• बिहीबार ५-५-२०७६/Thursday 08-22-2019
विचार

परिवर्तन र विकास

समय परिवर्तनशील छ । यो स्वत सिद्ध सत्य हो । त्यसैले समयको चालसँगै परिवर्तन पनि असम्भाबी नै हुन आउँछ । बिकासका लागि परिवर्तन हुनैपर्दो रहेछ । तर प्रत्येक परिवर्तन विकास उन्मुख हुन्छ नै भन्न सकिदैन । परिवर्तन विकास सहित हो कि विकास रहित हो त्यो फेरी अर्को पक्ष हो । यसको तथ्यगत स्वीकारोक्तिका साथै हामीलाई  हाम्रो मुलुकको परिस्थितीले  स्वत एउटा सोचतिर धकेल्न पुग्छ । साच्चै नै  हाम्रो परिवर्तनको चाहना राजनीतिक, सामाजिक बदलावमा मात्र सिमीत हो कि यसमा नागरिक समाजलाई अनुभूति हुने विकास र सम्वृद्धिको चाहना पनि गाँसिएको छ ? 

 

यस्तै सोचले बीरगंजको केहि दिनको रमाइलो बसाईमा समेत मेरो समक्ष थुप्रै प्रश्नहरुको ओइरो लागि नै रह्यो । हुन त यी सोच र प्रश्नहरु कुनै एउटा ठाउँ र समुहसँग सम्बन्धित भने पक्कै होइन । हाम्रो मुलुक र यसमा बसोबास गर्ने प्रत्येक तह र तप्काका नागरिक समाजको सरोकार हो । 

 

काठमाडौंको कठांङग्रीने जाडोबाट बीरगंजमा पुग्दा न्यानो र राहत महशुस भयो ।  तर, त्यो न्यानोपन मौसमले मात्र गराएको पक्कै होइन । समयले निकै ठुलो फड्को मारिसक्दा पनि बीरगंज पुगेको बेलामा मलाई आफनो बाल्यकाल, स्कुलको बिधार्थी जीवन र अतितका दिनहरु ताजा भएको अनुभुती हुन्छ । सायद यस्तै कडीहरुले नै होला, मान्छे जहाँ गए पनि उसलाई आफ्नो जन्मथलोसँग आवद्ध गरिरहन्छ ।

 

स्वाभाविक रुपमा अन्य ठाउँमा जस्तै समयको धारले ल्याएका थुप्रै परिवर्तनहरु बीरगंजमा पनि भेटिन्छन । सडक सुविधायुक्त रुपमा चौडा गरिने क्रम सिमरा विमानस्थलबाट निस्किए पछि नै शुरु हुन्छ भने, ठाउँठाउमा ठुलाठुला व्यवसायिक भवन उधोग धन्धा बिस्तार र नवनिर्मित घरहरु हेर्दै बीरगंज शहर पुगिन्छ । शहर भित्रका बजारहरु, घण्टाघर, मठ–मन्दिर आदि थपिदै जानुका साथै परिमार्जित हुँदै गएको पनि देखिन्छ । शहर भित्रका बाटाघाटाहरु पनि चाडै नै फराकिला बनाइने योजनाहरु निर्माण भएका छन ।

 

तर, यस्ता स्वाभाविक परिवर्तनहरुले पनि बीरगंजको आफ्नो बिगतको स्वरुपमा पूर्णरुपले बद्लाव भने ल्याउन सकेको छैन । यहाँको सडकका दायाँ–बायाँका लामवद्ध घर पसलहरु, बेशभुषा बोलीचाली आदिमा भने खासै परिवर्तन देखिदैन  ।

 

भारतको सिमावर्ती नाका रक्सौल बिहार चम्पारण (जिल्ला) बीरगंजसँग जोडिएको मात्र होइन कि नगरबासीहरुका लागि सुपथ र बृहत किनमेल गर्ने बजारको रुपमा धेरै अघि देखि नै स्थापित रहदै आएको छ । किनमेलका लागि रक्सौल बीरगंजबासी मात्र नभएर, हेटौडा र काठमाडौं देखि धाउने ग्राहकहरु पनि प्रश्स्तै भेटिन्छन । वर्षौ अघि देखि नै बिभिन्न प्रयोजनका लागि रक्सौल–बीरगंज आवत–जावत यहाँको विशेषताको रुपमा नै रहिआएको छ । 

 

त्यतिबेला,मलाई आफुले बाल्यकालमा हिड्दै गएको स्कूल, आई.ए सम्म पढेको आदर्शनगर स्थित ठाकुरराम क्याम्पसको अवलोकन र शहरको सुप्रसिद्ध मठ–मन्दिरहरुको दर्शन गर्न समेत हिडेरै जाने धुन सवार भयो । तर, त्यो चाहना पुरा गर्न हम्मे–हम्मे भयो । बाटोभरी अस्तव्यस्त रुपमा स–साना पसलहरु मात्र होइन कि ठाउँ–ठाउमा जोखिमयुक्त खाल्डा–खुल्डी आदिले भने बजार र नवनिर्मीत बिल्डिङले देखाएको परिवर्तनको औचित्य माथि नै प्रश्न चिन्ह लागीरहेको थियो ।  हुन त यस्ता समस्या कुनै एउटा ठाउँको पक्कै होइन । 

 

यस्ता समस्या राजधानी काठमाडौंमा झन् बढी र अन्य शहरहरुमा पनि प्रशस्त मात्रामा देखि आएकै हो । वास्तवमा हिजो–आज त  शहरका सडकहरुलाई हिड्नु लायक बनाउन र सडक दुर्घटना रोक–थाम गरि धन–जन नोक्सानीबाट नियन्त्रण गर्नु नै मुलुकको ठुलो चुनौती हुन् पुगेको छ । राजमार्गमा द्रुतगतिले  चल्ने सवारी साधनका सुरक्षा सर्वोपरी हुन्छ भने शहरी–सडक भने पैदल यात्रुहरुका  हिडडुलका लागि  सुबिधायुक्त बंनाइनु अति आवश्यक देखिन्छ । हिड्न लायक सडक व्यवस्थापनका  लागि  फराकिलो फुटपाथको डिजाइन देखि लिएर ठाउँठाउँमा बोट–बिरुवा र आवश्यक दुरीमा डष्टबिन आदिको राम्रो व्यवस्था हुनुपर्छ, जसले गर्दा प्रयोगकर्ताहरुलाई अनावश्यक तनाव झेल्नु नपरोस । अझ सडक व्यवस्थापनमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सुरक्षित बाटो काट्ने जेब्राक्रसिंग र यसको सर्वोपरी पालना । तर, सम्बन्धित निकायले यस्ता अति आवश्यक पूर्वाधारलाई समेत ध्यान दिन र व्यवस्थित गर्न नसक्नुले,  निश्चित रुपमा अन्य परिवर्तनहरुको महत्व औचित्यहिन हुनपुग्छ ।    

 

बीरगंज बजार घुम्ने क्रममा, घडघडिया पोखरी स्थित पार्कभित्र पनि जाने मौका मिल्यो । कुनैबेलामा यो बीरगंजको सर्वाधिक आकर्षणको केन्द्रबिन्दु म्युजिकल पार्कको रुपमा स्थापित थियो ।  तर, उचित व्यवस्थापन र संरक्षणको अभावमा हाल यो शहरको प्रदुषणबाट बच्न र मोर्निङवाक गर्ने एक मात्र थलोको रुपमा सिमीत हुनपुगेको छ । त्यसैगरि, मैले आफुले अध्ययन गरेको स्कुल तत्कालिन त्रिजुद्ध हाई इंग्लिस स्कुल, हाल त्रिजुद्ध महाबिरप्रसाद रघुबीरराम हायर सेकेन्डरी स्कुलको परिसर भित्र पसेर एकछिन चारैतिर दृष्टी दौडाए । रंगरोगन लगाइएको र चिटिक्क पारिएको भएता पनि भवन र यसको रुपप्रारुप पुरानै अवस्थामा कायम राखिएको रहेछ । अझ भनौ, पुरानै रङ्गमा भवनलाई ताजगी दिइएको थियो । यस्तो उचित समरक्षण संवर्दधनका साथ यसको मौलिकता कायम राखिएको देखेर मन खुशीले झंकृत हुनपुग्यो । बर्षौ पुराना सम्झनाहरु मनमष्तिषकमा सल्बलाउन लागे । त्यतिबेलाका शिक्षक र  सहपाठीहरुको याद आयो ।

 

कक्षा कोठा र केहि घटनाहरुको पनि स्वत सम्झना हुन लाग्यो । मनमनै विचार गर्नपुगे, हाम्रो जस्तो मुलुक जहाँ नवनिर्माणलाई महत्व दिइएता पनि, यसको स्याहार–सुरक्षा र संवर्दधनलाई खासै वास्ता गरिदैन । त्यतिबेला त्यहाँ वर्षौसम्म, कुनैपनि निर्माणलाई जस्ताको तस्तै र  स्वच्छ सफा सुन्दर राख्नु साच्चै नै उदाहरणीय लाग्यो । तर, दुई दिनपछि यसको खास कारण पनि थाहा पाइयो । सम्माननिय राष्ट्रपतिज्यूबाट, “छोरीहरुका लागि शैक्षिक बिमा” सम्बन्धि कार्यक्रमको समुद्घाटन तैयारी रहेछ । तर,जे भएता पनि निकै लामो अन्तराल पछि स्कुल परिसरमा पुगेर,  बाल्यकाल र किशोर अवस्थाको सम्झनाको न्यानोपनले  मन प्रफुल्ल बनायो । सायद यसको मौलिकता हराइसकेको भए अथवा मात्र सफाई र सजावटले पक्कै पनि यस्तो सुखद अनुभूती गराउन सक्दैन्थ्यो होला । 

 

त्यस्तै, बीरगंजमा अन्य राजनीतिक –सामाजिक  वा व्यवसायिक कार्यक्रमहरुले पनि निरन्तरता पाएको देखियो । यसैबीच जी. पी. कोईराला फाउन्डेशनको कार्यक्रमका लागि कोईराला परिवारका आगमन त आदर्शनगर स्थित होटल दियालो लर्ड्स प्लाजाका उद्घाटनका लागि पुर्व प्रधानमन्त्रिको सहभागिता जस्ता छिटफुट कार्यहरु सम्पादन भईनै रहेका थिए । तर, ती कार्यक्रमहरुबाट त्यहाँका वासिन्दाहरु के कति लाभान्वित हुने हुन् अथवा स्थानीय विकास र उपलव्धिमा कतिको योगदान पुग्छ भन्ने कुराको उत्साह भन्दा पनि मात्र नेताहरुको स्वागत र बढी भन्दा बढी किलोको मल्यापर्णको होडबाजीमा नै केन्द्रित जस्तो लग्यो । आदर्शनगरको रंगशालामा आसन्न अश्वमेध गायत्री महायज्ञको तैयारी भईरहेको देख्ने मौका पनि पाएका थियौं । हुन त प्रत्येक बहुआयामिक कार्यक्रमहरुले स्थानीय स्तरमा मात्र होइन कि राष्ट्रिय स्तरमा समेत राजनीतिक, सामाजिक सद्भावना–सदाशयता अथवा आर्थिक समुन्नतिका अग्रगामी  पथमा कोशेढुंगा स्थापित गर्दै अघि बढेमा परिवर्तन उपलव्धि मुलक हुने निश्चित छ ।  

 

परिवर्तनको अनुभव बटुल्दै जाने क्रममा, सामाजिक बिकासका लागि  सक्रिय रुपमा कार्यरत बि.पी. डव्ल्युका (व्यवसायी तथा बिभिन्न पेशामा संलग्न महिला समुह) बीरगंज च्याप्टरका मित्रहरुका सक्रियतामा श्रीपुर वडा नं. ११ स्थित तराईका पिछडिएका वर्ग धांगर जातीको बसोबास रहेको धांगरटोल निरीक्षण गर्न पुगियो ।

 

अत्यन्त साँघुरो ठाउँमा कच्याक–कुचुक परेको स–साना अस्थायी आवासमा थुप्रै परिवारहरु रहेको जानकारी पाए । बच्चा देखि बृद्ध करिब १०० को संख्यामा रहेका उनीहरुको आधारभूत आवश्यकता परिपुर्ती र रहनसहन सुधारमा स्थानीय निकाय वा नगरपालिकाले ठोस कार्य–निती ल्याउन नसकेको प्रष्टै देखिन्थ्यो । यो केवल केहि सामाजिक अभियन्ताको चासो र सहयोगमा सिमीत रहेको स्वत बुझ्न कठिन थिएन । हुन त त्यो समुहमा पनि, समयले ल्याएको परिवर्तनको प्रभाव स्पष्ट देखियो ।  

 

उनीहरुमा  सामाजिक सन्जालको जानकारी मोबाईलको प्रयोग, बेशभुषा र पहिरनमा बदलावका साथै सबैभन्दा महत्वपूर्ण कुरा आफ्ना अधिकार र हकप्रति सचेत रहेको कुराकानीको क्रममा बुझियो । यो  निश्चित रुपमा अत्यन्त सकारात्मक उपल्वधी भन्ने मनमा लाग्यो । तर उनीहरुको सामाजिक–मानसिक स्थिती तथा जीवनशैली नियालेर हेर्दा त्यतिबेला स्वत लाग्यो कि देखिएका बदलाव मात्र समयको अन्तरालले ल्याएको परिवर्तन बाहेक कुनै खास प्राप्ति रहेनछ । अत्यन्त धुलोमैलोले भरिएका लुगा, कमजोर निर्धो स्वास्थ्य स्थिती र फोहर शरीर तथा रहनसहनले त्यस समुहको यथोचित विकास वा प्रगति भएको मनले मानेन ।  समग्रमा  केहि परिवर्तन देखिएता पनि उनीहरुको आर्थिक सामाजिक स्तरमा सुधार भएको मान्न सक्ने ठाउँ नै थिएन । उद्वेग मनस्थितीमा  विचार गर्न पुंगे कि समयले केहि परिवर्तन ल्याएता पनि यिनीहरुको सोच र जीवनशैलीमा यथोचित विकास हुन अझ धेरै गर्न बाँकी नै छ । सायद स्वÞास्थ्य शिक्षा प्रति जागरुकता, शिपमुलक तालिम, उत्पादनशील रोजगारी, बजार व्यवस्थापन र सबैभन्दा पहिले जीवन निर्वाहको साधन परिपुर्तीका र अधिकारका साथै उत्तरदायित्व बोधका भावनाले मात्र उनीहरुमा भएको परिवर्तनले बिकासको आभाष दिन सक्छ कि ?   

 

बीरगंज पुगेको बेलामा मुख्य शहरभन्दा करिब चार पाँच किलोमिटर पश्चिममा पर्ने अलौ स्थित श्री विन्ध्यवासिनी माताको दर्शन पनि स्वाभाविक प्रक्रिया हो । त्यहि बाटोमा पर्ने सिर्सिया स्थित खल्वाटोलामा निर्मीत बीरगंजको सुख्खा बन्दरगाह (ड्राइर्–पोर्ट) पुगेर अवलोकन गर्न मनमा हुट–हुटी हुनपुग्छ । यसका पछाडी केहि स्वाभाविक कारणहरु रहेका छन । बिश्व बैंक र नेपाल सरकारको संयुक्त प्रयासमा संचालित ड्राईपोर्ट (सुख्खा बन्दरगाह) निर्माण परियोजना अन्तर्गत स्थानीयहरुको जग्गा अधिग्रहण तथा पुर्नस्थापना कार्यमा बिशेषज्ञको रुपमा संलग्न भई यस कार्यमा योगदान गर्ने अवसर प्राप्त भएको थियो ।

 

त्यतिबेला प्रत्यक्ष रुपमा बीरगंज र त्यहाँका स्थानीय बासिन्दाहरुसँग जुटेर काम गर्ने मौका पाएकोमा निकै खुशीको अनुभूति भएको थियो । त्यसैले बीरगंज जाँदा त्यहाँको वस्तुस्थिती र यसबाट मुलुकको आर्थिक गतिविधीमा पुगेको योगदान हेर्ने वा बुझ्ने जिज्ञाशाले त्यता ड़ोराउन पुग्छ । त्यस परियोजना अन्र्तगत करिब ५७ बिगाहा जग्गा अधिग्रहण र परियोजना प्रभावितहरुका पुर्नस्थापना साथै ईन्लैंड कन्टेनर डिपो  (आई.सी.डी)  तयार गरी समान ढुवानी गर्ने रेल–मार्गको सुचारु गर्ने उदेश्य रहेको थियो । त्यहि अनुरुप बिभिन्न प्रशासनिक तथा अन्य उतार –चढाव पार गर्दै  त्यहाँ काम संचालन भईरहेको पनि वर्षौ भईसकेको छ ।  यसपटक जादाँ, पनि  प्रसाशनिक वा प्राबिधिक कारणले  कन्टेनर डिपोमा माल–सामान थन्किरहेको पनि देखियो । निश्चित रुपमा यस्ता अवरोधहरुको व्यवस्थापन गर्न नसकिए बिकासले गतिलिन सक्दैन । भारतको सहयोगमा इन्टिग्रेशन चेकपोस्ट (आई. सी.पी) निर्माण भई ट्रक तथा अन्य सवारी आवातजावात समेत यतैबाट गर्ने उदेश्यका साथ काम भएको जानकारी पाइयो । कन्टेनर डिपो (आई. सी. डी.) र चेकपोस्ट (आई. सी. पी) को बिचमा रहेको  स्थानिय वासिन्दाका जग्गा अधिग्रहण सरकारको योजनामा रहेको पनि थाहा पाइयो । 

 

कुनै पनि उपल्वधी मुलक बिकासको लागि नागरिक र सरकारको संयुक्त प्रयास र हाते–मालो हुनुपर्ने तथ्यमा द्वीबिधा हुनै सक्दैन । तर, लोकतन्त्रमा पारदर्शिताका साथै  जनताका सहमति सहभागिता र  नागरिक समाजको पंहुच भित्रको उपल्वधी भरिएको बिकासले मात्र सार्थकता पाउने  तथ्य निर्विवाद छ । यो कुनै बिशेष स्थान,गाउँ, शहर जिल्ला अथवा प्रदेशको सरोकार नभएर सिंगो राष्ट्र र सम्पूर्ण नागरिक समाजको सरोकार हो । निःसन्देह आर्थिक लगानीका साथै  सामाजिक लगानीतर्फ पनि सम्बन्धित निकाय वा सरकारले ध्यान पुर्याउन सकेमात्र दुरगामी र फलदायी प्रतिफल हासिल हुने तथ्य सर्वबिधित छ । सरकारले प्रस्तुत गरेका विकास योजना तथा उपल्वधीका तथ्यांकहरु र आम नागरिकको विकास प्रतिको अनुभूति मेल नखानुले स्वाभाविक रुपमा विरोधाभाष उत्पन्न गराउँछ । यसमा सन्तुलन कायम गर्न नसकिए लोकतान्त्रिक सकारका लागि सकारात्मक नतिजा पक्कै देखिदैन । 

 

यसै सन्दर्भमा, मुलुकले परिवर्तन पाएता पनि, विकास–सम्वृद्धि र सुख त अझ टाढा नै रहेको आम नागरिकको अनुभूतिले हामी नेपालीलाई एउटा चिन्ताले  स्वाभाविक रुपमा सताइरहन्छ । के यो परिवर्तनले नेपाली नागरिकका सुख–सम्वृद्धि र विकास समेट्न सक्दैन ? वास्तवमा  जनताका सुख–सम्वृद्धि र मुलुकको सामाजिक–आर्थिक विकास रहित परिवर्तनको औचित्य जतिसुकै प्रयास गरिएपनि  पुष्टि गर्न सहज सम्भव देखिदैन । प्रत्येक सचेत नागरिकलाई पिरोल्ने यस्ता प्रसंगले मुलुक हाक्नेहरुलाई त अझ बढी संवेदनशील र चिन्तित  बनाउनै पर्ने हो यदि चेतना भया...... ।   

 

(शाह त्रिवि अर्थशास्त्र केन्द्रीय विभागकी पुर्व प्रमुख हुन्) 
 
  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार