• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सिए बन्न हिडेका युवाले सुरु गरेको ‘भक्का हाउस’

काठमाडौं । पुरानो बानेश्वरबाट मैतीदेवी जाने ओरालोमा रहेको ‘भक्का हाउस’ मा विहानको ७ बज्दा नबज्दै चहलपहल सुरु हुन्छ । ३ जना साथी मिलेर बनाएको यो हाउस  सुरु भएको १ बर्ष  भयो । बिहान देखी अबेरसम्म खटिने उनीहरुको अनुहारमा कतै दुख देखिदैन । उनीहरु निरन्तर रुपमा भक्का बनाउन खटिएका छन् । प्रयाप्त समय दिएर काम गरियो भने काम सफल हुन्छ भन्नेमा उनीहरुको बिश्वास छ ।

 

सुजनको भक्का हाउस योजना
हामी विहान ७ बजे देखि बेलुका ८ बजे सम्म पसल खोल्छौं । मेहिनत नगरे सम्म कोही पनि सफल हुन सक्दैन भन्ने लाग्छ । होस्टेलमा पढ्न बस्दा बिवशसँग भेट भयो । केही नयाँ काम गर्नु पर्छ भन्ने सोच थियो । के व्यवसाय गर्ने भन्दा सबैका फरक फरक सुझाव पाउँथे । होस्टेलको बसाईले नै मेरो योजना आज यहाँसम्म आइपुगेको हो । काभ्रेका १९ वर्षीय सुजन लामा र झापाका २६ वर्षीय बिवश काफ्लेका सोचले आज उनीहरुको यो व्यवसायले सफल रुप लिएको छ । 

 

म एक भिन्न खालको व्यक्ति हुँ । अरुले पढेर देखाउँछु भन्छन भने म सिकेर मात्र केही गर्न सकिन्छ भन्ने गर्छु । पढाइ भएर मात्र हुंदैन । पढाइ संगै सीप पनि सबैमा हुनुपर्छ, सुजनले मनका कुरा भने । मैले यति पढे, म यो विषय लिएर पढेको भनेर खुलाउन चाहन्न । यो क्षेत्रमा छु भनेर परिचय गर्दिन । म अहिले भक्का हाउसमा मिलेर काम गरिरहेको छु । यसलाई राम्रो बनाउने मेरो प्रयास जारी छ । 

 

सुजन पढ्नका लागि  काठमाडौं आएको ९ वर्ष भयो । नयाँ काम गर्ने सोचले कलेज भर्ना  पनि भइएन । सिए पढ्ने उनको सोच थियो । कुन क्षेत्रमा जाने भन्ने दुविधा मनमा थियो । युके आर्मीमा भर्ती हुने सोच पनि नभएको होइन । समय मै कागजपत्र बनाउन नभ्याउँदा काम बिचमै रोकियो । त्यसपछि बिवश संगको उठबसले उनलाई नयाँ योजना बनाउन सधै उत्साह थप्यो ।  

 


 

भक्का थारु समुदायको मौलिक खाना 
भक्का पुर्वेली थारुहरुको मुख्य खाना मानिन्छ । यो भक्का विभिन्न चार्डपर्वहरुमा बनाउने चलन भए पनि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा समेत स्टल राखेर बनाउदैं गरेको देख्न सकिन्छ । यसको मुख्य पदार्थ भनेको चामलको पिठो र पानी हो । यसको आफ्नै विशेषता रहेको छ । 
 

 

बनाउने तरिका 
यसको बिशेष प्रक्रिया भनेको चामललाई भिजाएर, मुसेर, स्टिम गर्ने । त्यसपछि यो ५ देखि १० मिनेट भित्र स्टिम हुन्छ । यसको लागि माटोको भाडा, पातलो कपडा चाहिन्छ । यसलाई भिजाएर सुख्खा बनाउनुपर्छ । यो कचौरामा चामलको पिठो हाली आफुलाई मन पर्ने आकार अनुसार बनाउन सकिन्छ । थारु समुदायमा बनाउने भक्काहरु पानी र चामलको पिठोमा बन्दछ र आफुलाई मन परेमा यसलाई आफुलाई मनपर्ने सामाग्री मिलाएर नयाँ स्वादको पनि बनाउन सकिन्छ । 
 

 

बिवश सँगको भेटले भक्काको जन्म  
भक्काको बारेमा खासै ज्ञान थिएन । हामी भक्का बनाउनका लागि मात्र भनेर झापासम्म सिक्न पनि गयौं ।  भक्का हाउस सुरु गरेको एक वर्ष हुन लाग्यो । उपत्यकामा भक्का सुरु गर्दा खासै चहलपहल थिएन । तर पछिल्ला दिनहरुमा भक्का भनेर ३० भन्दा बढी ठाउंमा बेच्न थालियो । 
 

 

ग्राहकको संख्या 
सुजन र विवशले मिलेर खोलेको भक्का हाउसमा सुरुवाती दौरमा धेरै दुख र जोखिमहरु नआएका पनि होइनन् । यस ठाउँको अवलोकन पछि मात्रै भक्का हाउस खोल्ने निर्णयमा पुगेको उनीहरु बताउँछन् । भक्का हाउस खोल्न धेरै लगानी चाहिदैन । यो काम भनेको १० देखी १५ हजारबाट पनि सुरु गर्न सकिन्छ । कोठाहरुको सजावट, फर्निचरहरु जुटाउनु पर्ने हुदाँ उनीहरुले झण्डै ६ लाख खर्च गरेर आर्कषक भक्का हाउस निर्माण गरे ।
 

 

सुरुवातका दिनको सम्झना
हामीले सुरु गर्दा तीन चार दिनसम्म ग्राहकहरु आएनन् । तर त्यसपछि बिस्तारै राम्रो हँुदै गयो । अहिले दिनमा ३ देखि ४ हजारसम्म कमाई हुने गर्छ । खासै कमाएको नै भन्न त मिल्दैन । जे होस् काम भइरहेको छ । यसमा हामी चारजना छौं जसमा सबैले पकाउने देखि लिएर सबै काम गर्ने गरिन्छ । 

 

विशेष गरेर पुर्वेलीहरुलाई निशाना बनाएर पुरानो वानेश्वरमा भक्का खोलिएको सुजन बताउँछन्  । यहाँ भक्का खानाको लागि विशेष पुर्वेलीहरु नै धेरै आउने गर्छन । ७० प्रतिशत जति ग्राहकहरुमा पुर्वेलीहरु नै हुन्छन भने ३० प्रतिशत ग्राहकहरु यो चाखेर हेरौं न त भनेर आउने गर्छन । हाम्रोमा स्थानीय वासिन्दाहरु भन्दा बाहिरी ग्राहकहरु नै बढी आउँछन् । 


 

भक्काको प्रकार 
भक्का भनेको शुद्ध चामलको पिठो र पानीको मिश्रणबाट बनाइन्छ । तर हामीले यसमा दुई थरीका स्वादमा बनाएर बेच्ने गरेका छौं । सादा भक्का जसलाई ४० रुपैयाँ पर्दछ । तर यसमा हामीले अरु दुई स्वादका भक्का बनाएर बेच्ने गरेका छौं । चकलेट भक्का गुलिया स्वादमा हुन्छ जसलाई ६० रुपैयाँ पर्छ । विशेष भक्का भनेको सादालाई मानिन्छ  । तर भक्का हाउसमा तीन थरीका भक्का पाउन सकिन्छ । चकलेट र गुलियोलाई उनीहरुले आफैले सिर्जना गरेका हुन । 

 

अब भक्का मात्र बेच्ने कुरा पनि भएन । मौसम अनुसार पेय पदार्थ पनि राख्न थालेका छौं । त्यसमा चिसो मौसममा चिया, कफी । गर्मीमा चिसो पेय पदार्थ र आईसक्रिम । भक्का हाउबाट महिनामा एक लाख भन्दा बढी कमाई हुन्छ । जसमा भाडा, भक्का बनाउन आवश्यक सामग्री लगायत अन्य खर्चको हिसाव गरेर पनि हाम्रो राम्रो नै कमाई हुन्छ । 

 

रोजगारीका लागि लाखौं युवाहरु विदेश पलायन हुने गर्छन । अहिले धेरै कोरिया, जापान, अष्ट्रिेलिया, अमेरिका धेरै नेपालीको रोजगारको गन्तव्य बनेको छ । कैयौं नेपालीको बानी मेहिनत गर्न नचाहने तर नतिजा राम्रो खोज्ने भएका कारणले पनि पछि परेको उनको अनुभव छ । विदेशमा गर्ने मेहनत र श्रम नेपालमा गर्ने हो भने यहाँ पनि राम्रोसँग जीवन चलाउन सकिन्छ । 

 

प्रस्तुति : अरिष्मा लामा 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार