• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

कविता : दलालहरू

एकाबिहानै दलालहरू खेतमा पुग्छन् 
र, उक्साउँछन् किसानलाई–
पुर्खाको छाला बेच्न
देश खाएर शेष भएको दिमागसँग
माटोलाई मुटु ठान्ने मन 
पराजित हुन्छ अन्ततः 

 

लगत्तै  
फाँटमा प्लटिङका केही धर्सा थपिन्छन् 
कच्ची सडकमा अर्काे एउटा २२० सीसीको 
रबाफिलो पल्सर बाइक थपिन्छ
थप एक दम्पती ऋषिकेश र हरिद्वार तीर्थमा निस्कन्छ 
अर्काे एउटा आँगनमा 
चार दिनको चाँदनीजस्तो सम्पन्नता 
मदहोस, मदहोस नाच्न थाल्छ 

 

अनि त्यसपछि ? 
किसान दिवंगत लालपूर्जाको सपना देख्छ 
मालपोत कार्यालयको अस्तव्यस्त प्रांगणमा 
आफ्ना पुर्खाहरू सेरिएर मरेको देख्छ 

 

दलालहरू थुप्रै बगली भएका ज्याकेट लगाउँछन् 
एउटा बगलीमा राख्छन् बेइमानीको कमाइ 
अर्काेमा झुटको कमाइ 
फेरि अर्काेमा फरेबको कमाइ 
अनि फेरि अर्काेमा जालसाजीको कमाइ...
 

जिन्दगीको एकमात्र ध्येय– कमिसन ! 
एकमात्र नीति– कमिसन ! एकमात्र आदर्श– कमिसन !
दलालहरूलाई 
प्रेमाशक्त पत्नीको चुम्बन पनि बेस्वादको लाग्छ  
किनभने त्यहाँ कमिसन हुँदैन 

 

छोराछोरीले ग्रेस मार्क ल्याएर 
कक्षा चढे भने खुशी हुन्छन् उनीहरू
किनभने ग्रेस पनि कमिसनजस्तै हो

 

कमिसनका लागि दलालहरू जे पनि गर्छन् 
रजस्वला पनि नभएकी किशोरीदेखि
दाँत फुक्लेकी हजुरआमासम्मलाई बजार बनाइदिन्छन्,  
सुधा प्राणीलाई 
बालुवाको रौरवमा खसालिदिन्छन्, 
दीनदुःखीका दुर्भाग्यलाई 
डलर छाप्ने मेसिन बनाइदिन्छन्, 
दलालहरूको दिल हुँदैन  

 

सडकपेटीदेखि सिंहदरबार पटाङ्गिनीसम्म 
दलालहरूकै खेलकुद छ 
उनीहरूको सरौतोमा 
सर्वसाधारण बनेको छ सुपारी 
 

अब मैले सिद्ध नगरी भएको छैन–  
यो समय दलालहरूको मात्रै होइन 
यो धर्ती दलालहरूको मात्रै होइन 

 

म यत्तिकै कविता लेखिरहेको छैन ।
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार