• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

कविता : अपराजित  

हारपछि हात बाँधिनु मात्रै हुँदैन
उदास रहेर अडेस लाग्नु मात्रै हुँदैन
प्रत्येक हार नै जितको अर्को नाम हो
पराजित नै आखिरमा अपराजित हुन्छ ।

 

सूर्योदय हुनु छ र अँध्यारो मेटिनु छ
अँध्यारो त आफैँ फुट्ने खेलौना झैँ हो
र सूर्यास्त, सूर्योदय हुने केवल बहाना हो ।

 

हात बाँधिनु मात्रै हुँदैन, अडेस लाग्नु मात्रै हुँदैन 
माग्नु हुँदैन पानी, नत्र प्यासको बानी बस्छ 
तिर्खाउन मन लागिरहन्छ, हमेसा पानी तर्कना खेल्छ ।

 

आगोले पोल्छ, फोका उठ्छ पाइतालाभरि
आगोमै ती फोकालाई फोड्दै
तिनै फोकाभित्रका पानीले निभाउँदै जानुपर्छ आगो
र तयार बस्नुपर्छ फेरि नयाँ तीखा काँडा टेक्न 
रगताम्य पारेर काँडाहरूलाई
विवश पार्नुपर्छ प्रकृतिलाई त्यही काँडामा गुलाफ उमार्न ।

 

माग्नु हुँदैन पानी, नत्र प्यासको बानी बस्छ
तिर्खाउन मन लागिरहन्छ, हमेसा पानी तर्कना खेल्छ । 

 

हात बाँधिनु मात्रै हुँदैन, अडेस लाग्नु मात्रै हुँदैन 
सूर्यास्त, सूर्योदय हुने एउटा बहाना मात्रै हो 
पराजित नै आखिरमा अपराजित हुन्छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार