको शक्ति पनि यही हो जस्तो लाग्छ । यदि आफुले आफैलाई सोध्ने नयाँ नयाँ प्रश्नहरु जन्मिरहन्छन् भने जिन्दगी बाँच्नुको मजा छ । 

 

आफैँ कलाकार पनि व्यवस्थापक पनि भएर नाटकघर चलाउन कति सजिलो रहेछ ? 
निक्कै चुनौतिपुर्ण रहेछ । ठुलो रहरले जग्गा भाडामा लिएर नाटकघर बनाइयो । त्यो आफैँमा ठुलो खर्च थियो । तर, दैनिक खर्च, भाडा, समूहका सदस्य तथा कलाकारहरुको लागि तलब, नाटक उत्पादन खर्च मासिक रुपमा नाटकबाटै जुटाउनु निक्कै गाह्रो कुरा हो । त्यो बाहेक समूहलाई उत्कृष्ट नाटक उत्पादनका लागि तयार राख्नु, ताजा राख्नु सजिलो काम हैन । आफूले चाहेको विशेष शैली र शिल्पमा काम गर्न निश्चित चेतना र समर्पणका साथीहरु चाहिन्छ । हामी कहाँ सानो द्धन्द्ध वा सानासाना त्रुटिहरुले पनि ठुला अवरोधहरु खडा हुन्छन् । म आफै भित्रका गल्ती वा अज्ञानताले पनि चुनौति र अवरोध आएका छन् । तर, घटना र गल्तीहरुबाट सिक्दै अघि बढ्नुको बिकल्प छैन ।  
 

 

पुरानो रंगकर्मी कसको कामबाट तपाई धेरै प्रभावित हुनुहुन्छ ?
पुराना भन्नाले मैले काम नदेखेको रंगकर्मीहरुको कुरा गर्न मिलेन । मैले नाटक गर्न थालेदेखि स्पष्ट रुपमा तीन जनाबाट धेरै प्रभावित छु, सुनिल पोखरेल, अनुप बराल र वीरेन्द्र हमाल ।  खासमा भन्ने हो भने प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कहीँ न कहीँ उहाँहरुको खवरदारी ममा भएको ठान्छु । सकारात्मक रुपमा खबरदारी भनेको । उहाँहरुको प्रेरणाले नै हाम्रो पुस्तालाई यहाँसम्म ल्याएको हो जस्तो लाग्छ ।

 

 

 

रंगकर्मीहरुको कुनै गुट वा संगठन छ ?
कोही कोही त्यसको अभ्यासमा छन् । कुनै पद वा स्वार्थका लागि उनीहरु त्यसो गरिरहेका छन् । मलाई कलाकारहरुको गुट वा संगठनप्रति कहिल्यै विश्वास भएन । कलाकारलाई आफ्नो विचार र सिर्जनाले शक्ति दिने हो, स्थापित गर्ने हो । गुट वा संगठनले हैन । त्यसका लागि साधना चाहिन्छ । गुट वा संगठनले साधनालाई ध्वस्त पारिदिन्छ । शक्तिको राजनीतितिर लोभ्याउँछ । जस्तो कि सबैभन्दा बलियो संगठन त वर्तमान सरकारसँग छ नि । तर त्यो संगठनले चेतना नदिने रहेछ । एकखाले विचारमा लय मिलाउँदा मिलाउँदै सिर्जनशीलता स्खलित हुने रहेछ । यो डर लाग्दो कुरा हो । किनभने एउटा संगठन बनाउनु भनेको कसै न कसैलाई बाहिर राख्नु हो । कलाकारितामा त्यसो हुनु हुँदैन । नचाहाँदा नचाहाँदै कलाकारलाई स्थायी संगठनले दुरुपयोग पनि गर्न थाल्छ । त्यसबाट कसरी बचेर आफ्नो काममा केन्द्रित हुने भन्ने चुनौती हो ।  
 

 

हाम्रो कला, साहित्य निकै सिमित घेराभित्र छ भन्छन् नि । के यो साँचो हो ?
कला साहित्य कहिल्यै सिमित घेरामा बसेन । यसको स्वभाव नै फैलिने हो । संगीत र नृत्यको व्यापकता हेर्नुस् त नेपालको कुन कुनामा छैन । साहित्य अनेकौँ रुपमा जनजीवनमा संचारित छ । गाउँमा नाटक लिएर जाँदा सयौँ मानिसहरु उत्साहित भएर हेर्न आउँछन् । त्यसैले लोकप्रियताको हिसाबले यो देशमा कला र साहित्य सधैँ फैलिएको छ । तर व्यवसायिकता र सिर्जनात्मक आविष्कारको हिसावले सायद हामी संकटमा छौँ । यो संकटको दोषी केही प्रतिशत हामी आफैँ हौँ  र केही प्रतिशत यो देशको स्थिति । शिक्षा, व्यापार र अर्थतन्त्रकोे स्थिति । हाम्रो शिक्षाले साहित्य पढ, नाटक हेर, बौद्धिक अन्तक्रिया गर भन्छ ? स्तरीय चलचित्र वा संगीतको छनौटको चेतना दिन्छ ? हाम्रो व्यापार वा अर्थतन्त्रले त्यो सुविधा दिन्छ ? हाम्रो राजनीतिले कला साहित्य बुझ्छ ? सानु कुरा हो तर एउटा उदाहरणः हाम्रा सार्वजनिक यातायात र बाटोघाटोले पनि नाटक हेर्न नजा भन्छ । कति गाउँहरुमा म नाटकको प्रशिक्षणमा जाँदा अझै कहिल्यै फिल्म नहेरेका युवाहरु पनि भेट्छु, नाटक त परको कुरा । हाम्रो सामाजिक संरचनामा कला साहित्य आधुनिक जीवन शैली र शिक्षाको अंश हो भन्ने बनाउन अझै निकै वर्ष लाग्ला । 

 

विश्व बजारमा पनि हाम्रो कला साहित्य परिचित हुन नसकेको हो ?
विश्व बजार भन्ने कुरा एकदमै अमुर्त कुरा हो । कतिलाई विश्व बजार भन्ने ?  संसारभरी नै पुग्नु त धेरै ठुलो कुरा भयो । तर, अन्तराष्ट्रिय महोत्सव वा मेलाहरुमा हाम्रा नाटक, फिल्म, चित्रकला वा संगीत देखाउन लायक बनेका छन् । अन्तराष्ट्रिय महोत्सवहरुमा हाम्रा कलाकारहरुको सम्मानित उपस्थिति भइरहेको छ । त्यस हिसाबले हामी त्यति पछाडि छैनौँ । साहित्यमा स्तरीय अनुवाद र विदेशी बजारमा पुर्‍याउने माध्यमको खाँचो छ । स्तरीय कृतिहरु हामी कहाँ छन् ।   
 

 

रंगमञ्चलाई सरकारले त्यति चासो नदिएकोे हो ?
सरकारको मौनता चरम उत्कर्षमा छ । धेरै स्कुलहरुमा पढ्नका लागि डेक्सब्रेन्च छैनन्, शिक्षकहरु छैन् । सुत्केरी महिलाहरुको सही उपचार हुन नसकेर मृत्यु भइरहेको छ । किसानकोमा मल र बिउ समयमा पुग्दैन । बिउ पुग्छ तर उम्रिँदैन । उम्रिए फल लाग्दैन । यति हेलचेक्र्याईँ छ जिम्मेवारी लिएकाहरुमा । नेपालभरी नै सार्वजनिक यातायातको स्थिति हेर्नुस् त । कस्तो दुरावस्था छ । कुन क्षेत्रमा सरकारले चासो दिएको छ । यस्तो अवस्थामा हामी कलाकारहरुले के आशा गर्नु ?

 

राज्यमा बसेको मान्छेहरुमा साँस्कृतिक चेत हुनु पर्यो । त्यसपछि राज्यले साँस्कृतिक निति बनाउनु पर्‍यो । आजको यो लोकतान्त्रिक गणतान्त्रिक मुलुक, धर्म निरपेक्ष र समाबेसी भनिएको मुलुकको राष्ट्र् गीत किन एउटा भाषामा मात्रै छ ? राज्यले भाषा, संस्कृति, कलालाई कसरी हेर्छ भन्ने एउटा नमुना हो । यो चानचुने कुरा छैन । ५० औँ भाषामा राष्ट्र् गीत अनुवाद गरेर बनाउँदा त्यसले ठुलो अर्थ राख्छ । त्यसो हुनु भनेको धेरै क्षेत्रहरुमा सासन गर्नेहरुको फराकिलो दृष्टिकोण फराकिलो हुँदै जाने अभ्यास हो । नीजि स्कुल हुने कि नहुने ? तिनले लिने शुल्कको सिमा कति ? सरकारी स्कुलको आधारभूत व्यवस्थापन कसरी गर्ने, कृषिको कसरी व्यवस्थापन गर्ने, उद्योगको कसरी व्यवस्थापन गर्ने अरु धेरैमा राज्यको नीति छैन् । म ठोकुवा गरेर भन्न सक्छु, नीजि विद्यालयहरुले कस्ता कस्ता नयाँ किताब पाठ्यक्रममा घुसाएका छन् शिक्षा मन्त्रालयलाई पत्तो हुँदैन ।  
 

 

 

 

गुरुकुल बन्द भयो । भाडाको जग्गामा भएका नाटकघरहरु सधैँ बन्द हुने त्रासमा छन् ? यस्तो अवस्थामा कि शिल्पीले नाटकघर खोलेको त ? 
गुरुकुल स्थापना हुनु भन्दा अगाडि कुनै रंगकर्मीहरुले व्यक्तिगत रुपमा नाटकघर बनाएर नाटक गर्न सक्छ भन्ने कल्पना गर्न सक्ने स्थिति थिएन । गुरुकुलले त्यो साहस दियो । तर, जोखिमपुर्ण काम चाहिँ हो । धेरै देशहरुमा राज्यले नै बनाइदिएको नाटकघर रंगकर्मीहरुलाई उपलब्ध छन् । तर हामीकहाँ त्यस्तो अवस्था छैन । धेरै साथीहरुले निक्कै दुःख गरेर नाटकघर बनाउनु भएको छ । उहाँहरुको इच्छाले गर्दा हो । त्यही भएर इच्छाशक्तिले मान्छेलाई सञ्चालित गर्ने हो । जस्तै विषम परिस्थितिमा पनि हामी रंगकर्म गरिरहेका हुन्छौँ । एकदिन जिन्दगी त रहँदैन भने भाडामा लिएको हल बन्द भए होस् । सकुन्जेल गर्ने हो भन्ने अलिअलि अर्ध मूख्र्याईँसँगै काम गरिरहेका छौ।  
 

 

तपाईको नाटकघरबाट नयाँ नयाँ कलाकारहरु देखिन्छन् । नयाँ आउने पुरानो बाहिरिनुको कारण के हो ?
हरेक नाटकघरहरुले कसैलाई सरकारी जागिरे जस्तो बाँधेर राख्ने हैन । यो त अभ्यास गर्ने आफ्नो सम्भावना खोज्ने ठाउँ हो । हिजो म पनि अर्कै संस्थामा थिएँ । आज शिल्पीमा छु । भोली म आफैँ नरहन सक्छु । कलाकारिता क्षेत्र नै यस्तै हो । सादय तपाईँहरुले गर्ने पत्रकारिता पनि त्यस्तै होला । एउटै प्रकाशन गृहमा कतिजना मानिस सधैँ बसिरहन्छन् ?  यहाँ नाट्य प्रशिक्षण पनि हुन्छ,सिक्छन्,जान्छन् । वाहिर सम्भावना खोज्छन् । प्रतिभा, धैर्यता र सोच हुनेहरु निरन्तर काम गरिरहेका छन् । विचलित हुनेहरु अरु क्षेत्रमा सम्भावना खोजिरहेका छन् ।

  

नाटकमै लागेर जिन्दगी धान्न सकिन्छ त ?
गाह्रो छ । तर, धेरै काम र थोरै उपभोग गर्ने हो भने सम्भव छ । 

 

अहिले रंगकर्मीमा नाटक निर्देशन गर्ने होडबाजी चलेको छ, के हो यो ? 
अलिक अनुभव लिएर, बुझेर निर्देशन गरेको राम्रो । निर्देशन निक्कै महत्वपुर्ण काम हो । तर सधैँभरी नयाँ निर्देशकको काम उत्कृष्ट हुनै पर्छ भन्ने पनि छैन । एउटा उद्योग भित्र स्तरीय र कमसल दुईवटै कामहरु भइरहेको हुन्छ । उत्कृष्ट कामहरु पनि भइरहेको हुन्छ, झुर काम पनि भइरहेको हुन्छ । कलामा  कहिलेदेखि कसले के काम गर्ने भन्ने सिमा तोक्नु गलत हो । नयाँले सिक्दै गएर पछि राम्रो काम गर्ने हो नि । आज जसले राम्रो गरिरहेका छन् हिजो उनीहरुको सुरुवाती दिन अज्ञानता र सिकाई बीचबाटै आएको हो । 

 

प्रस्तुति : सुकृत नेपाल
 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार