• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

‘तातो घाम भन्न पाइदैन, पानी भन्न पाइदैन ’

यशोदा रोक्का, ट्राफिक प्रहरी 

काठमाडौं । घामपानी, धुलोधुवाँको चपेटामा सिठी फुक्दै, हात हल्लाउँदै आफ्नो डिउटी पूरा गर्दै आएकी ट्राफिक प्रहरी महिला यशोदा रोक्का भन्छिन्, दिनभरी घामपानी नभनी काम गर्नपर्छ ट्राफिक प्रहरीको जागिर धेरै गाह्रो । सर्लाही नगरपालिका–१५ घर भएका यशोदा रोक्का थापाथलीको ट्राफिक बिटमा विगत ७ महिना देखि यस क्षेत्रमा काम गर्दै आइरहेकी छिन् । फ्रेसन्युज नेपालले रोक्कासँग अहिले ट्राफिक प्रहरीको अवस्था र सवारी चालकहरुले गर्ने व्यवहारको बारेमा गरेको यो कुराकानीको सार :

 

यो क्षेत्रमा लाग्नुभएको कति भयो ?
म पहिला सिभिल पुलिसमा थिए, पछि गएर ट्राफिक प्रहरीमा काम गर्न थाले । ट्राफिक प्रहरीको काम गर्न थालेको भने ७ महिना जति भयो । हामी ट्राफिकको काम भनेको दिनभरी रोडमा बसेर सिठी फुक्ने, सवारी चालकहरुले गल्ती गरेमा उनीहरुको लाइसेन्स, बिलबुक चेक गर्ने र गल्ती गरेको अवस्थामा चिट काट्ने नै मुख्य हो । 
 

 

यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो र यसमा प्रवेश गर्नका लागि कतिको संघर्ष गर्नुपर्यो ?
मैले १२ कक्षासम्म सर्लाहीमा नै पढेकी हुँ । यस क्षेत्रमा मेरो परिवारको पनि सहयोग भएकाले मैले आफ्नो कामहरु गर्न सफल भएकी छु ।  ट्राफिक प्रहरीले पहिलो चरणमा धेरै संघर्ष गर्नुपर्छ । विभिन्न तालिमहर लिनुपर्ने हुन्छ । तातो घाम भन्न पाइदैन, पानी भन्न पाइदैन । संघर्ष नगरी केही काम बन्दैन । त्यसमाथी महिलाहरुलाई धेरै नै गाह्रो छ जस्तो मलाई लाग्छ । 


 

 

तपाईहरु दिनभरी हात हल्लाउने, सिठी बजाउने काम गर्नुहुन्छ, कतिको गाह्रो हुन्छ ?
घामपानी नभनी खट्नुपर्छ समस्या हुन्छन् । पहिला पहिला बानी नभएको बेला हात दुख्ने, सिठी बजाएर घाटी दुख्ने समस्या हुन्थ्यो । कुनैबेला सवारी चालकहरुबाट गाली पनि खाइन्थ्यो र अहिले पनि त्यस्तो समस्या नहुने भने होइन । दिनभरी रोडको टन्टलापुर घाममा माक्स लगाएर, धुवाँधुलोमा काम गर्नुपर्छ । ट्राफिक प्रहरीहरु आफ्नो पेशा नै यही भएपछि आफ्नो कर्तव्य त निभाउनु नै पर्‍यो । दिनमा हामी पाँच घण्टा जसरी पनि बस्नुपर्छ । कहिलेकाही सातआठ घण्टा पनि काम गर्नुपर्छ । तिर्खाएको बेला पानी खान पाइदैंन । भोक लागेको बेला खाजा खान पाइदैन् । महिला भए पछि महिनावारी हुँदा पनि दिनभरी उभिएर काम गर्नुपर्छ त्यति बेला धेरै नै गाह्रो हुन्छ । महिनावारी हुँदा साथीहरु संग मिलेर बस्दै काम गछौं । कहिले रातको डियूटीमा मापसे चेकिङ पनि गर्नुपर्ने हुन्छ । काम गर्न सजिलो हुन्न तर सजिलो मानेर आफ्नो कामलाई कदर गर्नुपर्छ । 
 

 

तपाई विवाहित कि अविवाहित ?
म विवाहित हुँ । मेरो श्रीमान पनि यतै हुनुहुन्छ । उहाँ पनि यही ट्राफिक प्रहरीमा नै कार्यरत हुनुहुन्छ । हाम्रो प्रेम विवाह भएको हो ।
 

 

विवाहित हुनुहुन्छ, दिनभरी ट्राफिकमा खट्नुहन्छ घरको कामहरु पनि गर्नुपर्ने हुन्छ होला ?
हामी अहिले ट्राफिक प्रहरीको कार्यलयमा नै बस्दै आएका छौं । आफ्नो काम भनेको आफैले गर्नुपर्छ । अब दिनभरी काम गरे पश्चात आफना साथीहरुसँग मिलेर खाना पकाउने, आफनो लुगा धुने गर्छौ । दिनभरी हात हल्लाउँदा हात दुख्ने, घाँटी दुख्ने त सामान्य जस्तो नै भइसक्यो । 


 

 

यो ट्राफिक प्रहरीमा काम गर्न थालेपछि कतिको बिरामी हुनुभयो र कतिपटक हस्पिटल पुग्नुभयो ?
ट्राफिक प्रहरीमा काम गर्न थाले पछि सानोतिनो समस्या त आइनै हाल्छ । फेरी म बिरामी हुँनासाथ दौडिन्न । हामीमा स्वासप्रस्वासको समस्या धेरै हुन्छ । दैनिक हामी धुँवाधुलोमा बसेका हुन्छौं । बानी नहुन्जेल जीउ दुख्ने जस्तो समस्या देखिन्छ तर बानी भए पश्चात हराउँदै जान्छ ।  हामी सकभर घरयासी उपचार नै उपयुक्त ठान्छौं । माक्स लगाउने भन्ने मात्र हो काठमाडौंको धुलोधुँवालाई जसरी समाधान गर्न खोजे पनि सकिन्न । हस्पिटल गयो भने उनीहरुलाई अगाडि नै ट्राफिक प्रहरीको जागिर भनेर थाहा हुन्छ ।
 

 

तपाईहरु प्रति सवारी चालकहरुको व्यवहार कस्तो हुन्छ ?
सवारी चालकहरु फरक फरक हुन्छन् । सवारी चालकहरु ट्राफिक नियम पालना नै गर्दैनन् । कुनै मान्छेले थाहा थिएन भन्छन्, थाहा नभएकाहरुले माफी माग्छन् । अर्कोपटक देखि म गल्ति गर्दिन भन्छन् । केही थाहा हुँदाहुदै पनि हतार भयो भनेर नियम पालना गर्दैनन् । कुनै मान्छेहरु बुझ्ने छन् भने नियम पालना गर्छन । कोही ट्राफिकमा परेर भोगी सकेका हुन्छन् । कुनै लाइसेन्स, बिलबुक नबोकी गाडी, कार, ट्याक्सी चलाएर हिड्छन् ।  कोही कोही त समाती सकेपछि  यही मिलाउन मिल्दैन पनि भन्छन् ।  कति मेिहनतले खाएको जागिर ५०, १०० रुपैंयाले जागिर नै जान्छ । त्यसैले नियम भनेको सबैमा लागु हुन्छ र नियम पालना पनि गर्न जान्नुपर्छ । धरैजसो सवारी चालकहरु हतारमा सवारी चलाउँछन जसले  गर्दा दुर्घटना हुने सम्भावना धेरै हुन्छन् । 
 

 

ट्राफिक प्रहरीले चिट काट्छन् र पैसा लिन्छन् भनेर सवारी चालकहरुको आरोप पनि लाग्छ खासमा यो के हो ?
ये आरोप मात्र हो । सवारी साधन समातिएको खण्डमा चिट नै काटिएपछि पैसा हिनामिना गर्ने भन्नेत कुरै आउँदैन । सवारी चालकहरुले ट्राफिक नियम पालना नगरेको खण्डमा हामीले लाइसेन्स लिने, चिट काटिदिने हो । उनीहरुले यो लाइसेन्स निकाल्नका लागि बैंकमा भौचर भर्नुपर्छ र त्यो पैसा बैंकमा जम्मा हुने गर्छ ।  रोडमा लेन छुट्टाइदिएको हुन्छ तर पनि त्यो भन्दा बाहिर गएर सवारी चलाइरहेको हुन्छन् । हामीले थापाथलीमा मात्र दिनभरीमा लगभग ५० देखि ६० सम्म सवारी चालकहरु समात्ने गरेका छौं । फेरी सबै उनीहरुको अगाडि नै चिट काटिन्छ । अब यसमा हाम्रो खल्तीमा कसरी जान्छ ।  

 

प्रस्तुति : अरिष्मा लामा 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार