• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

‘कागजपत्र’ लाई दर्शकले पक्कै रुचाउँछन्

चलचित्र ‘कागजपत्र’ दर्शकले किन हेर्ने ?
हाम्रो जीवनमा जन्म भएदेखि नमरुन्जेलसम्म ‘कागजपत्र’ ले धेरै अर्थ राख्छ । जन्मदर्ता देखि लिएर मर्दा, पढ्दा, पढेर लिएका प्रमाणपत्र, हामीले गरेका कर्मका सबै चिजहरु कागजपत्रमा नै पाउँछौं ।

 

हामी जे कर्म गर्छौ त्यो सबै कागजपत्रमा प्रमाण स्वरुप संरक्षण हुन्छन । कति यस्ता कुराहरु  छन्, जुन हाम्रो समाजले कतिपय कागजपत्रलाई दुरुपयोग गरिरहेका हुन्छन । कागजपत्र बनाउँदा नक्कली बनाउने, विहे दर्ता देखि लिएर हरेक कुरामा नक्कली बनाउँंदै आइरहेको भेटिन्छ । यस्तै विभिद कुराहरुको कथा हो ‘कागजपत्र’ । कागजपत्रको गलत प्रयोग कहाँ र कसरी हुन्छ भन्ने कुरा यस चलचित्रले उजगार गरिदिएको छ । 

 

समाजमा हरेक दिन यस्ता किसिमका घटनाहरु भइरहेका हुन्छन । २०–२५ लाख तीरे पछि नक्कली कागजात सजिलै बनाउने र एक जनाको श्रीमान अर्को परिवारको युवतीसंग नक्कली विवाहका कागज बनाएर विदेशीने । समाजमा भएका यस्तै घटनाहरुको सेरोफेरोमा रहेर यो चलचित्र बनेको हो ।

 

यस चलचित्रमा समाजका पात्रहरु बिच भएका घटनाहरुलाई व्यङ्ग्यात्मक रुपले प्रस्तुत गरिएको छ । जे जसरी हुन्छ विदेश जानै पर्ने नेपाली समाजको मनोविज्ञानलाई कागजपत्रले समेटन खोजेको छ । पछिल्लो समय डिपेन्डेन्ट भिसामा गैरकानुनी बाटोबाट समेत अष्ट्रेलिया, अमेरिका जाने चलन बढेको छ । अहिले समाजमा यदि कसैको घरको सदस्य युरोप अमेरिका छ भने त्यो प्रतिष्ठाको विषय बन्ने गरेको छ ।  यस्तै मान्यताबाट ग्रसित पात्र र समाजको कथा हो कागजपत्र । गैरकानुनी बाटो अपनाउदा व्यक्तिलाई के कस्ता जोखिमहरुको सामना गर्नुपर्छ भन्ने कुरालाई चलचित्रले समेटन खोजेको छ । 

 

बिदेश जाँदा कागजपत्रहरुको आफनै महत्व छ । कुन भिषामा जांने ? फेरी बिदेश जानु नै ठूलो कुरा हो भन्ने हाम्रो मानसिकता छ । आफ्नो कर्मभूमि नेपालमा बसेर केहि गर्न सकिन्छ भन्नेमा हाम्रो मन जादैंन । खेतबारी बेचेर, घर धितो राखेर हामी विदेश जान तत्पर हुन्छौं । कतिको पैसा डुबिरहेको हुन्छ, कत्तिको त नक्कली कागजपत्रले भिषा नै अस्वीकृत भएको पनि हामी देखिरहेका हुन्छौं । 

 

त्यही पैसा हाम्रो देशमा लगानी गर्ने हो भने त्यसले यहाँ राम्रो प्रतिफल दिन सक्छ । नेपालमा बसेर पनि व्यापार व्यवसाय गर्ने सकिन्छ । यि र यस्तै सामाजिक सन्देश जाओस् भन्ने उदेश्यले कागजपत्र तयार भएको हो । 

 

 

तपाई कागजपत्र सँग कसरी जोडिन पुग्नुभयो ? 
मलाई कागजपत्र टिमबाट अन्तिम समयमा खबर आएको हो । अरु सबै कलाकारहरु छानिसकेका थिए । मुख्य पात्र भोलाराज सापकोटाको विपरित कसलाई लिने भन्ने क्रममा मेरो नाम छनोट भएको रहेछ ।

 

चलचित्रमा मैले खेलेको भूमिकाले केहि अर्थ राख्छ । एउटा पढेलेखेको घरकी श्रीमती  सामान्य परिवार, सरकारी जागिर गर्ने श्रीमान । समाजको देखासिखी एउटी श्रीमती भएर उसले के कस्ता जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने किसिमको भूमिकामा म देखिएकी छु । नेपाली समाजमा स्वास्नी मान्छेको मनोदशा कस्तो हुन्छ भन्ने चित्रण चलचित्रमा मेरो पात्रले देखाउने प्रयास गरेको छ । मलाई मेरो भूमिका अलि शक्तिशाली हो कि जस्तो पनि लाग्यो । यस अर्थमा मैले अस्वीकार नगरी सिधै खेल्ने निर्णय लिए ।

 

फलानो घरको श्रीमती यस्तो छ, फलानो घरको छोरा यो देशमा छ, म पनि कसैको बुहारी हुँ । एउटा पुरै घरको श्रीमतीलाई यसले प्रतिनिधित्व गर्छ जस्तो मलाई लाग्छ । विदेश जाने पैसा कमाउने कुरामा प्राय घरहरुमा छोरी मान्छेले नै छोरा मान्छेलाई अलि बढी नै घचघचाइरहेको हुन्छ । भोली क्यारियर के हुन्छ, बच्चाको भविष्य के हुन्छ । सामाजिक स्थिती राम्रो छैन भनेर हरेक ठाउँमा छोरी मान्छेले दबाब गरिरहेका हुन्छन । फलानो घरको पनि बिदेश गएको छ, तिमी पनि जाउँ भन्ने अनुरोध श्रीमती पक्षको हुन्छ । त्यही जाने सेरोफरोमा पठाउने बेलामा बुनिएको कथा हो कागजपत्र । 
 

 

कागजपत्रमा तपाईको भूमिका के हो ?
समग्रमा नेपाली समाजको प्रतिनिधी पात्र श्रीमतीले कस्ता कुराहरु सोच्छन् । उनीहरु र एउटा मध्यमवर्ग परिवारको सरकारी जागिरे श्रीमतीको मनोसंवाद के हुन्छ । उसको सोचाई के हुन्छ, कस्तो सोच्छ, परिवार प्रति उसको उत्तरदायित्व के हुन्छ भन्ने कुरामा नै मेरो भुमिका केन्द्रित छ । 

 

भोलाराज सापकोटासँग काम गर्न कतिको सहज भयो ?
भोला दाईसँग काम गर्न एकदमै सजिलो छ । उहाँ एकदमै सजिलो मान्छे हुनुहुन्छ । त्यो चाहे थिएटरमा होस् या चलचित्रमा । उहाँले मलाई थिएटरमा जस्तै चलचित्रमा पनि त्यसरी नै काममा सहयोग गर्नुभयो । हाम्रो चरित्रले बोल्ने संवाद देखि हरेक दृश्यहरुमा हामी एक आपसमा मिलेर छलफल गरेर नै छायाकंनमा जान्थ्यौं । 
 

 

कागजपत्र बाट कतिको आशावादी हुनुहुन्छ ?
कागजातपत्रबाट आशावादी नै छु । समग्रमा चलचित्र एउटा नेपाली विषय वस्तुहरुको  सेरोफेरोमा बनेको छ । मलाई बिश्वास छ कि चलचित्रलाई पक्कै पनि दर्शकहरुले रुचाउँनुहुन्छ । 

 

 

सरिता गिरीलाई कागजपत्र पछि कुन चलचित्रमा देख्न पाइन्छ ?
‘कागजपत्र’ पछि मलाई दर्शकले एउटा भारतीय चलचित्रमा देख्न सक्नुहुन्छ । चलचित्रको नाम ‘द इन्डियन मोस्ट वान्टेड’ हो तर पछि नामको कारणले केही कन्ट्रोभर्सी हुन्छ कि भनेर चलचित्रको नाम ‘सुप्रभात’ राखियो ।यसमा अर्जुन कपुर मुख्य भुमिकामा देखिएका छन भने  कमलमणि नेपाल, जीवन भट्टराई लगाएतका कलाकारहरुको पनि अभिनय रहेको छ  यस्तै मेरा अन्य चलचित्रहरुमा ‘कोपिला’, ‘चरी’ आउँदैछ । 

 

प्रस्तुति : सुकृत नेपाल
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार