• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
बिश्व

इथियोपिया विमान दुर्घटना : बोइङ ७३७ म्याक्स विमान उडाउन रोक

वाशिङटन । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमान उडाउन रोक लगाएको छ । अर्को निर्णय नभएसम्म ती मोडलका सबै विमान नउडाउन उसले वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

 

अमेरिकी उड्डयन नियामक निकायले इथियोपियामा उक्त मोडलको विमान दुर्घटनासम्बन्धी नयाँ तथ्य प्राप्त गरेपछि यस्तो निर्णय गरिएको निर्माण कम्पनीको भनाइ छ । करिब ६ महिना अघि लायन एयरको सोही मोडलको विमान दुर्घटना भएको थियो । ६ महिनाकै अन्तरालमा एउटै मोडलका विमान उस्तै प्रकृतिबाट दुर्घटना भएपछि उक्त मोडलमा सुरक्षासम्बन्धी त्रुटी रहेको आशंका उब्जिएको थियो ।

 

इथियोपियामा भएको दुर्घटनापछि विश्वभर बोइङका ११७ वटा विमानको उडानमा रोक लगाइएको छ । चीन र इथियोपियाले विमानको उडानमा रोक लगाएको छ । त्यस्तै क्यारेबियन कम्पनी केयम्यान एयरलाइन्सले अस्थायी रुपमा बोइङ ७३७ म्याक्स–८ विमानलाई सञ्चालनबाट हटाएको छ । इन्डोनेशियाको विमान कम्पनी गरुड इन्डोनेसियाले पनि हाललाई यो मोडलको विमान प्रयोगमा रोक लगाएको छ ।

 

रुसले यस विषयमा विचार गर्ने बताएको छ भने भारतमा पनि यस विमानको प्रयोगमा नयाँ सुरक्षा निर्देशन जारी गर्ने तयारी गरिएको छ । बोइङ कम्पनीका अधिकारीहरुका अनुसार दुर्घटना स्थलको प्रारम्भिक अनुसन्धान र भूउपग्रहबाट संकलित विवरणका आधारमा पछिल्लो निर्णय लिइएको हो । अनुसन्धानका क्रममा प्राप्त केही प्रमाण इथियोपियन एयरलाइन्स र लायन एयरको विमान दुर्घटनामा साझा समस्याका रुपमा पाइएको कम्पनीले जनाएको छ ।

 

हाल विश्वमा उक्त मोडलका ३७१ विमान विभिन्न वायुसेवा कम्पनीमा सञ्चालित छन् । पछिल्ला दिनमा विभिन्न मुलुकले ती मोडलका विमान उडानमा रोक लगाएका थिए । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार